सिलगढ़ीमा कोरोना सङ्क्रमित दुईजनाको मृत्यु, शहरमा थप २८ जना सङ्क्रमित

0
1194

सिलगढ़ी, ३० जूनः हिजो अर्थात् सोमबार सिलगढ़ीमा कोरोना सङ्क्रमित थप दुईजनाको मृत्यु भएको छ।

बङ्ग्ला दैनिक उत्तरबङ्ग संवादका अनुसार मृतकमध्ये एकजना पुरुष र एकजना महिला छन्। जानकारीका अनुसार सोमबार उत्तर बङ्गाल मेडिकल कलेज एवं अस्पतालको रेस्पिरेटरी इन्टेन्सिभ केयर युनिट (रिकु)-मा उपचाराधीन अवस्थामा मतिगढ़ानिवासी ४६ वर्षीय व्यक्तिको मृत्यु भएको हो।

उनलाई कोरोना भाइरसको लक्षण देखिएपछि आइतबार राति रिकुमा भर्ना गरिएको थियो। आइतबार राति नै उनको स्वाबको नमूना सङ्ग्रह गरी जाँचका लागि भाइरस रिसर्च एण्ड डायग्नोस्टिक ल्याबरोटरी (भीआरडीएल)-मा पठाइएको थियो। हिजो साँझ उनको मृत्यु भयो भने कोरोना टेस्ट रिपोर्ट पोजिटिभ आएको छ।

अर्कोतिर, हिजै शहरको देशबन्धुपाड़ानिवासी ५१ वर्षीय महिलाको पनि मृत्यु भएको छ। केही दिन अघिदेखि सर्दी र ज्वरोले आक्रान्त भएकी ती महिलाको स्वस्थ धेरै खस्किएपछि हिजो बेलुकी उत्तरबङ्गाल मेडिकल कलेज एवं अस्पताल लगिएको थियो, तर त्यहाँ पुऱ्याएलगत्तै जाँच गरेका चिकित्सकहरूले यी महिलालाई मृत घोषित गरे। त्यसपछि तत्कालै उनको स्वाबको नमूना सङ्ग्रह गरी जाँचका लागि भीआरडीएल पठाइएको थियो भने हिजो राति नै महिला कोरोना टेस्ट पोजिटिभ आएको हो।

जानकारीका अनुसार यी महिलाका पति कोरोना सङ्क्रमित रहेको पुष्टि भएपछि पछिल्लो २६ जूनका लागि मतिगढ़ाको हिमाचल विहारस्थित कोभिड अस्पताल डा. च्याङ सुपर स्पेशिअलिटी अस्पतालमा भर्ना भएका थिए।

मृतक दुवैको अन्तिम संस्कार सरकारी नियमानुसार गरिएको छ। अर्कोतिर, सोमबार रातिसम्म सिलगढ़ीमा कोरोना भाइरसका थप २८ नयाँ मामिला प्रकाशमा आएको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here