गान्तोक, 30 मार्च : सत्तारूढ़ दल सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ)-ले सिक्किमलाई बर्बाद गरेको आरोप राज्यको प्रमुख विपक्षी दल सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम)-का अध्यक्ष पीएस गोलेले लगाएका छन्।
शनिवार राभाङ्ला बजारमा सम्पन्न चुनावी जनसभालाई सम्बोधन गर्दै गोलेले यस्तो आरोप लगाएका हुन्। उनले भने, “25 वर्षमा एसडीएफले सिक्किमलाई बर्बाद पारेको छ। सिक्किम र सिक्किमेली जनतालाई प्रतिवर्ष लुटेको छ। यसको हिसाब-किताब जनताअघि हामी राख्नेछौं। हामीलाई केवल पाँच वर्षको समय दिनुहोस्। म जनतासँग निवेदन गर्दछु, हामीलाई केवल पाँच वर्षका लागि मौका दिनहोस्। हाम्रो चुनाउ चिह्न टेबलल्याम्पमा तपाईंहरूको बहुमूल्य भोट हालेर सरकार गठन गर्नमा सहयोग गर्नुहोस्।”
एसडीएफ तथा यसका अध्यक्ष पवन चामलिङप्रति आक्रामक देखिएका एसकेएम अध्यक्ष गोलेले थप भने, “पवन चामलिङको परिवारवादबाट सिक्किमे जनतालाई छुटकारा दिलाउन तपाईंहरूले यसपालिको चुनाउमा हामीलाई सहयोग गर्नुहोस्। सिक्किममा जति पनि नाफा हुने कामहरू छन्, ती सबै पवन चामलिङको परिवारले गर्छ। नाफा हुने सबै काम चामलिङको परिवारले कब्जा गरेर राखेको छ। यो सिक्किमे जनतालाई ठूलो विश्वासघात हो। मैले मेरो छोरालाई चुनाउमा उठाउँदा परिवारवाद गर्यो भनिँदैछ,तर मैले मेरो छोरालाई जुवाको अड्डा र क्यासिनो खोेलेर सिक्किमे जनतालाई बिगार्न र जनतालाई लुट्न पठाएको होइन, तर मैले मेरो छोरालाई सिक्किमे जनताको सेवा गर्ने मौका दिएको मात्र हुँ।”
उनले आफ्नो सम्बोधनमा एसकेएम पार्टी सरकारमा आएको खण्डमा सिक्किमको रचनात्मक विकास गरी नयाँ र उज्यालो सिक्किम बनाउने दाबी गरे।
“हामी सिक्किमलाई ध्वस्त गर्ने र विनाशको स्थितिमा पुर्याउने होइन, तर सिक्किमलाई सिक्किमजस्तो निर्माण गर्नेछौं। सिक्किमलाई नयाँ दिशा दिनेछौं। नयाँ सिक्किमको नयाँ उज्यालो, नयाँ सरकारको नयाँ विकासको नारा लिए जनतासमक्ष आएका छौं”, एसकेएम अध्यक्ष गोलेले थपे, “जुन व्यक्तिले यसपालिको चुनाउमा हजार करोड़ खर्च गर्छु भन्दैछ, ती व्यक्ति फेरि सरकारमा आएको खण्डमा दश हजार करोड़ चोर्नेछ। जनताको बजेट ती व्यक्तिको गोजीमा जानेछ। एउटै विकास हुनेछैन। जनता होशियार बस्नपर्नेछ। यस्ता भ्रष्टाचारी, जातिवादी, परिवारवादी र तानाशाही सरकारलाई सिक्किमे जनताले चिन्नपर्नेछ। र यसपालिको चुनाउमा जरैसँग उखेलेर फ्याँक्नपर्नेछ।”
राज्यका मुख्यमन्त्री चामलिङले हिन्दु धर्मको खिल्ली उड़ाएको, इसाई धर्मलाई हेला गरेको, हेभेन्ली पाथ धर्मका गुरु हजुरलाई सिक्किममा आउन नदिएको र बुद्धिस्ट धर्मका 17औं कर्मपालाई सिक्किममा प्रवेश गर्न नदिएको पनि पनि एसकेएम अध्यक्षले गम्भीर आरोप लगाए।
बर्फुङ, तुमिन-लिङ्गी, तिमी-नाम्फिङ र राङगाङ-याङगाङ समष्टिबाट बाक्लो सङ्ख्यामा भेला भएका पार्टी समर्थकहरूलाई सम्बोधन गर्दै उनले भने, “मुख्यमन्त्री चामलिङले सिक्किमका कुनै पनि धर्मलाई राम्रो गरेको छैन, तर हामी सरकार आएपछि सबै धर्मलाई सम्मानपूर्वक हेर्नेछौं। हामी सरकारमा आएको 100 दिनभित्रै गुरु हजारलाई सिक्किममा ल्याउनेछौं। 17औं कर्मापालाई सिक्किमलाई प्रवेश गराउनेछौं।”
एसडीएफ सरकारले सटीक रिपोर्ट केन्द्र सरकारसमक्ष नबुझाएकै कारण छुटेका 11 जातगोष्ठीले जनजातिको मान्यता नपाएको उनले दाबी गरे। साथै जनजाति मान्यताका लागि इमानदारीपूर्वक कार्य गरी यी जातगोष्ठीहरूलाई न्याय दिने दाबी गरे।
यसअवसरमा उनले लिम्बू-तामाङ समुदायका लागि सीट आरक्षण, शेर्पा जातिलाई न्याय दिने ठोकुवा पनि गरे। सभालाई एसकेएमका लोकसभा उम्मेदवार इन्द्रहाङ सुब्बालगायत पार्टीका अन्य वरिष्ठ नेताहरूले पनि सम्बोधन गरे।
यसअवसरमा उल्लिखित चारैवटा समष्टिका एसकेएम उम्मेदवारहरू क्रमैले लोब्जाङ भोटिया, आरके बस्नेत, बीएस पन्त र साम्डुप छिरिङ भोटिया विशेष रूपले उपस्थित थिए।
एसकेएम पार्टीका प्रचार प्रसार महासचिव विकास बस्नेतले एक प्रेस विज्ञप्ति जारी जानकारी गराएअनुसार उक्त चुनावी सभाबीच बर्फुङ समष्टिबाट अवकाशप्राप्त एसपी के.टी. भोटिया र सरकारी ठेकादार एन.टी. भोटियाको अगुवाइमा कुल 397 परिवार, तिमी -नाम्फिङ समष्टिबाट स्वतन्त्र पञ्चायत निम टेम्पा शेर्पाको अगुवाईमा कुल 28 परिवार, राङगाङ-याङगाङ समष्टिबाट कुल 88 परिवार, तुमिन-लिङ्गी समष्टिबाट ओबीसी बोर्डका अतिरिक्त निर्देशक टीबी छेत्री र सरकारी ठेकादार नरेश छेत्रीको अगुवाइमा कुल 38 परिवार गरी एसडीएफ समर्थक 550 परिवार एसकेएम पार्टीमा सामेल भएका छन्। यसैअवसरमा डेञ्जोङ शेर्पा एसोसिएशनका पूर्व अध्यक्ष ला छिरिङ शेर्पा पनि एसकेएममा सामेल भएका छन्।