दार्जीलिङ, 30 जनवरीः राष्ट्रवादी कङ्ग्रेस पार्टी (एनसीपी)-ले पनि सुकेपोखरी-जोरबङ्लो खण्ड विकास क्षेत्रलाई विभाजन गरी छुट्टै सोनादा खण्ड विकास क्षेत्र बनाउने माग उठाएको छ।
भर्खरै दार्जीलिङ पहाड़मा पार्टी विस्तार शुरु गरेको एनसीपीले विशेषगरी सोनादा वरिपरि क्षेत्रका जनताका समस्याहरूलाई अघि राखेर यसमाथि सम्बन्धित विभाग र सरकारले ठोस पहल गर्नुपर्ने माग गरेको छ।
यसै विषय लिएर आज एनसीपी दार्जीलिङ जिल्ला समिति अध्यक्ष फैजल अहमदले यहाँ एक पत्रकार सम्मेलनको आयोजन गरे।
पत्रकारहरूलाई सम्बोधन गर्दै उनले सोनादालाई अलगै खण्ड विकास क्षेत्र बनाउने माग उठाए।
उल्लेखनीय छ, सुकेपोखरी खण्डअन्तर्गत पर्ने 7 वटा ग्राम पञ्चायत क्रमैले रङ्बुल, धोत्रे-कलेजभेल्ली, अप्पर सोनादा, लोअर सोनादा-1, लोअर सोनादा-2, मुण्डाकोठी र गोराबारी-मार्गरेट्सहोप ग्राम पञ्चायतलाई मिलाएर सोनादा खण्ड विकास स्थापना गर्नुपर्ने माग अघिदेखि उठ्दै आइरहेको छ।
यस विषय लिएर रङ्बुल-सोनादा खण्ड विकास स्थापना समन्वय समितिले विगत निकै वर्षदेखि आवाज उठाउँदै आइरहेको छ। तर अझसम्म यसमाथि ठोस कार्वाही हुनसकेको छैन।
सन् 2006-मा कुमार चौहानको पहलमा नै रङ्बुल-सोनादा खण्ड विकास स्थापना समन्वय समितिको गठन गरेर सुकेपोखरी खण्डलाई दुई भागमा विभाजन गरी रङ्बुल-सोनादा खण्डको पनि स्थापना गर्नुपर्ने माग उठाउन शुरु गरिएको थियो।
यसबारे समितिले राज्य सरकारलाई पनि पत्राचार गरेको थियो भने यस मागलाई लिएर समितिले लगातार प्रयास चलाउँदै आइरहेको थियो।
यसैबीच, एनसीपीले पनि सोनादा खण्ड विकास क्षेत्रको माग उठाएपछि यो मागले फेरि एकपल्ट भाउ पाउने सम्भावना देखा पर्न थालेको छ।
यति मात्रै होइन, अहमदले बोडोल्याण्ड क्षेत्रको विकासलाई लिएर भएको त्रिपक्षीय सम्झौताअनुसार, केन्द्र सरकारले 2,500 करोड़ रुपियाँ दिने भएको विषयको सराहना गर्दै गोर्खाल्याण्ड टेरिटोरियल एड्मिनिस्ट्रेशन (जीटीए)-लाई पनि 2,000 करोड़ रुपियाँ दिनुपर्ने माग उठाए।
यसका साथै उनले अनित थापाको नेतृत्वमा जीटीए सुचारू रूपले सञ्चालन भइरहेको साथै जीटीएले धेरै विकासका कार्य गरिरहेको दाबी गर्दै केन्द्रले जीटीए क्षेत्रमा अझै विकासका कार्यहरू गर्नका लागि 2,000 करोड़ रुपियाँ आर्थिक सहयोग प्रदान गर्नुपर्ने माग गरे।
यसैगरी उनले गत केही दिनअघि टाटा मुम्बई म्याराथनमा प्रथम बनेकी खरसाङ निवासी प्रीति राईलाई जीटीएले उचित सहयोग प्रदान गर्नुपर्ने पनि माग गरे।
‘‘दार्जीलिङ पहाड़मा प्रीति राईजस्ता कैयौं प्रतिभाशाली खेलाड़ी छन्, जो उचित सहयोग र प्रोत्साहनको अभावको कारण उनीहरूका प्रतिभा मरेर गइरहेको छ’’, अहमदले थपे, “यसैले यस दिशामा जीटीएले उचित ध्यान दिनुपर्छ अनि यहाँका खेलाड़ीहरूलाई सहयोग प्रदान गर्नुपर्छ।’’
उल्लेखनीय छ, 22 वर्षीय प्रीति राई आफ्नो घर चलाउने छोरी हुन्, जसकी आमाको निधन भइसकेको छ भने बाबाको देब्रे हातले काम गर्नै सक्तैन। यसैले प्रीतिले म्याराथनबाट जितेर ल्याएको अर्थले नै उनको घर पनि चल्ने गरेको छ।
यति मात्र होइन, एनसीपी दार्जीलिङ जिल्ला अध्यक्ष फैजल अहमदले गोराबारीमा एक उचित सरकारी स्वास्थ्य केन्द्रको स्थापना गरिनुपर्ने माग गरेका छन्।