टाइगर हिलको सरसफाइमा प्रतिबद्ध स्काभेन्जर्स

0
1450
टाइगर क्षेत्रबाट सङ्ग्रहित बोतलहरू छुट्टाउँदै स्काभेन्जर्सका सदस्यहरू।

दार्जीलिङ, 30 जनवरी : दार्जीलिङस्थित टाइगर हिलको महत्त्वलाई बचाइराख्न उत्साही युवाहरूको समूह स्काभेन्जर्स अघि आएको छ। यसै अनुरूप बुधवार स्काभेन्जर्सका सदस्यहरूले टाइगर हिल क्षेत्रको सरसफाइ गरे। उक्त क्षेत्रमा अनियन्त्रित रूपमा फ्याँकिएका प्लास्टिकजन्य पदार्थ र बोतलआदि उठाउने कार्य गरे।

यसबारे जानकारी गराउँदै स्काभेन्जर्सका सदस्य युवराज प्रधानले भने, “हामी टाइगरको महत्त्वलाई लिएर गम्भीर छौं। टाइगर हिल पर्यटन र धार्मिक महत्त्व बोकेको स्थान मात्र होइन, यो दार्जीलिङका लागि पिउने पानीको स्रोत भएको स्थान पनि हो। यसैले टाइगर हिल सफा, स्वच्छ र हरियाली  रहनु अनिवार्य छ।”

आज 11 जना सदस्यहरू यो कार्यमा बिहानैदेखि खटिएका थिए। यी सचेत र ऊर्जाशील युवाहरूले टाइगर हिलको मूल गेटदेखि निर्माणकार्य भइरहेको ठाउँसम्म सफाइ अभियान चलाएका थिए।

प्रधानका अनुसार आजसम्म स्काभेन्जर्सका सदस्यहरूले पाँचपटक टाइगर हिलमा सफाइ कार्यक्रम गरिसकेका छन्। र आगत दिनमा पनि यो कार्यक्रमलाई जारी राख्ने सोच छ। “हाम्रो लक्ष्य टाइगर हिललाई सफा स्वच्छ राख्नु हो। भविष्यमा यो ठाउँमा काख लिएर  हेर्चाह गर्ने हाम्रो योजना छ”, उनले थपे, “टाइगर हिलको महत्त्व र सरसफाइलाई सबैले बुझ्न पर्नेछ। दार्जीलिङ हाम्रो हो, यसैले यसलाई लिएर हामी नै सचेत र सजग हुनपर्नेछ।”

उनका अनुसार स्काभेन्जर्सका सदस्यहरूले केवल फोहोरहरूलाई  बटुल्ने काम मात्र गर्दैनन्, तर सङ्ग्रहित प्लास्टिकजन्य सामग्रीहरू  छुट्टाएर वर्गीकृत गर्ने कार्य पनि उनीहरूले गर्दै आएका छन्। यसका लागि उनीहरू आफै खटिन्छन्। डाटा नै तयार गर्छन्।

युवराज प्रधान भन्छन्, “हामी सबै नै परिवर्तनको कुरा गर्छौं। दार्जीलिङको परिवर्तन हुनुपर्छ  भन्दै ठूल्ठूला कुरा गर्छौं, तर यसका लागि अन्यमाथि भर पर्छौं। कि त नगरपालिकातिर फर्किन्छौं कि त विभागको आशा गरेर बस्छौं। हामी कहिले सोच्दैनौं , पहिला आफै परिवर्तन हुनुपर्ने कुरा। किनभने दार्जीलिङका एक एक मानिस पहिला आफै परिवर्तन  भए दार्जीलिङ स्वतः परिवर्तन हुनेछ। हामी स्काभेन्जर्सका सदस्यहरूले आफै परिवर्तन गरी यो कार्यमा निरन्तर लागिपरेका हौं।”

उनले थप भने, “हामी थाक्दैनौं र आगत दिनमा पनि थाक्नेछैनौं। प्रत्येक सचेत युवाहरू हाम्रो कार्यमा  सहभागी हुनसक्नेछन्। किनभने टाइगर हिल र दार्जीलिङ हाम्रो हो। हामीले गरिरहेको कार्य सबैको दायित्वको विषय हो।”

प्रधानले उनीहरूलाई यो कार्यमा अहिलेसम्म सघाउ पुऱ्याउँदै आएका स्वयंसेवी युवाहरूलगायत अन्यप्रति आभार प्रकट गर्दै भविष्यमा पनि मिलेर टीम वर्कको रूपमा कार्य गर्न सघाउ पुऱ्याउने कुरामा विश्वास व्यक्त गरेका छन्।

स्काभेन्जर्स दार्जीलिङका ती युवाहरूको एक यस्तो संस्था हो, जसले दार्जीलिङलाई  साँचो अर्थमा माया गर्छ। दार्जीलिङको सधैँ सफा, स्वच्छ र हरियाली रहिरहोस् भन्ने चाहन्छ। यसमा अहिले 25 सदस्य छन्। सफाइ कार्यमा कोही बेला अन्य उत्साही युवाहरू पनि थपिनेगर्छन्। उनीहरूसँग सामाजिक कार्यमा संलग्न भएर खटिने गर्छन्।

युवराज प्रधान थप भन्छन्, “जनचेतना र युवाहरूको बाक्लो सहभागिताले मात्र हामी प्लास्टिकविरुद्धको लड़ाइँ जित्नसक्छौं। किनभने दार्जीलिङ क्षेत्रमा अनियन्त्रित रूपमा प्रयोग हुने प्लास्टिकजन्य सामग्रीहरू नै यो पहाड़ी क्षेत्रका लागि खतरा हो। यसलाई पहाड़बाट निमिट्यान्न नपारेसम्म हाम्रो यो अभियान जारी रहनेछ। हामी शहरवासी सबैलाई यसप्रति सचेत भइदिने आह्वान पनि गछौं।”

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here