-योगिता राई, दार्जीलिङ।
कसरी सोच्यौ हँ, तिमीले?
कलमलाई कोर्रा लाउँदैमा
कलम लुरूक्क भएर
ठक्क भाँचिनेछ।
जानिराख।
कलम त मच्चिनेछ अझ
मच्ची-मच्ची उमार्नेछ।
विचारका नुवागी धान
फैलाउनेछ पाखाभरि
जहाँ देखिनेछ तिम्रो
कुरूप अनुहारको बिस्कुन।
धर्मको दलालीकरण,
अधिकारको हलालीकरण
गर्न फिटिक्कै नबिराउने
यस्तै कुरूप अनुहार बोकेर,
अहो! कसरी उभिन सक्छौ तिमी?
इतिहासको सुन्दर फाँटमा?
तिमीले यो पनि जानिराख,
जुन दिन तिमीले
मेरो आकंक्षाको बैँसलाई
कुतकुती लगाएर,
मेरो भावनासँग रास रचाएर,
मेरो सपनालाई दोजिया बनायौ।
अन्तमा फेरि गर्भपात गराएर
आफैलाई उकास्यौ।
हो त्यही दिनदेखि
यो छातीमा
एउटा विस्फोट
भुप्रो अवस्थामा
रहिबसेकोछ।
यतिखेर मलाई यो भुप्रोलाई
साकार रूप दिएर
तिम्रो तानाशाही गुप्ताङ्गमा
खनाइदिएर
नामर्दपनको घोषणा
गरूँ गरूँ लागेको छ।
म जान्दछु
मैले यसो गरे
तिमीले तिम्रो त्यो सब छोप्न
मलाई नै छोप्ने दुष्प्रयास गर्नेछौ।
मलाई मेरो घरको सिकुवानेर
गोली ठोक्नेछौ।
त्यसैले यति पनि जानिराख,
तिमीले त्यसो गरे
तिम्रो नामर्दपनको विज्ञापन
इतिहासले देखाउनेछ।
किनकि इतिहासले तिम्रो
एकेक कर्तुत सीसी क्यामेराले हेर्दैछ।
खबरदार!
यू आर अण्डर सीसीटीभी सर्भिलन्स!
येस यू आर।