भाजपाले सहजै चुनाउ जित्ने दाबी : राजु विष्टले भने –दार्जीलिङको स्थायी समाधान अवश्यै हुनेछ

0
1170
कालेबुङमा चुनावी सभालाई सम्बोधन गर्दै राजु विष्ट।

कालेबुङ, २९ मार्च : विमलपन्थी गोजमुमो र गोरामुमो समर्थित भाजपा उम्मेद्वार राजु विष्टले शुक्रवार कालेबुङमा चुनावी सभालाई सम्बोधन गरे।

चुनाउ प्रचारका लागि कालेबुङ पुगेका उनलाई गोजमुमो (विमलपन्थी) र गोरामुमो समर्थकहरूले भव्य स्वागत जनाए। कालेबुङसहित राष्ट्रिय राजमार्ग १० का ठाउँ-ठाउँमा उनलाई स्वागत जनाइएको थियो। यसअवधि बाक्लो सङ्ख्यामा भेला भएका गोरामुमो-गोरामुमो समर्थकहरूले जय विमल जय मन घिसिङको नारा पनि लगाए।

कालेबुङको मारवाड प्यालेसमा चुनावी सभामा उनले भाजपाले देश र दार्जीलिङ पहाड़मा गर्ने विकासको खाका राख्नका साथै राज्यकी मुख्यमन्त्री एवं ममता ब्यानर्जीको तीखो शब्दमा निन्दा गरिन्।

‘‘१ महिना पहाड़ बन्द हुँदा ममता ब्यानर्जीले हजार करोड़ नोक्सान भएको देखाउन्छिन्।, तर पहाड़का लागि १ वर्षमा केवल ४-५ सय करोड़ बजेट दिनेगर्छिन्। अर्थात् पहाड़बाट धन लुटेर सम्पूर्ण बङ्गालले आफूलाई पालिरहेको छ। पहाड़बाट लगेको पैसा नै बङ्गालले भ्रष्टाचार गरिरहेको छ।’’

पहाड़वासीले सहिरहेको पीड़ा र समस्यालाई पहिलाबाटै बुझेको तर पहाड़मा आएर यो पीड़ा-समस्यालाई अझ गहिरोसँग  बुझ्न पाएको पनि उनले बताए।

“बङ्गालले दार्जीलिङ पहाड़मा जुन अन्याय अत्याचार गरिरहेको छ, त्यस्तो अन्याय-अत्याचार कश्मीरदेखि कन्याकुमारीसम्म, मेरो जन्मभूमि मणिपुरतिर पनि छैन। अब बङ्गालको अत्याचारको अन्त्य हुने समय आएको छ।’’

अर्कोतिर सभा सकिएपछि स्थानीय पत्रकारहरूसँग कुराकानी गर्दै विष्टले यसपालि दार्जीलिङ पहाड़को समस्याको स्थायी समाधान अवश्यै हुने ठोकुवा गरे।

“दार्जीलिङ पहाड़को दीर्घलम्बित मागको समाधान योपालि अवश्यै हुनेछ”, उनले भने। यद्यपि त्यो स्थायी समाधान के हो भन्ने कुरा उनले खुलाएनन्। मेनिफेस्टोमा नै दार्जीलिङको स्थायी समाधानको कुरा उल्लेख हुने विष्टको भनाइ छ।

यसअवसरमा उनले भाजपाको  जीत शतप्रतिशत निश्चित रहेको पनि बताए। र भोटिङ हुनअघि नै चुनाउ प्रचारका लागि दार्जीलिङ संसदीय क्षेत्रका सबै ठाउँमा पुग्ने यी भाजपा उम्मेद्वारले बताए।

आज कालेबुङ पुगेका उनी शहीद वरुण भुजेलको घरमा पुगी भुजेलका परिवारलाई पनि भेट गरे।

मारवाड प्यालेसमा भाजपा दार्जीलिङ कमिटीका अध्यक्षका मनोज देवानको अध्यक्षतामा सम्पन्न सभालाई गोरामुमो नेता एनबी छेत्री, गोजमुमो नेता विजय सुन्दास, गोजमुमो कार्यकारी अध्यक्ष डा. लोप्साङ लामा, गोरामुमो प्रवक्ता नीरज जिम्बा, गोजमुमो प्रवक्ता बीपी बजगाईं आदिले सम्बोधन गरे।   

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here