उत्तर जिल्ला विकास परिषद् गठन गर्ने चामलिङको घोषणा

0
1261
मङ्गनमा चुनावी जनसभालाई सम्बोधन गर्दै पवन चामलिङ।

मङ्गन, 30 मार्चः उत्तरका तीनवटा समष्टिलाई लिएर ‘उत्तर जिल्ला विकास परिषद्’ गठन गरिने एसडीएफ अध्यक्ष तथा मुख्यमन्त्री पवन चामलिङले बताएका छन्।

मङ्गन खेल मैदानमा उत्तर जिल्लाका दुई समष्टि लाचेन-मङ्गन र जङ्गुका निम्ति आयोजित ‘विजय सङ्कल्प यात्रा’ कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मुख्यमन्त्रीले भावी सरकारमा यस्तो विकास संस्थान बनाउने घोषणा गरेका हुन्।

चुनावी जनसभालाई सम्बोधन गर्दै मुख्यमन्त्रीले भने,“उत्तर जिल्लाको जनसङ्ख्या, भाषिक विशेषता, सांस्कृतिक पहिचान, भौगोलिक परिस्थिति आदि सबै विषयलाई ध्यानमा राखेर उत्तर जिल्ला विकास परिषद् गठन गरिनेछ। यस परिषद्का अध्यक्षलाई क्याबिनेट मन्त्रीको दर्जा दिइनेछ।”

यसैगरी, कर्मापा उगेन थिन्लेको सिक्किम आगमन सन्दर्भमा बोल्दै उनले भने,“कर्मापा उगेन थिन्ले दोर्जीलाई सिक्किम आगमन गराउन भारत सरकारबाट अनुमति भइसकेको छ। यसको निम्ति हामीले अथक प्रयास गरेका थियौं। तर, अहिले कर्मापा स्वयं विदेशमा हुनुहुन्छ। नयाँ सरकार गठन हुनासाथ सङ्घ विधायक आचार्य छिरिङ लामाको नेतृत्वमा एउटा उच्चस्तरीय टोली विदेश पठाएर कर्मापालाई सिक्किम आउन आग्रह गरिनेछ। म आफै कर्मापालाई एउटा आग्रहपूर्ण चिट्ठी पठाउनेछु।”

बौद्ध धर्मको विकास सन्दर्भमा आगामी सरकारको नीतिबारे बोल्दै मुख्यमन्त्रीले भने, “हामीले सिक्किमलाई ‘छोसुम’ बनायौं। अब आउने सरकारमा ‘सिङ्खाम’ बनाउनेछौं। उत्तर जिल्लामा आनी गुम्पाको निर्माण गरिनेछ। लाचेन र लाचुङमा रहेका दुईवटा पुराना आनी गुम्पाको नयाँ प्रकारले निर्माण हुनेछ। बौद्ध धर्मसँग सम्बन्धित सिक्किमका सबै धरोहरहरूको पूर्ण सुरक्षा गरिनेछ।”

राज्यका खेलाड़ी, कलाकार आदिलाई लिएर सरकारको नयाँ कार्यक्रम पनि चामलिङले सुनाए। “सबै खेलसँग सम्बन्धित खेलाड़ी, गायक, चित्रकार, सङ्गीतसँग सम्बन्धित व्यक्ति आदिलाई आउने सरकारमा मासिक 10 हजार गरेर भत्ता प्रदान गरिनेछ। भर्खरै पेशामा लागेका अधिवक्ताहरूलाई पनि मासिक 10 हजार रुपियाँ भत्ता दिइनेछ।”

राज्यमा भ्रष्टाचारलाई रोक्न सरकारले कड़ा कानून ल्याउने बताउँदै चामलिङले भने, “राजनीतिक पार्टीको नाममा, कुनै सरकारी ठेकाको प्रतिशतको नाममा, कुनै सामाजिक कार्यको नाममा चन्दा असुली गर्न दिइनेछैन। यसको निम्ति हामी कड़ा कानून ल्याउँदैछौं। राज्यमा राजनीतिक पार्टीको नाममा चन्दा उठाएको शिकायत हामीसमक्ष आएको छ। यसलाई सहन गरिनेछैन। यस्तो कार्यलाई प्रश्रय दिए भ्रष्टाचार बढ़ेर जानेछ। त्यसैले सरकार कानून ल्याउने बाध्य बनेको छ। कानून ल्याएर हामी सिक्किमलाई भ्रष्टाचारमुक्त राज्य बनाउनेछौं।”

उत्तर सिक्किममा पशुपालनको सम्भावनालाई ध्यानमा राख्दै आगामी सरकारमा उत्तर जिल्लामा एउटा ठूलो पशु चिकित्सालय निर्माण गरिने मुख्यमन्त्रीले घोषणा गरे। उनले अझ भने, “उत्तर सिक्किममा पशुपालनको प्रबल सम्भावना छ। यो जिल्लामा घरीघरी पैह्रो पनि जान्छ। यी दुवै विषयलाई ध्यानमा राख्दै आगामी सरकारमा उत्तर सिक्किमबाट जसलाई मन्त्री दिइन्छ, उसैलाई पशुपालन र सिँचाइ तथा बाढ़ नियन्त्रण विभाग दिइनेछ।”

नयाँ सरकार गठन हुनासाथ उत्तर सिक्किमका विधायक, जिल्ला प्रशासन, जिल्ला पञ्चायत र पञ्चायत सदस्यहरूसँग एउटा विशेष बैठक गरेर पाँच वर्षको निम्ति जिल्ला योजना बनाउने उनले घोषणा गरे।

एसकेएम पार्टीमाथि वर्षिदै चामलिङले विपक्षीमाथि गम्भीर आरोप पनि लगाए।

उनले भने, “एसकेएम पार्टीले सिक्किमे लिम्बू-तामाङ समुदायको सीट आरक्षण रोकेको छ। एसकेएमले सिब्ल्याकको इसारामा यो सबै काम गर्दैछ। एसकेएमका दुई विधायक र सिब्ल्याक मिलेर लिम्बू-तामाङको सीट रोक्न दिल्लीमा पोल हालेको छ।”

कार्यक्रममा लाचेन-मङ्गनमा एसडीएफ उम्मेदवार छिरिङ वाङ्दी लेप्चा, लोकसभा उम्मेदवार डीबी कटवाल, राज्यसभा सांसद हिस्से लाचुङ्पा आदिले पनि सम्बोधन गरेका थिए।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here