भाजपाद्वारा विनयपन्थी मोर्चाका नेताहरूविरुद्ध सदर थानामा प्राथमिकी दर्ता

0
1101
पत्रकारहरूसँग बोल्दै भाजपा नेता मनोज देवान।

दार्जीलिङ, 30 जनवरीः भारतीय जनता पार्टीले विनय तामाङपन्थी गोर्खा जनमुक्ति मोर्चाका नेताहरूविरुद्ध दार्जीलिङ सदर थानामा प्राथमिकी दर्ता गरेको छ।

यद्यपि प्राथमिकीमा विनयपन्थी मोर्चाका नेताहरूको नाम भने उल्लेख नगरिएको बताइएको छ।

वास्तवमा केही दिनअघि राष्ट्रिय राजमार्ग-10 अन्तर्गत तारखोलामा विनय तामाङले सिक्किम भाजपाका नेताहरूलाई लक्षित गरी दिएको बयानको विरोधमा नै आज भाजपा दार्जीलिङ जिल्ला कमिटीले सदर थानामा प्राथमिकी दर्ता गरेको हो।

उल्लेखनीय छ, 28 जनवरीको दिन तारखोलामा एक  सभालाई सम्बोधन गर्दै मोर्चा दोस्रो खेमाका अध्यक्ष विनय तामाङले  सिक्किम भाजपाका दुई नेता पहाड़मा पार्टीको जनाधार बढ़ाउन दार्जीलिङको चानमारीमा आएर बसेको बताउँदै 48 घण्टाभित्र उनीहरूले दार्जीलिङ छोड़्नेपर्ने चेताउनी दिएका थिए।

आज विनयपन्थी मोर्चाका नेताहरूविरुद्ध सदर थानामा प्राथमिकी दर्ता गरेपछि यसबारे जानकारी गराउँदै भाजपा दार्जीलिङ कमिटीका अध्यक्ष मनोज देवानले भने, “विनयपन्थी मोर्चाहरूका नेताहरूले सिक्किम भाजपाका दुईजना नेता आएर दार्जीलिङमा काम गरिरहेका छन् भनेर लाञ्छना  लगाएका थिए, त्यो सरासर अगणतान्त्रिक र तानाशाही हो। यो गणतान्त्रिक देशमा कुनै पनि पार्टीका नेताले देशका कुनै भागमा  राजनीति गर्न पाउँछन्। तर विनयपन्थी मोर्चाका नेताहरूले जुन फरमान जारी गरेको छ, त्यो अगणतान्त्रिक हो। यसको हामी घोर विरोध गर्दछौं।”

गणतान्त्रिक देशमा बसेपछि गणतन्त्रको पालन गर्न जान्नुपर्ने तथा तानाशाही राजनीतिको कहिले जीत नहुने देवानले बताएका छन्।

“गोर्खा जनमुक्ति मोर्चा-दुईका नेताहरूले चानमारीमा सिक्किमबाट आएका दुईजना भाजपा नेता को-को हुन्, देखाउनुपर्छ”, उनले चुनौती दिएका छन्।

भाजपा नेता देवानका अनुसार विनयपन्थी मोर्चाका नेताहरू जनाधार नभएको कारण हताश भएर बेटुङ्गे कुरा गरी सिक्किम र दार्जीलिङको सम्बन्धलाई बिगार्ने कोशिश गरिरहेका छन्।

“सिक्किमका कोही पनि मानिस दार्जीलिङ आएर काम गर्ने जरूरत छैन। किनभने उनीहरू सिक्किममै परिपूर्ण छन्”, उनले थपे, “बरू दार्जीलिङका मानिसहरू सिक्किममा गएर कामकाज गरिरहेका छन्। भोलिको दिनमा सिक्किम र दार्जीलिङको सम्बन्ध बिग्रिएको खण्डमा सिक्किमले दार्जीलिङका मानिसहरूलाई यता पठाएमा के विनयपन्थी मोर्चाहरूका नेताहरूले उनीहरूलाई पाल्नु सक्छन्? काम दिनसक्छन्? अन्धाधुन्धमा यसरी बोल्न पाउँदैन।’’

यसका साथै विनयपन्थी मोर्चा अहिले तृणमूल सरकारको अक्सिजनले चलिरहेको तथा उनीहरूलाई अक्सिजन दिने तृणमूल कङ्ग्रेस नै 2021 पनि बङ्गालको सत्तामा नरहने ठोकुवासमेत गरे।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here