सिन्कोना विभागले भत्काएको घर विभागले नै बनाइनुपर्ने अनित थापाको निर्देश

0
1675
पीड़ित परिवारहरूसँग कुराकानी गर्दै जीटीए प्रशासक अनित थापा।

दार्जीलिङ, 29 जून : मङ्पू सिन्कोना बगानस्थित जमिनमा बिनाअनुमति घर निर्माण गरेको भन्दै विभागले उक्त घर तोड़फोड़ गरेको घटनाको छानबिन गर्न शनिवार जीटीएका प्रशासक एवं विनयपन्थी गोजमुमोका महासचिव अनित थापा मङ्पू पुगेका थिए।

यसअवसरमा उनले पीड़ित घर परिवार र विभागीय अधिकारीहरू गरी दुवैपक्षको कुरा सुने। यसका साथै थापाले आजै सिन्कोना बगान निर्देशक कार्यालयमा मुख्य प्रबन्धक एवं सह-प्रबन्धक वर्णाली विश्वाससित पनि एक बैठक गरे। बैठकमा विभागले भत्काएको रुपेन छेत्रीको घर विभागले नै निर्माण गरिनुपर्ने निर्देश दिइएको स्वयं अनित थापाद्वारा जारी प्रेस विज्ञप्तिमा बताइएको छ।

बैठकपछि उनले स्थानीय पत्रकारहरूलाई सम्बोधन गर्दै भने, “सिन्कोना विभागले आफ्नो कानून मात्र होइन। तर, यहाँका पुर्खौंदेखि बसोबास गर्दै आइरहेका मानिसहरूको परम्परालाई ध्यान दिनुपर्छ। यहाँ पुर्खौंदेखि सिन्कोनाको जमिनमा बसोबास गर्दै आइरहेका मानिसहरू छन्, जसको कुनै आधिकारिक कागज-पत्र अथवा पर्जापट्टा छैन। यदि विभागले यस प्रकारले सिन्कोनावासीमाथि कारबाही गर्न थाल्यो भने हजारौं सिन्कोनावासीहरू बेघर हुनेछन्। यसैले सिन्कोना विभागले आफ्नो कानून अनि पुरानो समयदेखि सिन्कोनाले आफ्नै प्रकारले चलाउँदै आइरहेको परम्परा दुवैको ध्यान राखेर कार्य गर्नु आवश्यक रहेको छ।

विभागले कानुनी रूपमा घर भत्काउने कार्य गरेको भए तापनि उक्त ठाउँमा लामो समयदेखि बसोबास गरिरहेका रुबेन छेत्री मानवताको आधारमा भने अन्याय भएको उनको भनाइ छ। यसैले उनको घर विभागले नै बनाइदिनुपर्ने निर्देश पनि मैले विभागलाई दिएको छु”, थापाले भनेका छन्।

यसका साथै घर तोड़फोड़को मुद्दामाथि सिन्कोना विभाग र पीड़ित परिवारमाझ भूल बुझाबुझ भएको पनि जीटीए प्रशासकले उल्लेख गर्दै यो विषयलाई लिएर कसैले पनि अशान्ति एवं मतभेद सिर्जना नगरीदिने अपील गरेका छन्।

सिन्कोनावासी र सिन्कोना प्रशासन दुवैपक्ष मिलेर सिन्कोना बगानको भविष्य निर्माण गर्न सकिनेछ। यसैले दुवैपक्षमाझ आपसी तालमेल र सद्भावना हुन अति जरूरी छ। यसैले भविष्यमा फेरि फेरि यस प्रकारको घटना नदोहोरियोस् भन्ने म चाहन्छु”, थापाले विज्ञप्तिमा भनेका छन्, “सिन्कोना विभागले कुनै पनि सिन्कोनावासीलाई अन्याय वा बलपूर्वक कारबाही नगरिदिने तथा सिन्कोनावासीले पनि कुनै राजनीतिक वा सामाजिक शक्तिहरूको सहारा लिएर स्वार्थी कार्यहरू नगरिदिने म अपील गर्दछु। सिन्कोना बाँचे सिन्कोनावासीको भविष्य बाँच्नेछ। भविष्यमा सिन्कोना बगानवासी अनि विभाग दुवैपक्षले यो कुरालाई ध्यान दिने मेरो अनुरोध छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here