खरसाङ, 30 मार्च : शुक्रबार राति निधन भएका वरिष्ठ साहित्यकार असित राईको निधनमा गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो) प्रमुख विमल गुरुङ र गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो) –का अध्यक्ष मन घिसिङले शोक प्रकट गरेका छन्।
भारतेली नेपाली साहित्यमा आफ्ना कृतिहरूले छुट्टै स्पेस बनाएका राईको निधनले साहित्य जगतमा अपुरणीय क्षति पुगेको दुवै नेताले बताएका छन्।
एक प्रेस विज्ञप्ति जारी गरी विमलले भनेका छन्, ‘‘भारतीय नेपाली साहित्य जगतका ध्रुव तारा एवं वरिष्ठ साहित्यकार असित राईको निधनले म मर्माहत भएको छु। नेपाली भाषाप्रतिको उनको योगदानलाई हामी कदापि भुल्न सक्दैनौं। उनको भाषा साहित्यप्रतिको प्रेम र उनका बहुमूल्य कृतिहरूले हामीलाई अनि हाम्रा भावी सन्तानहरूलाई सदैव मार्गदर्शन दिइरहनेछ।’’
गुरुङले राईको मृत्युप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारमा समवेदना पनि प्रकट गरेका छन्।
अर्कोतिर गोरामुमो अध्यक्ष मन घिसिङले पनि राईको निधनले नेपाली साहित्यमा अपुरणीय क्षति पुगेको बताउँदै शोकाकुल परिवारमा समवेदना प्रकट गरेका छन्।