सिलगढ़ी, ३० अप्रेलः उत्तर बङ्गाल मेडिकल कलेज एवं अस्पतालमा कार्यरत् नर्स अञ्जली राई आफू कोरोना पोजिटिभ बनेपछि जति डराएकी थिइन्, त्योभन्दा बढ़ी आमा, पति र छोरोको टेस्ट पोजिटिभ आएपछि चिन्तित बनेकी थिइन्।
एकपटक त उनलाई आफ्ना परिवारका सदस्यहरू पोजिटिभ आउनुमा आफू नै दायी हुँ भन्ने भावनाले पनि चिमोटिरह्यो।
उनको सबैभन्दा ठूलो चिन्ता ती दुइ वर्षे अबोध छोरो थियो, जसलाई केही थाहै छैन। केवल आमा-बाबाको न्यानो स्नेहमा रमाउनुलाई संसार ठान्छन्।
अञ्जलीमाथि आइपरेको यो ठूलो विपद थियो। परिवारका सबै सदस्यको रिपोर्ट पोजिटिभ आएको थियो। तर, उनले आफूलाई सम्हालिन्। पतिसँग कोरोना भाइरसविरुद्धको लड़ाइँ जित्ने सङ्कल्प गरिन्।
‘हामी छिट्टै स्वस्थ भएर घर फर्किनेछौं’, पतिसँग उनले गरेको सङ्कल्प थियो।
‘‘मैले हरेश खाएको भए अरूले पनि हरेश खान्थे अवश्यै। त्यसैले मैले नै आत्मविश्वासलाई दह्रो बनाउनु थियो। त्यो दह्रो आत्मविश्वास अरूलाई देखाउनु थियो’’, उनले जनसंवादसँग कुराकानी गर्दै भनिन्।
उनले यो आत्मविश्वासलाई अझै दह्रो बनाइरहनु छ। किनभने उनका पति र छोरोको टेस्ट पोजिटिभ आइरहेकाले अहिले पनि दुवै डा. च्याङ सुपर स्पेशिअलिटी अस्पतालमा उपचाराधीन छन्। उनका अनुसार अहिले दुवैको स्वास्थ्य अवस्था स्थिर छ।
‘‘ठूलो सङ्घर्षलाई जितेर आएकी छु। आत्मविश्वासले सङ्घर्ष जित्न सिकाएको छ। यद्यपि अत्यधिक खुशी भइहाल्न सकेकी छुइनँ। किनभने पति र छोरा अझै उपचाराधीन छन्’’, अञ्जली भन्छिन्, ‘‘उनीहरू पनि स्वस्थ भएर घर फर्केपछि मेरो खुशी दुइगुणा हुनेछ। मलाई थाहा छ, उनीहरू चाँड़ै निको भएर घर फर्किनेछन्।’’
अञ्जलीलाई लाग्छ, विपदको बेला आफन्त, शुभचिन्तक र साथी सङ्गीहरूको माया, सहयोग र ढाढ़स ठूलो हतियार हुँदोरहेछ। किनभने उनले कोरोना सङ्क्रमित बनेपछि र अहिलेसम्म साथी-सङ्गी, आफन्त र शुभचिन्तकहरूबाट जुन माया, सहयोग र ढाढ़स पाइरहेकी छन्, त्यो अवर्णनीय छ।
कोरोनालाई जितेर घर फर्केकी उनले अहिले तिनै शुभचिन्तक, आफन्त, साथी सङ्गीहरूलाई सम्झिरहेकी छन्।
‘‘हरेश खाइसकेको अवस्थामा कसैको प्रेरणादायी शब्द तपाईंका लागि कति ठूलो हतियार हुँदो रहेछ, मैले बोध गरेको छु’’, अञ्जली भन्छिन्, ‘‘कोरोना जित्ने आत्मविश्वास बढ़ाउनका लागि मलाई पनि धेरैको प्रेरणादायी शब्द र ढाढ़स ठूलो हतियार बन्यो। यो सङ्घर्ष जित्न प्रेरित गर्नेहरूलाई म कहिल्यै बिर्सिन्नँ।’’
उनी थप्छिन्, ‘‘उत्तर बङ्गाल मेडिकल कलेजकै आइसोलेशनमा हुँदा निको हुन्न कि भन्ने लागिरहेको थियो। तर, डा. च्याङ सुपर स्पेशिअलिटी अस्पतालमा रेफर भएपछि कोरोना भाइरसलाई जित्ने मेरो आत्मविश्वास दुईगुणा बढ़्यो। किनभने यस अस्पतालबाट कालेबुङका धेरै निको भएर घर फर्किसकेका थिए। यो कुराले हामीलाई ठूलो ऊर्जा दियो।’’
दार्जीलिङनिवासी अञ्जली राईले दुई वर्षअघि उत्तर बङ्गाल मेडिकल कलेज एवं अस्पतालमा नियुक्ति पाएकी हुन्। त्यसपछि उनी मेडिकल नजिककै शान्तिनिकेतन अपार्टमेन्टमा बस्दै आएकी छन्।
अञ्जली कालेबुङनिवासी कोरोना सङ्क्रमित महिलाकै सम्पर्क आएपछि सङ्क्रमित बनेकी हुन्। किनभने उनी ती महिलाको उपचारमा खटिएको मेडिकल टीमका सदस्य उनी पनि थिइन्। उनी शुरूमै कालेबुङनिवासी महिलाको उपचारमा खटिएकी थिइन्।
स्मरण रहोस्, २५, २६ र २७ मार्चका दिन लगातार कालेबुङनिवासी महिलाको उपचारमा खटिएपछि उनी सात दिनको होम क्वारेन्टिन लिभमा बसेकी थिइन्।
त्यसपछि २ अप्रेलका दिन उनको कोरोना टेस्ट गरियो। ४ अप्रेलका दिन टेस्ट रिपोर्ट नेगिटिभ आएपछि पुनः ५ अप्रेलदेखि ड्युटीमा फर्केकी थिइन्।
तर १० अप्रेलका दिनदेखि उनलाई ज्वरो आएपछि भोलिपल्ट ११ अप्रेलका दिन उत्तर बङ्गाल मेडिकल कलेज एवं अस्पतालमा भर्ना भएकी थिइन्। १२ अप्रेलका दिन अञ्जलीको कोरोना टेस्ट पोजिटिभ आएपछि दुइ दिन उत्तर बङ्गाल मेडिकल कलेज र त्यसपछि डा. च्याङ सुपर स्पेशअलिटी अस्पतालमा १३ दिन गरी कुल १७ दिन कोरोना भाइरसविरुद्ध सङ्घर्ष गरेकी थिइन्।
अन्ततः उनले यो लड़ाइँमा विजय प्राप्त गरेपछि २९ अप्रेलका दिन छुट्टी पाएकी थिइन्। उनीसँगै उनकी आमाले पनि कोरोना भाइरसविरुद्ध सङ्घर्ष जितेकी छन्।
महिन अप्रेल हुन गको होकि ?आज त 3 तरिख