विनयपन्थी मोर्चाले हाम्रा बूथ एजेन्टहरूलाई धम्काउने कार्य गर्दैछ : गोरामुमो

0
1657
पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै गोरामुमो नेता अजय एडवर्ड।

दार्जीलिङ, 30 अप्रेल : आगामी उपचुनाउलाई लिएर विनय तामाङपन्थी गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो) -ले दार्जीलिङ पहाड़लाई अशान्त बनाउने कोशिश गरिरहेको आरोप गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो) नेता अजय एड्वर्डले लगाएका छन्।

मङ्गलबार दार्जीलिङको प्रेसगिल्डमा पत्रकारहरूलाई सम्बोधन गर्दै गोरामुमो नेता एड्वर्डले यस्तो आरोप लगाएका हुन्। उनले यसअवधि हिजो दार्जीलिङदेखि केही टाढ़ास्थित जामुनेमा गोरामुमो कार्यकर्तामाथि भएको हमलाबारे पनि जानकारी गराउँदै उक्त घटनाको तीखो शब्दमा निन्दा गरे। यसका साथै यो हमलामा विनय तामाङपन्थी गोजमुमोको हात रहेको थप आरोप लगाए।

पत्रकारहरूलाई सम्बोधन गर्दै उनले भने, “हिजो हाम्रा उम्मेदवार नीरज जिम्बाको नामाङ्कन कार्यक्रम सकेपछि फर्किरहेको एक सवारी गाड़ीमाथि जामुने केही माथि र तकभार मुनि ढुङ्गामूढ़ा गरियो। साथै दुई-तीन केटा हात हतियारसँग आएर हमला गर्न खोजे। उक्त हमलामा 75 वर्षीय अवकाशप्राप्त सैनिक कैजले निवासी मनबहादुर गुरुङ घाइते भएका छन्। ढुङ्गाले लागेको कारण उनको अनुहारमा चोट लागेको छ। यो गोजमुमो-दुईले गरेको भन्दैछ। हामीले यसबारे पुलिस अधीक्षकसँग पनि भेटेका छौं।”

यी गोरामुमो नेताका अनुसार विनयपन्थी गोजमुमोले मुखले पहाड़लाई शान्ति राख्नुपर्ने भन्दै आए तापनि भित्र भित्रै उनीहरूले अशान्ति गरिरहेको पनि आरोप लगाए।

उनको आरोपको अनुसार विनयपन्थी गोजमुमोले अहिले ‘मुखमा राम राम बगलीमा छुरा’ नीति अपनाएर मीठो मुखले पछिल्लो लोकसभा चुनाउमा राजु विष्टका लागि पुलिङ एजेन्ट बस्नेहरूलाई धम्काउने कार्य गरिरहेको छ।

“उनीहरू (विनयपन्थी गोजमुमो)-ले पहाड़ शान्ति राख्नुपर्छ भन्दैछन्। उनीहरू आयो भने पहाड़ शान्ति हुने र हामी आयौं भने चाहिँ पहाड़ अशान्ति हुने कुरा गर्दैछन्” उनले थपे, “अहिले चुनाउ प्रसार गर्न दार्जीलिङमा अनित थापा आएका छन्। हामी स्वागत गर्छौं। दार्जीलिङ कसैको पेवा होइन। जो पनि आउनसक्छन्, तर उनले बुझ्नुपर्छ। अशान्ति फैलाउँदैछन्। हाम्रो बुथ एजेन्टहरूको घर-घरमा गएर मीठो मुखले धम्काउँदैछन् भन्ने सुन्दैछौं।”

गोरामुमो नेता एडवर्डले थप भने, “हामी 2007 को गोरामुमो होइनौं, पहाड़ अशान्ति गर्न चाहँदैनौं। तर यस्ता धम्काउने कार्यहरू अब फेरि भयो भने पहाड़ अशान्ति हुन्छ। र यसको दोष उनीहरूमाथि नै जान्छ।”

विनयपन्थी गोजमुमोको चुनाउ जित्ने एउटै मुद्दा बूथ क्याप्चर रहेको पनि यी गोरामुमो नेताले थप आरोप लगाएका छन्। “बूथ क्याप्चर गर्नबाहेक उनीहरूको एउटै मुद्दा छैन। र त हाम्रा एजेन्टहरूलाई नबस्नु भनेर धम्काउने काम गर्दैछन्”, एडवर्डले थपे, “उनीहरूले जनतालाई माया गरेर सम्झाइ-बुझाइ गरी भोट माग्नको सट्टा धम्काउँदै भोट माग्दैछन्। जीटीएको अफिसमा काम गर्ने कर्मचारी र शिक्षकहरूलाई धम्काउने कार्य गर्दैछ। धम्काएर पनि कहिले भोट मागिन्छ र? आम जनतालाई त हात जोड़ेर पो भोट माग्न पर्छ। त हामी त हात जोड़ेर भोट माग्ने काम गर्दैछौं।”

साथै अजय एडवर्डले पुलिस प्रशासनले यस्ता कार्य रोक्नका लागि उचित पहल गर्नुपर्ने माग गरे भने गोरामुमोले आफ्ना कार्यकर्ताहरूलाई अनुशासनमा राखेको दाबी गरे। “अब हामी यस्ता डर धम्कीको राजनीति मान्दैनौं”, उनले थपे, “कर्मचारी र शिक्षकहरू तपाईंहरू पनि नडराउनुहोस्। तपाईंहरूको पक्षमा हामी छौं। यदि तपाईंहरूलाई सरुवा गर्‍यो भने हामी सड़कमा ओर्लिनेछौं।”

एडवर्डले प्रशासनलाई चाँड़ोभन्दा चाँड़ो सर्वदलीय बैठक डाकेर यस्ता मुद्दाहरूबारे छलफल गर्नुपर्ने माग पनि गरेका छन्। उनले थप भने, “पहाड़ अशान्ति नहोस् भन्ने प्रशासन चाहन्छ भने सर्वदलीय बैठक डाक्नुपर्छ। यी मुद्दाहरूमाथि छलफल हुनुपर्छ। प्रशासनले एउटा हेल्प सेन्टर स्थापित गर्नुपर्छ। विनयपन्थी गोजमुमोले जसरी हाम्रा समर्थकहरूको घर घर गएर यहाँ नबसिदिनु भन्दै धम्काउने कार्य गर्दैछ, त्यसले भोलिको दिनमा पहाड़ अशान्त हुन्छ। हामी चाहन्छौं, आजैदेखि यस्ता कार्य बन्द होस्। पहाड़ अबउसो त्रसित हुनुहुँदैन।”

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here