गान्तोक, 30 मईः दुई सातासम्मको लकडाउनले पनि कोरोना भाइरसको सङ्क्रमणमा सोचेजस्तो नियन्त्रण नआएपछि सिक्किम सरकारले थप सात दिन लकडाउन बढ़ाएको छ।
आइतवार मुख्यमन्त्री पीएस गोलेको अध्यक्षतामा बसेको उच्चस्तरीय बैठकमा लकडाउन बढ़ाउने निर्णय लिएको हो।
यसपल्टको लकडाउनमा सर्वसाधारणले भोगेका कठिनाइलाई ध्यानमा राखेर सरकारले सौदापात गर्न प्रतिदिन पाँच घण्टाको समयसीमा तय गरेको छ।
यसअघिसम्म लकडाउनअवधि तीन घण्टा सौदापात गर्ने समय निर्धारण गरिएको थियो।
यसपल्ट भने सरकारले राशन दोकान, औषधि दोकान र सब्जी दोकानसँगै मदिरा पसलहरूलाई पनि खोल्ने अनुमति दिएको छ।
भोलि अर्थात् 31 मईदेखि आउँदो 7 जून (सोमवार)-सम्मका लागि घोषित बन्दमा अन्तर-जिल्ला आवगमनमा प्रतिबन्ध लगाइएको छ।
आपत्कालीन सेवा र समाचार सेवाका वाहनहरूबाहेक अन्य कुनै पनि वाहनको आवागमनमा प्रतिबन्ध लगाइएको छ।
गाउँ-बस्तीमा रेड जोन अघोषित क्षेत्रहरूमा कृषिकार्यहरू खेतीपाती,मेलापात गर्न पाइनेछ।
राजधानी गान्तोकको सबैभन्दा बढ़ी भीड रहने ठाउँ कञ्चनजङ्घा शपिङ कम्प्लेक्समा दोकानपाट चलाएर बसेका व्यापारीहरूलाई भने दोकान खोल्नका लागि रेपिड एन्टिजेन टेस्टको नेगेटिभ रिपोर्ट अनिवार्य गरिएको छ।
जति पनि निर्माणका कार्यहरू छन्, त्यसमा जिल्लापालको परामर्श लिई स्थानीय श्रमिक लगाएर गर्न सकिने उल्लेख गरिएको छ।