-प्रवीण राई जुमेली
The dead are selfish:
They make us cry and don’t care,
They stay quiet in the most inconvenient places
They refuse to walk, we have to carry them
On our backs to the tomb
As if they were children. What a burden!
Angel Gonzalez, b. 1925
(Translated from the Spanish by Steven Ford Brown and Gutierrez Revuelta)
हेराइमा मृत्यु–
मानिसका लागि मृत्यु एउटा अति दुःखदायी घटनाको रूपमा हेरिँदै आइएको छ। बौद्ध दर्शनले मृत्यु पनि जीवनकै नैरन्तर्य अथवा अविच्छिन्नता बताए तापनि मानिसको संसारमा मृत्युलाई सदैव जीवनको विपरीत हेरिएको छ, बुझिएको छ। हामीलाई पनि आफन्तहरूका मृत्युले रुवाउँछ। सम्झनामा उनीहरू जिउँदो हुँदाका उपाख्यान र संवादहरू घाउहरू झैं बल्झिउठ्छन्। किनकि हामीलाई जीवन नै प्यारो लाग्छ। नबुझिएका मृत्योत्तर रहस्यहरूसित डराएका छन् चेतनाहरू। यस्तो लाग्छ-यदि यहाँबाट मृत्योपरान्त दृष्टान्त पनि छर्लङ्ग देखिएको भए फत्तेमानले जस्तै ‘मर्न बरू गाह्रो हुन्न…..’ गाउन सकिन्थ्यो होला!
सबै ठाउँका मानिसहरूको जीवन नजिकबाट हेर्न नसकिए/नभ्याइए तापनि आज प्रविधिले जुराए अनुरुप जसरी जीवनहरूलाई देखिन्छ/हेरिन्छ– औसतमा सबै जीवनका नियति र रूप फरक लाग्दैन। समृद्ध समाजमा पनि, बेसक अभाव नहोला तर दुःख र पीडाहरू त छन् नै। किनकि चेतनाले सधैँ नै आकांक्षालाई बोकिहिँड़ेकै छ। त्यसैलाई त बुद्धले ‘सफरिङ्ग्स’ (दुःख) भनिराखेका थिए। आकांक्षाको बोझले मानिसलाई हिंस्रक बनायो। उसको ओठबाट मुस्कान खोसिलग्यो। आफ्ना डेब्यु कविताहरूको किताब (२०२१) लिएर देखापर्ने चिकित्सक/कवि डा. खिलानाथले आफ्नो एक कविता ‘महत्वाकांक्षा’-लाई क्यान्सरको वर्गीकरणमा राखेका छन्। किनकि महत्वाकांक्षाकै कीरा बोकेर मानिसले पृथ्वी, पशु-प्राणी र भेट्नसकेका जति सबैमाथि आफ्नो वर्चस्व अनि हिंसालाई कायम राख्दैआएको छ।
कुरा मृत्युको उठाएको थिएँ, अब त्यतैतिर जाकिऔँ।
एकपल्ट, आमाले स्कूलमा पढ़ेर थन्क्याउनु भएको एउटा नेपाली पाठ्यपुस्तक भेटेको थिएँ घरमा। म आफै पनि स्कूले नै थिएँ उसबेला। त्यहाँ थियो पर्शुराम रोकालिखित कथा ‘मृत्युकै मुखेञ्जी’। हास्यात्मक अन्त्य भएको सो कथा आजसम्म पनि अमेट भई बसिरहेको छ मथिङ्गलमा। यदि त्यस कथालाई ‘मृत्युकै मुखेञ्जी: आगमन’ मानिलियौँ भने मेरो यस लेखको शीर्षक ‘मृत्युकै मुखेञ्जी : एपोक्यालिप्सी’ राखिदिँदा हुन्छ होला भन्ने लागेको छ। किनकि यो लेखले पर्शुराम रोकाका कथाले जस्तो हसाउँदैन।
एउटा बेस्वादको कुरा पनि छ। त्यसलाई पनि यहाँ पोखिराख्दा अन्यथा नहोला। माथि उल्लिखित कथा लेखकको प्रकाशित सङ्ग्रह ‘पञ्चतन्त्र’-बाट लिइएको हो भन्ने पनि थाहा लागेको थियो, तर आजसम्म पनि सो किताब देखनसकेको छुइनँ।
१९७५-मा प्रकाशित रेमन्ड विलियम्सको ‘लाइफ आफ्टर लाइफ’ (Rider Books)-मा एकपल्ट मरेर जीवनतिरै फर्किने प्रकरणलाई एनडीई (NDE) भनिएको छ। अर्थात् near death experience। भनिएको छ कि यस वाक्यांशलाई प्रथमपल्ट नामकरण गर्ने नै उनै थिए। सो किताबको पाठमा एकपल्ट मरेर फर्किने मानिसहरूमाथि शोध र अध्ययन गरिएका कुराहरू उल्लिखित छ।
हामी जीवनलाई लेखिरहेका थियौँ। सायद यसैले, अनेकौँपल्ट पुनरावृत्ति र दोहोऱ्याइहरू पनि लेखिरहेथ्यौँ। अनि लेखिरहेछौँ। बौद्ध दर्शनका केही पाठ पठन गर्ने क्रममा मानस र शरीरमाथिको चिन्तन पनि देखियो। जीवनको अन्तिम अनुभूति हो मृत्यु; तर जसलाई बताइराख्न हाम्रो अस्तित्व बाँचिरहँदैन संसारमा। सायद यसैले पनि मृत्युसित डराउँछौँ हामी। धेरैले किताब पढ्नुका विभिन्न कारण बताइरहेको देख्छु। तर मलाई चाहिँ किताब पढ़िरहँदा केही नयाँ कुरो पो थाहा पाइहालिन्छ कि भन्ने लागिरहन्छ। यसैले म किताबको मामिलामा सेलेक्टिव छु। जुनसुकै किताब किनिहाल्दिनँ। र पढ़िहाल्दिनँ पनि। समय खेर गएको जस्तो लाग्छ।
केही महिना अघि, ‘मेडिटेशन’ नाउँ गरेर एउटा कविता फेसबुकमा पोस्ट गरेको थिएँ। एक वरिष्ठ कविले भयानक रस भनेर वर्गीकृत गरिदिए। त्यो पनि एक अनुभूतिकै कुरा थियो, मानिसकै अनुभूतिको। अनि मलाई लाग्छ, सबै लेखन मानिसकै अनुभूतिहरू हुन्। किनकि जीवनसित पराभौतिक चेतना र अनुभूतिहरू पनि छन्। अपवाद स्वरूप, सुकरातको dialog-लाई नकार्दै भए पनि। किनकि, आज पनि अधिकतर मानिस त्यही डायलग-मा विश्वास गर्छन्। सुकरात मुखामुख बसेर बात गर्नुमा विश्वास गर्थे। लेखनको विरोधमा थिए उनी, यसैले भन्ने गर्थे– लेखनले ज्ञानलाई कैदी बनाउँछ।
एथेन्सको अगोरा (agora) एक पब्लिक-स्पेस थियो, जहाँ मानिसहरू बसेर अनेक विषयमा गफ-सफ गर्ने गर्थे। ज्ञानको संवाद त्यसरी हुने गर्थ्यो त्यहाँ। जसरी अठाह्रौँ शताब्दीमा लण्डनका कफी-हाउसहरू मानिसहरूका भेटघाटका लागि सुखद र प्रख्यात ठाउँहरू बनेका थिए। बस त्यस्तै र त्यसरी नै। किनकि “जानिरहनु” जानिनसक्नुको प्रक्रिया हो। जसरी सुकरात भन्ने गर्थे– “the only true wisdom consists in knowing that you know nothing”। यसैले संवादलाई त्यही “जानिरहनु”-को जुक्तिको रूपमा हेरिएको थियो।
मृत्यु र सुकरातको पनि गहिरो सम्बन्ध रहेको छ। उनलाई राजद्रोहको आरोपमा समातियो र सम्झौता कि त निर्वासनका विकल्पहरू दिइयो। उनले विष (hemlock)-को प्याला समाते अनि आफ्ना अनुयायीहरूलाई भने– “Crito, we owe a cock to Asclepius”। एस्क्लिपियस थिए आरोग्यका देवता र सुकरातलाई आफ्नो आरोग्यतामाथि पूर्ण विश्वास थियो। उनले भरजीवन सदाचार र सद्गुणको रक्षा गरेका थिए। बुद्धले जस्तै।
हामीलाई सुकरातको मृत्युसित आह्रिस लाग्छ। उनको मृत्यु र विचारमा सामञ्जस्य थियो। आफ्नो सुखद जीवनका लागि उनले सम्झौता रोजेका थिएनन्। यसपल्ट मलाई यस्तै बोध भयो। कि सुटुक्कको एउटा मृत्यु मरिगइने रहेछ भन्ने डर लाग्यो। मृत्युसित होइन, गुमनाम मर्नुसित।
बल्झेको इतिवृत्त–
यस उपाख्यानको घटना चैं बिजार छ। मेरो आफ्नो वैयक्तिक अनुभूति सल्किउठेको छ यहाँ। बाँटिहिँड्दा अगोरामयी ज्ञानको सञ्चार होला कि लागेको मात्र हो। त्यस्तो नहुन पनि सक्ला।
कुरा गत १६ अप्रेलको हो।
गान्तोकमा असिना-पानी बर्सिएको दिन। गान्तोक मात्रै होइन, सिक्किमका अरू ठाउँहरूमा पनि हावा-पानी चलिरहेको थियो। सरकारले भर्खरै कर्मचारीहरू बिहान १० बजेदेखि बेलुकी ४ बजेसम्म कार्यालयमा तैनाथ रहनु भन्ने हुकुम छाँटिसकेको थियो। यसैले ४ बजेकै छेउछाउ वैरिन थालेको हावा-पानीले हामीलाई (सायद अरूलाई जस्तै) अफिसको करिडरमै रोकेर राखेको थियो। गाड़ी हुनेहरू चिनारू र नजिककाहरू चढ़ाउँदै सुइँ-सुउँ हुइकिँदै गइसकेका थिए। दिवाकर भाइ र म पनि जाने सुर त कस्यौँ, तर छाता एउटै मात्र भएको कारण पाइला अगाड़ि बढ़िरहेको थिएन।
अँध्यारो गहिरिँदै गइरहेको थियो र हामी “जे त होला नि” भन्दै एउटै छातामा कोचारिएर सडकै-सडक लम्किन थाल्यौँ । मेरो देब्रे र दिवाकर भाइको दाहिने कुम भिज्दै गइरहेको थियो। संयोग मिलेर हो कि, केही माथि उक्लिसकेका हाम्रा लागि एउटा सरकारी गाड़ी (बोलेरो) रोकियो। छाता मारेर हामी सेकेन्ड-सिटमा घुस्रियौँ। गाड़ीवाल चालक दयालु लाग्यो हामीलाई। किनकि, यो नै मेरो प्रथमपल्टको भोगाइ थियो कि कसै नचिनेको व्यक्तिले नचिनेको व्यक्तिका लागि गाड़ी रोकिदिएको। नत्र गान्तोकमा मानिसहरू एक्लै हुँइकिन रुचाँउछन्। यहाँका जीवनहरूजस्तै।
गाड़ीले हामीलाई इन्दिरा बाइपासमा उतारिदियो अनि तेर्सै कुदिगयो। बजारसम्म पुग्नका लागि हामी अर्को ट्याक्सीमा चढ्यौँ। देउराली पुग्दा असिनाको टडाक-टुडुक शुरु भइगयो र त्यसको सघनता/आयतन पनि बढ्दै गयो। सिसा गोलाइ मुस्किलले नाघेका थियौँ होला, सड़कमा बगेको असिनाले ट्याक्सीको गतिमा अवरोध ल्याइदियो। र पनि घस्रिँदै लालबजार अघिको ओवरब्रिजसम्म पुग्यो, तर त्यहाँदेखि उँभो चढ्न सकेन र लम्पसार परिगयो। दिवाकर भाइ आरिथाङतिर जाने हुनाले त्यहीँ उत्र्यो। म पनि त्यतै उत्रेर असिना टेक्दै ओवरब्रिज टेक्दै डेञ्जोङ सिनेमातिर लम्किएँ। जाँदा-जाँदै सुपरमार्केटको चेपमा बेचिने फूलहरूबाट श्रीमतीका लागि पहेंलो फूल पनि किनिलगेँ। टाउकोमाथि छाताले छेक्ने काम गरिरहेको भए तापनि घुँड़ादेखि उँधो भने भिजेर लफ्रक्कै भइसकिएको थियो। सडकको अलकत्रामाथि असिनाको सतह बनिसकेको-लाई नाघिजान गाह्रो अति गाह्रो भइरहेको थियो। टेकिजान चैं नसकिने, किनकि असिनामाथि चिप्लिँदो रहेछ।
तर जसो-जसो घर पुगेँ। सबैभन्दा पहिला जुत्ता र त्यसपछि लुगा फेरेँ। जिउ चिसो भएको थियो। स्पोन्डिलाइटिसको रोगीमनुवा म, कपाल धुँदा समेत घिच्रो र टाउको दुख्न लाग्थ्यो। खाना खाइसकेपछि एक ट्याब्लेट सर्दीको दवाई निलेर सुतेँ। केही अन्यथा भएन त्यो रात।
मुखेञ्जी-
रातिको हावा-पानीले बिजुली पनि बुझाएर गएको थियो। अफिस छुट्टी भएका कारण त्यस दिन लुगा धुने काम गरियो। दिउँसोसम्म ठिकठाकै लाग्दैथ्यो, बेलुकीपखदेखि कता-कता ज्वरोको आभास आउन लाग्यो। हड्डीमै जुरुरुरु! टाउको रन्किँदै गइरहेको थियो। घाँटी ओह्रालो छातीतिर चिलाएर गयो; ख्वाक ख्वाक ख्वाक….. खोक्न लागियो। रात बित्न बढ़ो कष्टपूर्ण भयो। त्यो रात मात्र होइन, त्यसपछिका हरेक रातहरू झन्-झन् पीड़ापूर्ण हुनथाल्यो।
छाती दुख्ने, खाना नरुच्ने, गन्ध नआउने, अलिकति पनि चलमलायो कि त सास बढ़ेर आउने….. आदि-आदि खर्पनहरू थपिँदै गइरहे। घरमा जे-जति दवाई थिए, त्यही त्यही निलियो। विशेषगरी सर्दी र ज्वरोका दवाईहरू।
अर्कोतिर, श्रीमती पनि मजस्तै थलिँदै गइन्।
केही जनले सल्लाह दिए— “टेस्ट गरेकै असल हो”। तर….. “जाती भइहालिन्छ कि?”–को सम्भावनाले अटेर गर्दै घरमै बसाइराख्यो। अर्कोतिर “मरिन्छ कि” भन्ने डरले खानु मन नलागे पनि पथ्य थोकहरू पानीले भए पनि निल्न थालियो। र पनि शारीरिक कमजोरीको बोधले मनमा डरको खेती गरिरह्यो। विशेषगरी, सास फेर्न गाह्रो परिरहेको कारण राति निदाइहाल्न चैं डर लाग्ने। निदाएको बेला खुस्किगइन्छ कि भनेर। बाँच्नका लागि त्यस्तो खास औचित्यको तर्क नभए पनि दुई छोरा हुर्किसकेका छैनन्। सानो त झन् ८ वर्ष पनि पुगिसकेको छैन। लियो टाल्सटाय लिखित ‘मानिस कसरी जिउँछन्’ कथा जस्तो पनि हुनसक्छ होला जीवनखेल। तर मानिस भई आइएको अबोधतामा शङ्कै-शङ्काले घेराबन्दी गरिराख्दो रहेछ।
त्यही माथि घाँटीभित्र अल्झिबसेको तर निस्किनहाल्ने ‘कफ’-ले मिनट-मिनटमा खोकाइरहन्थ्यो। श्रीमती पनि घरी घरी खोक्दै “आइय्या.. हौ” भनिरहन्थिन्। आयुर्वेदले बताएको वात, पित्त र कफ-को निवारणार्थ बेलुकी-बेलुकी मेथी, हर्दी र अदुवाको काडा बनाई खाइरहिएकै थिइयो। अर्कोतिर हिया डढेको जस्तो….. एउटा नमिठो बोध पनि थियो घोक्रो ओह्रालो। त्यसैले पो हो कि, अनुहारमा मुर्दारङ्ग चढ्दै गइरहेथ्यो। २३ अप्रेलको रात जस्तो लाग्छ, बाथरुम गएको थिएँ। एक किसिमको सननन भएर आयो। बेसिनको बिट समातेको चैं याद छ, तर होश नफर्किएसम्म, त्यसपछि उताको कुरा याद रहेन। हुनसक्छ, आधा घण्टाभन्दा बेसी नै बाथरुमको भुइँमा लडेँ हुँला। होस फर्किँदा, दाहिनेपट्टि चिसो अनुभत भयो। त्यतापट्टिको लुगा भिजेको थियो। कसो-कसो घस्रिँदै कोठामा आएर टिसर्ट फुकालेँ। त्यसबेला पो थाहा भयो, दाहिनेपट्टिकै टाउकोमा ठूलो टुटुल्का उठेको रहेछ। छाम्दा रगत लाग्यो।
मृत्यु रहस्य सधैँ मेरो जिज्ञासा रहिआएको छ। त्यसैले पो हुनसक्छ– बुद्ध, कृष्णमूर्ति र नागार्जुनहरू पढ्ने र सुन्ने बनायो मलाई। त्यस्तो अनुभूतिकै प्रसङ्गमा मैले प्रथमतः डा. इबेन अलेक्ज्यान्डरको The Proof of Heaven (Hachette/2012) पढ़ेको थिएँ। जहाँ लेखकले कुनै भाइरसका कारण उनी २५ दिनसम्म कोमामा जाँदा अनुभूत गरेका पराभौतिक कुराहरू लेखेका छन्। उनले बताएका छन्– कोमा कालमा उनी जुन मुलुकमा पुगेका थिए, त्यो मुलुक दिव्य थियो। र २५ दिनपछि सांसारिक जीवनतिरै फर्किआउँदा उनलाई दुःख लागेको थियो। किनकि त्यस अनाम मुलुकको तुलनामा संसार दुःखै-दुःखले भरिएको थियो। अर्को कुरो, मृत्युपछि पनि रहिरहने चेतनाले हाम्रो क्षयी ज्यान गैर-चेत भौतिकी हो भन्ने कुरो पनि दर्शाउँछ।
तर मलाई भने मेरो आधा घण्टे बेहोसीमा त्यस्तो कुनै अनुभूत भएन। एउटा अँध्यारोको बोध मात्र थियो त्यो। सायद यसैले कि यहाँ चुकाउन पर्ने लायबिलिटिज अझ बाँकी नै छ।
आइतबार मेरा साड्दाजुहरु (हामी सँगै बस्छौँ) आफ्नो घर रिनाकतिर लागे। घरमा हामी र सालीहरू मात्रै रह्यौँ। उनीहरूकै मानवीय सेवाले हाम्रा ज्यान थेग्दै ल्यायो। त्यस समयसम्म सिक्किममा कोविड रोगीहरूका सङ्ख्या बढ्दै धेरै भइसकेथ्यो।
त्यतिकै ९ दिन बितिगएछ।
दशौँ दिनको बिहान श्रीमती र म सीआरएच (मनिपाल)-तिर लाग्यौँ, आरटी-पीसीआर गर्न। कान्छी साली त्यहीं एमएससी नर्सिङ पढ़िरहेकीले हाम्रो टेस्ट सोचेको भन्दा छिट्टै भयो। र, बेलुकी ७ बजे आएको रिजल्टले हामीलाई कोविड-पोजिटिभ भनी घोषणा गरिदियो। भोलिपल्ट, स्वास्थ्य विभागबाट फोन आयो र केही कुरा सोधियो। हामीले होम आइसोलेसनमा बस्ने मनशाय बतायौँ। त्यसका लागि हामी १७ दिनसम्म घरभित्रै थुनिएर बस्नपर्ने भयो।
सीआरएचका डाक्टरले प्रेस्क्राइब गरेका ओखतीहरू यस्ता थिए– एजिथ्रोमाइसिन ५०० एमजी, डक्सिसिलिन १०० एमजी, जिङ्क ट्याबलेट्स, भिटामिन सी ट्याब्लेट्स, प्यारासिटामोल ५०० एमजी। यसबाहेक दिनमा दुईपल्ट गार्गल गर्नपर्ने, स्टिम गर्नपर्ने र प्रशस्त पानी पिउनुपर्ने।
भोलिपल्ट केटाकेटीहरूलाई पनि कोविड टेस्टका लागि पठाइयो। उनीहरूको रिजल्ट पनि पोजिटिभ निस्क्यो। यो थाहा पाएपछि आमाको अनुहार र आवाजमा चिन्ता झल्किएर आयो। तर उनीहरूलाई चैं हामीलाई जति साह्रो पारेन।
गत ५ अप्रेलमा कोविडको पहिलो खोप लगाएको थिएँ। त्यसैको एउटा आड थियो। त्यै पनि उमेरले छेकेर श्रीमतीले भने खोप लाउन पाएकी थिइनन्। उनको आफ्नै ज्यानको क्षमताले थेग्न पर्ने थियो। जसो-तसो बिमार भोग्दै र थेग्दै लगियो। केही दिनपछि, अचानक खानेकुराको स्वाद फर्किआयो मेरो मुखमा। रुच्चे खोलियो। नाकले गन्ध चैं धेरै कमसल नै थाहा गरिरहेथ्यो। क्वारेन्टिनको समयावधि सकियो। धेरै ठिक भयौँ हामी। अझै पनि श्रीमती बेलाबेला खोकिरहन्छे। तर जिउँदो हुनुको आभास छ हामीलाई।
मृत्योत्तर-
२०२१-को मे (May) महिना लागिसकेको छ। संसारमा दिनहुँ यस कोविडको प्रकोपले मानिसहरूका ज्यान लिइरहेको छ। आशा गरौँ, बितेको अप्रेल महिना जतिको क्रूर छैन होला यो महिना। टीएस इलियटले जस्तै भन्न नपर्ला अब त– “April is the cruellest month” (The Burial of the Dead)। अहिले त फोन र ल्यापटप पनि चलाउन थालेका छौँ। यतिञ्जेल, फेसबुक e-graveyard बनिसकेको रहेछ। दिनभरि नै ‘हार्दिक श्रद्धाञ्जली’-को बर्सात भइरहेको स्थिति रहेछ। केही नयाँ लेख्न भने नसकिरहेको अवस्था त छ नै। किताबहरू पनि छोइएको छैन। ज्यानमा थकान छ। पाखुरा र फिलाहरू सुकेका छन्। अनुहारले पहिलाको दिप्ती हराएको छ। तर पनि मृत्यु धेरै टाढ़ा भागिसकेको आभास पनि छ। मानिस हुनुको बोधार्थतिर फर्किआएको प्रमाणजस्तो।
केही जाती भएपछि फेसबुकमा केही पुराना कविता पोस्ट गरेको थिएँ। कवि भाइ रवि रोदनले म्यासेज गरे त्यतिबेलै– “बिरामी अवस्थामै भए पनि कविता त खत्रै लेख्नुभएछ”। अनि मैले जवाफ दिएको थिएँ–”आफ्नो उपस्थिति दर्साउन त लेख्नैपर्ने रहेछ नि। नत्र त बिर्सिने रहेछ संसारले।” र, रवि भाइले दाँत देखाइरहेको इमोजी पठाएका थिए।
जिउँदो हुनुको बोध आफ्ना लागि मात्र पर्याप्त होइन क्यारे। र त मैले संसारको कुरा गरेँ। संसारले त नसोध्ने रहेछ मानिसलाई। मानिस आफैले नै सोध्नपर्ने रहेछ। यसरी त “म पनि जिउँदो छु है”–को प्रमाण स्वरूप कला र साहित्य पनि हुँदो रहेछ।
मृत्यु अनिवार्य हो जीवनका लागि। बुद्धले त जीवनलाई नै ‘‘मृत्युको तयारी’’ भनिदिएका थिए। मर्नअघि नै मर्न सकिए, निर्वाणको समयमा उनले देखेका ‘जीवन-मृत्युको स्पाइरल’-लाई अङ्गीकार गर्न गाह्रो होला! जलालुद्दीन रूमीले बुझे जस्तै बुझ्न आवश्यक हो यो कुरा–
“Judge a moth by the beauty of its candle.
Shams is invisible because he is inside sight.
He is the intelligent essence
Of what is everywhere at once, seeing.
Die before You Die, The Book of Love, p.124
लाब्रेको माउ मोमको आगोसित आकर्षित हुन्छ। थाहा छैन, त्यसलाई “म मर्दैछु”-को आभास हुन्छ/हुँदैन। र पनि त्यसैमा आफूलाई जलाएरै मार्छ। देख्नेका लागि मोमको उज्यालो सुन्दरता हो। मर्ने, मृत्यु र मार्ने सबै सृष्टिले नै उमारेका परिघटनाहरू हुनपर्छ। सिंहले दाह्रा गाड़ेको मृगको पाठा चिच्याइरहेको हुन्छ। सफारिमा निस्केको पर्यटकको क्यामेराले त्यही दृश्य खिचिरहेको हुन्छ। अलि परबाट हेरिरहेको पाठाकी आमाको मनको घाउ कति गहिरो होला? कसैले बुझिदिएको छ र? दुःखहरूसित हार लागेर कसैले हाम फाल्छ भीरबाट। त्यही भीरको टुप्पोमा सेल्फी खिचिरहेका युगलका लागि त्यति बर्बर हुँदैन त्यो।
सुनेको थिएँ, असमका कुनै भीरमा चराहरू मर्न जान्छन्। उनीहरूले भीरको पत्थरमा आफूलाई ठोक्काएर मार्छन् अरे। त्यसो त जीवनको उद्देश्य नै के होला र? उद्देश्य भनी जुन कुराहरू बोकाइएका छन्, ती पनि यही संसारका मानिसहरूले दिएको बोझसरि हो। जस्तै, घाम झुल्किनको उद्देश्य के हो? हावा चल्नुको उद्देश्य के हो? नदी बगिरहनुको उद्देश्य के हो ? सृष्टिमा त मानिसले सुझाए झैं तर्क र कारण कहाँ छ र? यसैले, दर्शन र सिद्धान्तहरूका सीमान्त छन्। वक्रपथको नियति भोग्न बाध्य छन्।
मृत्यु अज्ञाततिरको यात्रा हो हामीलाई। तर जीवनको विपरीत होइन। यति हो, जिउँदो हुँदाभरि हामीले जीवनलाई उत्कृष्ट बनाउने कला सिक्नुपर्छ। जसलाई हामी महावीर र बुद्धका शिक्षणहरूमा पनि देख्छौँ। एकपल्ट कृष्णमूर्तिलाई पनि सुनौँ न हगि– “If we can know what death is while we are living, then we shall have no problem. It is because we cannot experience the unknown while we are living. It is because we cannot experience the unknown while we are living that we are afraid of it. Our struggle is to establish a relationship between ourselves, which is the result of the known, and the unknown which we call death.” (On Death, p.264/The First and Last Freedom, 2013, Rider Books)।