गोरामुमो नेता राजु सुब्बाको घर तोड़फोड़, विनयपन्थी नेताहरूविरुद्ध प्राथमिकी दर्ता

0
1179
तोड़फोड़ गरिएको गोरामुमो नेता राजु सुब्बाको घर।

दार्जीलिङ, ३१ मई : गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो) लेबुङ भेल्ली समष्टिका अध्यक्ष राजु सुब्बाको घर तोड़फोड़ गरिएको घटना प्रकाशमा आएको छ। सुब्बाको घर तोड़फोड़को आरोप विनयपन्थी गोजमुमोका नेताहरूमाथि लागेको छ।

जानकारीका अनुसार बुधबार राति उनको घर तोड़फोड़ गरिएको बताइएको छ।

अर्कोतिर बिहीबार बिहान पीड़ित राजु सुब्बाले विनयपन्थी गोजमुमो नेता नगेन प्रधानलगायत अन्यविरुद्ध दार्जीलिङ सदर थानामा प्राथमिकी दर्ता गरेका छन्। प्राथमिकी दर्ता गर्न आज बाक्लो धेरै गोरामुमो समर्थक सदर थाना पुगेका थिए।

राजु सुब्बाकी पत्नीले घटनाबारे जानकारी गराएकी छन्। जुन बदमाशहरूले उनीहरूको घर तोड़फोड़ गरे, तिनीहरूले गरगहना र नगद पनि लिएर गएको तथा यसको प्रमाण पनि रहेको बताइन्। उनका अनुसार यो असामाजिक तत्त्वहरूले घर तोड़फोड़ गर्नका साथै उनीहरूमाथि हातपात पनि गरेको बताएकी छन्।

“सबैले आ-आफ्ना तरिकाले पार्टी गर्न पाउँछन्। तिनीहरूले पनि गरिरहेको होला। तर अर्काको घर घर गएर तोड़फोड़ गर्नु, नानीहरूमाथि अत्याचार गर्नु, घरका नारीहरूमाथि हातपात गर्नु कस्तो न्याय हो’’, उनले थपिन् “यो घटनाको उचित छानबिन गरी प्रशासनले हामीलाई न्याय दिनुपर्छ। यदि पुलिस प्रशासनले न्याय दिन सक्दैन भने जनता उठेर न्याय दिनुपर्छ।”

अर्कोतिर यो घटनालाई लिएर गोरामुमोको नारी एकाइ जीएनडब्ल्यूओले शहरमा पोस्टरिङ गर्दै राजु सुब्बाको घर तोड़फोड़काण्डमा संलिप्त दोषीहरूलाई पक्राउ गर्नुपर्ने माग गरेको छ।

रातको फाइदा उठाएर  राजु सुब्बाको घरमा केही असामाजिक तत्त्वहरूको झुण्डले तोड़फोड़ गरेको तथा यो झुण्डमा नगेन प्रधान, आलोककान्त मणि थुलुङ, किस्मत छेत्री, महेश राईलगायत ५० जना अन्य रहेको भन्दै उनीहरूलाई पुलिस प्रशासनले चाँड़ोभन्दा चाँड़ो पक्राउ गर्नुपर्ने माग जीएनडब्ल्यूओले गरेको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here