दार्जीलिङको अट्टेरीपन उस्तै

0
1092

दार्जीलिङ, ३० मार्चः कालेबुङनिवासी एक महिला कोरोना भाइरस सङ्क्रमणको कारण मृत्यु भएको खबर सार्वजनिक भए तापनि दार्जीलिङका जनताको अट्टेरीपन अझसम्म अलिकति पनि घटेको छैन।

आज बिहान कालेबुङकी ती ४५ वर्षीय महिलाको कोरोना भाइरसको कारण मृत्यु भएको खबर सर्वत्र फैलिरहेको समय दार्जीलिङ शहरमा मानिसहरूको भीड़ देखापरेको थियो।

बजारमा भीड़ जमेका ती मानिसहरूले न सामाजिक दूरीको नियम पालन गरिरहेका थिए, न त कोरोना भाइरसजस्तो महामारीबाट बच्नका लागि उचित सतर्कता नै अप्नाइरहेका थिए।

पुलिसले उनीहरूलाई सम्झाइरहेका थिए, तर कतिजनाले हाँस्दै पुलिसको अपीलको खिल्ली उड़ाइरहेका थिए।

एक बालिका पनि आफ्नी आमासित बजार घुम्न आएको स्पष्ट देखिएका थियो, जसबाट उनीहरूलाई न आफ्नो ज्यानको कुनै माया छ, न आफ्ना नानी वा परिवारको नै कुनै सुर्ता छ भन्ने स्पष्ट भइरहेको थियो।

यसैले अब दार्जीलिङ पहाड़मा कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिनु हो भने यहाँ पुलिस प्रशासनको कठोर पदक्षेप आवश्यक रहेको आज दार्जीलिङ शहरमा मानिसहरूको अनावश्यक भीड़ले स्पष्ट पारेको छ।

हिजै मात्र गोर्खा जनमुक्ति मोर्चा दोस्रो खेमाका अध्यक्ष विनय तामाङले एक प्रेस बयान जारी गरेर दार्जीलिङ पहाड़का सबै शहर-बजारलाई केही दिनका लागि पूर्णरूपले बन्द गर्नुपर्ने आह्वान गरेका थिए, तर दार्जीलिङका जनताले यसमाथि कुनै वास्ता गरेका छैनन्।

तामाङको बयानलाई वास्ता नगरे पनि दार्जीलिङका जनताले आफ्नै ज्यान र परिवारको ज्यानको वास्ता गर्नुपर्ने समयको माग हो। यसको ठीक अर्कोतिर दार्जीलिङ पहाड़का धेरैवटा गाउँले आ-आफ्नो गाउँ पस्ने बाटाहरू बन्द गरी कोरोनालाई गाउँतिर पस्न नदिने सङ्कल्प गरेका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here