सिलगढ़ी, ३० मईः सिभियर एक्युट रेस्पिरेटरी इलनेस (सारी) अस्पातलको रूपमा रूपान्तर गरिएको सिलगढ़ी कावाखालीस्थित दिसन अस्पतालमा उपचाराधीन दुईजना व्यक्तिको मृत्यु भएको छ।
बङ्ग्ला दैनिक उत्तरबङ्ग संवादको अनलाइन संस्करणका अनुसार नक्सलबारीनिवासी ४३ वर्षीय व्यक्तिको हिजो राति निधन भएको हो।
उनलाई हिजै यस अस्पतालको आईसीयूमा भर्ना गरिएको थियो।
अर्कोतिर, सिलगढ़ी नगरनिगमअन्तर्गत अरविन्दपल्लीनिवासी ७२ वर्षीय एक वृद्धको आज बिहान निधन भएको छ। उनलाई हिजो राति यस अस्पतालमा भर्ना गरिएको थियो।
प्राप्त जानकारीका अनुसार दुवैको स्वाबको नमूना सङ्ग्रह गरी परीक्षणका लागि उत्तर बङ्गाल मेडिकल कलेज एवं अस्पतालको भाइरल रिसर्च एन्ड डायग्नोस्टिक ल्याबरोटरी (भीआरडीएल)-मा पठाइएको छ।
टेस्ट रिपोर्ट आएपछि दुवै मृतकका परिवारपक्षलाई शव सुम्पिने अस्पताल सूत्रले बताएको छ।