गान्तोक, ३० मार्चः सिक्किम डेमोक्रेटिक फ्रन्ट (एसडीएफ)-का अध्यक्ष पवन चाम्लिङले ३१ मार्चका दिनदेखि सोरेङ जिल्लाको दरामदिन क्षेत्रबाट राज्यव्यापी चुनाउ प्रचार सुरु गर्नेछन्।
एसडीएफको प्रचार प्रसार मामिलाका उपाध्यक्ष कृष्ण खरेलले जानकारी गराए अनुसार चामलिङले त्यस दिन यस जिल्लाका दरामदिन र सोरेङ च्याखुङ निर्वाचन क्षेत्रमा छुट्टाछुट्टै जनसभाको आयोजना गरी जनतालाई सम्बोधन गर्नेछन्।
यसैगरी १ अप्रेलका दिन रिन्चेनपोङ र गेजिङ-बर्मेक तथा २ अप्रेलका दिन मानेबुङ-देन्ताम र याङथाङ निर्वाचन क्षेत्रमा चुनावी जनसभा गर्नेछन्। ३ अप्रेलमा एसडीएफ अध्यक्षले योक्सम-टाशिडिङ क्षेत्रका जनतालाई सम्बोधन गर्नेछन्।
त्यसपछि ४ अप्रेलदेखि दक्षिण जिल्लाका निर्वाचन क्षेत्रहरू तथा ९ अप्रेलदेखि उत्तर जिल्लाका निर्वाचन क्षेत्रहरूमा चाम्लिङले जनसभा गर्नेछन्।
उत्तर जिल्लामा चुनाउ प्रचार सकेपछि पूर्व सिक्किमका गान्तोक र पाकिम जिल्लाअन्तर्गका निर्वाचन क्षेत्रहरूमा एसडीएफ अध्यक्ष पवन चाम्लिङले चुनावी जनसभा गर्नेछन्।