फूलपातीको ऐतिहासिक महत्त्व छ : विष्ट

0
207

सिलगढी, २९ सेप्टेम्बरः गोर्खा जातिमा फूलपातीको ऐतिहासिक महत्त्व रहेको दार्जिलिङका सांसद राजु विष्टले बताएका छन् ।

‘हामी गोर्खा जातिमा फूलपाती परम्पराको ऐतिहासिक महत्त्व छ’, आज नौरथाको सातौँ दिन अर्थात फूलपातीको शुभकामना दिँदै विष्टले भनेका छन् , ‘गोर्खा जातिका विभिन्न जातगोष्ठी एक भएर फूलपाती मनाउने गर्छन् ।’

सांसद राजु विष्ट आज सैनिकपुरी ग्राम सेवा समितिले खोप्रेलमा तथा मधुर मिलन सङ्घ मिलनमोडले मिलनमोडमा आयोजन गरेको फूलपाती शोभायात्रामा सामेल भएका थिए ।

उनले भनेका छन्, ‘फूलपातीमा नौ प्रकारका वनस्पतिलाई देवी दुर्गाको प्रतीक मान्दै पूजा गर्ने परम्परा पनि छ । यसले शक्ति र प्रकृतिको परस्पर सम्मानलाई दर्शाउँछ ।’

यसैले फूलपातीले प्रकृति संरक्षणको सन्देश दिने भएकाले नौरथाको सातौँ दिन प्रकृतिप्रति कृतज्ञता प्रकट गर्ने दिन पनि रहेको सांसद विष्टको भनाइ छ ।

‘हाम्रो जस्तो भौगोलिक दृष्टिले अत्यन्तै संवेदनशील क्षेत्रमा वन-जङ्गल, बोट बिरुवाहरू र समग्र पारिस्थिकीको संरक्षण गर्नु पर्ने सन्देश यस पर्वले दिन्छ’, उनले भनेका छन् ।

यसैबिच उनले सबैलाई दसैँको अग्रिम शुभकामना दिँदै भनेका छन्, ‘टीका, जमरा र आशीर्वादले भरिएको यो महान चाड हामी सबैका परिवार र वरिपरि नयाँ उमङ्ग, उत्साह, सुख-समृद्धि, प्रेम र एकताको सन्देश ल्याओस् ।’

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here