50 प्रतिशत यात्री मात्र चढ़ाउन परे भाड़ा डबल लिने

0
1006

दार्जीलिङ, 30 जूनः यात्रीवाहक गाड़ीहरूले निर्धारित भाड़ाभन्दा अधिक असुल गरेको खण्डमा कसैले उजुरी गरे पुलिसले कारबाही गर्ने चेताउनी दिए पनि हिमालयन ट्रान्सपोर्ट को-अर्डिनेशन कमिटीले 50 प्रतिशत मात्र यात्री चढ़ाउन परे डबल भाड़ा नै लिने अड़ान राखेको छ।

यदि यस्तो भाड़ा दिन नचाहे यात्रीहरूले सरकारका अधिकारीहरूसँग नै भेट गरी आफ्नो गुनासो राख्न पर्नेछ। किनभने, हिमालयन ट्रान्सपोर्ट को-अर्डिनेशन कमिटीले भाड़ा अलिक कम्ती गर्नका लागि 70 प्रतिशतको दरले यात्री बोक्न पाउनुपर्छ भन्ने माग राखेको थियो। तर सरकारपक्षले यस्तो माग नमानेपछि जनताको समस्या सुल्झाउने दायित्व पनि सरकारकै हो भन्ने ट्रान्सपोर्ट एसोसिएशनको मत छ।

रकारको नयाँ दिशानिर्देशअनुसार, 1 जुलाईदेखि यात्रीवाहक गाड़ीहरूले 50 प्रतिशतको दरले यात्री बोक्न पाउनेछन्। अर्कोतिर, भाड़ा विषय लिएर आरटीओ कार्यालयसित अझै अर्को बैठक हुने भएको छ।

यसैबिच दार्जीलिङ पुलिसले गाड़ीहरूले अधिक भाड़ा लिएको खण्डमा कसैले उजुरी गरे, त्यसको आधारमा उक्त गाड़ी चालकविरुद्ध कारबाही गर्ने पनि चेताउनी दिएको छ।

साथै भ्याक्सिन लगाएका चालकहरूलाई मात्रै गाड़ी चलाउने अनुमति प्रदान गरिने भएको छ।

यात्रीवाहक गाड़ीहरूले 50 प्रतिशतको क्षमतामा यात्री चढ़ाएर गाड़ी चलाउन सक्ने विषय लिएर नै बुधबार दार्जीलिङ सदर ट्राफिक पुलिसले मोटर वेहिकल विभाग, दार्जीलिङका विभिन्न सिण्डिकेटका गाड़ी चालकहरूसित एक बैठक गरेको थियो।

यस बैठकपछि पत्रकारहरूसित कुराकानी गर्दै दार्जीलिङ सदर ट्राफिक पुलिसका उप-अधीक्षक अरविन्द अधिकारीले भने, “सरकारको नयाँ दिशानिर्देशअनुसार, भोलि 1 जुलाईदेखि राज्यमा यात्रीवाहक गाड़ीहरूले 50 प्रतिशतको दरले यात्री बोक्न सक्नेछन्। तर, भ्याक्सिन नलगाएका गाड़ी चालकहरूले गाड़ी चलाउन पाउने छैनन्। किनभने, कोविड-19-को महामारी अहिले पनि धेरै मात्रामा छ, तरै पनि सरकारले धेरै कुरामा छुट दिने कार्य गरेको छ। यस्तोमा जनता स्वयं सचेत भएर गाड़ीहरूमा पनि भीड़सित नचढ़ेको नै उचित हुनेछ। किनभने, गाड़ीमा पनि सामाजिक दूरीको नियमलाई कठोरतासित पालन गर्न सके कोरोना सङ्क्रमण सर्ने सम्भावना धेरै हदसम्म कम्ती हुनसक्छ।”

सैले गाड़ीमा चढ़्ने यात्रीहरूले पनि आफ्नो सुरक्षाका लागि सामाजिक दुरी बनाएमा राम्रो हुने साथै मास्क आदि पूर्ण नियमसित लगाएमा असल उनको भनाइ छ।

पुलिस उप-अधीक्षक अधिकारीले थपे, “गाड़ीहरूले पनि गाड़ीमा 50 प्रतिशतको दरले मात्रै यात्री चढ़ाएको असल हुनेछ।”

यदि गाड़ीमा 50 प्रतिशतको दरले मात्रै यात्री चढ़ाउनु हो भने भाड़ा के हुन्छ? भन्नेबारे प्रश्‍न गर्दा उनले भने, “भाड़ा निर्धारण गर्ने जिम्मेवारी पुलिसको होइन। यसबारे सिण्डिकेटहरूको एक बैठक शीघ्रै मोटर वेहिकल विभागसित हुने भएको छ।”

यसैबिच, हिमालयन ट्रान्सपोर्ट को-अर्डिनेशन कमिटीका महासचिव परशु हिङमाङसित प्रश्‍न गर्दा उनले 50 प्रतिशतको दरले यात्री चढ़ाउनु अनि भाड़ा पनि नबढ़ाउनु भन्ने कुरालाई कदापि स्वीकार गर्न नसकिने बताए।

“दार्जीलिङदेखि सिलगढ़ीको भाड़ा 200 रुपियाँ छ अनि 5 जना यात्री चढ़ाएर सिलगढ़ी गए, एउटा गाड़ीले केवल 1 हजार रुपियाँ आय गर्छ। तर यसको ठीक विपरीत गाड़ीमा पेट्रोल हाल्नका लागि 16 सय रुपियाँभन्दा अधिक पर्छ”, उनले थपे, “यस्तो अवस्थामा गाड़ी कसरी चलाउन सकिन्छ? यसैले सिलगढ़ीको भाड़ा 200-को सट्टा 400 रुपियाँ हुनेछ अनि लेबोङको भाड़ा 25 रुपियाँको सट्टा 50 रुपियाँ हुनेछ।”

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here