विष्टद्वारा उत्तर बङ्गालका अस्पतालका अभावहरू उठान, पीपीई यथाशीघ्र उपलब्ध गराउनुपर्ने माग

0
1116
राजु विष्ट (फाइल फोटो)।

दार्जीलिङ, ३० मार्चः सांसद राजु विष्टले केन्द्रिय स्वास्थ्य मन्त्री डा. हर्षबर्धन र राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीअघि उत्तर बङ्गाल मेडिकल कलेज एवं अस्पताललगायत अन्य अस्पतालहरूमा कोरोना भाइरस सङ्क्रमित मानिसहरूका लागि आइसोलेशन र उपचारमा देखिएको अभाव उठाउँदै उल्लिखित अभावहरूको पूर्तिका लागि यथाशीघ्र समुचित पहलको माग पनि गरेका छन् ।

विष्टका अनुसार उत्तर बङ्गाल मेडिकल कलेज एवं अस्पतालमा स्थापित आइसोलेशन वार्डमा पर्याप्त पलङ छैन। यसका साथै आइसोलेशनमा रहेका सबै बिरामीले एउटै साबुन, एउटै कोठा र एउटै शौचालय उपयोग गर्न बाध्य छन्, जसले कसैलाई पनि कोभिड-१९ बाट सङ्क्रमित हुने जोखिमलाई बढ़ाउँछ।

यसैगरी उत्तर बङ्गाल मेडिकल कलेज एवं अस्पतालका डाक्टर, नर्स र सहयोगी स्टाफहरूलाई निम्न गुणस्तरको व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) आपूर्ति गरिएको पनि सांसदले बताएका छन्।

‘उत्तर बङ्गाल नै जोखिममा रहेको यसले उदाङ्गो पार्छ’, विष्टले भनेका छन्, ‘पीपीईकै अभावका कारण आज करिब २५० नर्सले विरोध जनाए।’

यसैबीच उनले उत्तर बङ्गाल मेडिकल कलेज एवं अस्पताल स्वच्छता अवस्थामा सुधार अत्यावश्यक रहेको बताएका छन्।

अर्कोतिर सांसद राजु विष्टले उत्तर बङ्गाल मेडिकल कलेज एवं अस्पतालका सुविधाहरूमा ठूलो सुधार गरिनुपर्ने, क्वारेन्टाइन र आइसोलेशनमा रहेका बिरामीहरूलाई परस्परमा अलग राखिनुपर्ने, उत्तर बङ्गालभरि अतिरिक्त परीक्षण, क्वारेन्टाइन र आइसोलेशनको सुविधा सिर्जना गर्नुपर्ने, कोरोना भाइरसविरुद्ध लड़ाइँका अग्रणी योद्धा (डाक्टर, नर्स र अन्य सहयोगी स्टाफ)-हरूलाई पर्याप्त र उचित सुरक्षा उपकरण उपलब्ध गराउनुपर्ने, क्षेत्रका निजी अस्पतालहरूलाई कोभिड-१९ को उपचार केन्द्रको रूपमा अधिग्रहण गर्न अनिवार्य रहेको मुद्दाहरूलाई पनि केन्द्रिय स्वास्थ्य मन्त्री  र मुख्यमन्त्रीसमक्ष उठाएका छन्।

यसैगरी उनले आजका दिनसम्म कोरोना भाइरसको खोप नबनिएको कारण निजी अस्पतालहरूमा रहेको समुचित सुविधा र हेर्चाहको लाभ उठाउनसकिने, सरकारले उत्तर बङ्गालका सबै अस्पतालका डाक्टर, नर्सहरूका लागि एन ९५ मास्क र अन्य व्यक्तिगत सुरक्षा उपकरण प्रदान गर्नुपर्ने, दार्जीलिङ र कालेबुङ जिल्लामा कोभिड-१९ को परीक्षण सुविधा शुरु गर्नुपर्ने र उत्तर बङ्गालभरिका सबै अस्पतालहरूमा भोलेन्टियर, सिभिल डिफेन्स, सिभिक पुलिस भोलेन्टियर र एसडीआरएफलाई प्रयोग गर्नुपर्ने सुझाउँदै उल्लिखित अभावहरूको पूर्तिका लागि केन्द्रिय स्वास्थ्य मन्त्री र मुख्यमन्त्रीले चाँड़ोभन्दा चाँड़ो हस्तक्षेप गरी उत्तर बङ्गालका जनताका लागि उचित र पर्याप्त सुविधा सुनिश्चित गर्ने कुरामा आफू आशावादी रहेको बताएका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here