दार्जिलिङ/कालेबुङ, २९ सेप्टेम्बरः केही दिनअघि दार्जिलिङस्थित केन्द्रीय कार्यालय तोडफोड र पार्टी अध्यक्ष मन घिसिङमाथि हमलाको प्रयासविरुद्ध आज गोरायुमो र गोरानासंले संयुक्त रूपमा दार्जिलिङ र कालेबुङमा विरोध प्रदर्शन गरेका छन्।
दुवै ठाउँमा यस घटनाको विरोधमा व्यापक पोस्टरिङ पनि गरेको छ।
अर्कोतिर, कार्यालय तोडफोड र पार्टी अध्यक्षमाथि हमलाको प्रयासमा संलग्न अज्ञात व्यक्तिहरूविरुद्ध कठोर कारबाही गरिनुपर्ने माग गर्दै गोरामुमोले आज दोस्रोपटक दार्जिलिङ सदर थानामा प्राथमिकी दर्ता गरेको छ।
यसअघि गोरामुमोले यस घटनाविरुद्ध २६ सेप्टेम्बरका दिन सदर थानामै प्राथमिकी दर्ता गरेको थियो।
अर्कोतिर आज सदर थानामा प्राथमिकी दर्ता गरेपछि सम्बोधन गर्दै गोर्खा राष्ट्रिय युवा मोर्चा (गोरायुमो)- दार्जिलिङ ब्राञ्च कमिटीका प्रवक्ता तरुण राईले आफूहरूले शान्ति चाहेको तर ८६-को आन्दोलनको सिरुपाते खुकुरी निकाल्न परे गोरायुमो तयार रहेको पनि बताए।
“हामी जाति उन्मुक्ति र माटोको सुरक्षाका लागि खट्दैछौँ भने तिमीहरू ठेकादारीका लागि खट्दैछौ। हामी तिमीहरूलाई च्यालेञ्ज गर्छौं-तिमीहरू आऊ, अगाड़ि आऊ”, उनले थपे, “अध्यक्ष मन घिसिङले हाम्रो हात बाँधिदिएका छन्। हामीलाई हाम्रा पार्टी अध्यक्षले राजनीतिक संस्कार सिकाएका छन्। त्यो कारण हामी गोरायुमोले हात बाँधेर बसेका छौँ। तर तिमीहरूले अत्याचार गर्छौं भने तिमीहरूको अत्याचारको जवाब दिन हामी गोर्खा राष्ट्रिय युवा मोर्चा तयार छौँ।”
राईले थपे, “हामीलाई कमजोर कहिल्यै नसोच्नू; २००७ मा पनि हामीले तिमीहरूलाई बाटो छाड़िदिएका थियौँ। आप्पा सुवास घिसिङले मेरा जातिको नाश हुन्छ, षड्यन्त्रमा परेका छन्, यिनीहरूलाई बाटो छाड़िदिनु भनी हामीलाई भनेका कारण हामीले २००७ मा पनि तिमीहरूलाई बाटो छाड़िदिएका थियौँ। आज पनि हाम्रा अध्यक्ष मन घिसिङले यस्ता कार्य गर्ने आदेश दिनु हुन्न। हामीलाई राजनीतिक संस्कार सिकाएका कारण हात थामेका छौँ। तर अब हामी हात थाम्न सक्दैनौँ। तिमीहरू लुकेर हमला नगर। यदि ८६-को आन्दोलनको सिरुपाते खुकुरी निकाल्न परेछ भने पनि गोरायुमो तयार छ। होशियार बस्नू।”