
सिलगढी, २९ जून : सिक्किमका साहित्यकार के. एन. शर्मालिखित पुस्तक सङ्क्षिप्त नेपाली समानार्थी कोशको २८ जूनका दिन उत्तरबङ्ग विश्वविद्यालय नेपाली विभागको सङ्गोष्ठीकक्षमा लोकार्पण भएको छ ।
लोकार्पण कार्यक्रमलाई उत्तरबङ्ग विश्वविद्यालयका नेपाली विभागाध्यक्ष प्रा. डा. सञ्जय राईले अध्यक्षता गरेका थिए भने प्रमुख अतिथिका रूपमा प्रा. डा. घनश्याम नेपाल तथा विशिष्ट अतिथिका रूपमा प्रा. डा. मोहन पी. दाहाल अनि डा. रुद्र पौडेल उपस्थित थिए ।
त्यसैगरी अन्य अतिथिहरूमा लोकार्पित पुस्तकका लेखक के. एन. शर्मा, डा. नरेशचन्द्र खाती, डा. पुष्कर पराजुली, डा. पारसमणि दङ्गाल अनि डा. बासुदेव पुलामी थिए ।
लोकार्पित पुस्तकमाथि बोल्दै प्रमुख अतिथि प्रा. डा. घनश्याम नेपालले कोश लेखनका विविध पद्धति एवम् दिशामाथि प्रकाश पार्दै के. एन. शर्माको कोश लेखनमा मौलिकता रहेको बताए ।
साथै उनले नेपाली कोश लेखन एवम् निर्माण परम्परामा कोशकार शर्माको अतुलनीय योगदान रहेको बताए । प्रा. नेपालले के. एन. शर्माको साहित्यिक व्यक्तित्वमाथि प्रकाश पार्दै उनको साहित्यिक साधनाको प्रशंसा गरे ।
विशिष्ट अतिथि प्रा. डा. मोहन पी. दाहालले सङ्क्षिप्त नेपाली समानार्थी कोशको प्रशंसा गर्दै यस क्षेत्रमा कोशकार के. एन. शर्माले पुऱ्याएका योगदानबारे अवगत गराए ।
अर्का विशिष्ट अतिथि डा. रुद्र पौडेलले नेपाली भाषामा कोश निर्माणको चुनौतीपूर्ण क्षेत्रमा रहेको रिक्ततालाई के. एन. शर्मालिखित यस सङ्क्षिप्त नेपाली समानार्थी कोशले पुर्ने कार्य गरेको बताए ।
यस क्षेत्रमा अझ धेरै कार्य गरिनुपर्ने आवश्यकता डा. पौडेलले शोधार्थीहरूसँग साझा गरे ।
अतिथि डा. पुष्कर पराजुलीले कार्यक्रममा आफ्नो मन्तव्य राख्दै लेखपढका दुइटा दिशा रहेको उल्लेख गरे ।
उनका अनुसार लेखपढको पहिलो दिशा आफ्ना लागि अर्थात जागिर पाउनु हो भने दोस्रो दिशा समाजका लागि हो ।
के. एन. शर्माको लेखपढ दोस्रो परिपाटी अर्थात समाजका लागि रहेको प्रा. डा. पराजुलीको भनाइ थियो ।
लेखक के. एन. शर्माले कार्यक्रममा आफ्ना कुरा राख्दै नेपाली भाषाको व्यावहारिकता, मौलिकता, क्रियापदका विशेषता आदि विषयबाहेक मगर भाषाबारे पनि केही तथ्य अघि सारे ।
कार्यक्रम अध्यक्ष प्रा. डा. सञ्जय राईले आफ्नो अध्यक्षीय सम्बोधनमा नेपाली विभागले यस पुस्तकको लोकार्पण गर्न पाउनु एउटा सौभाग्य भएको बताए ।
शोधार्थी विवेक सार्कीले स्वागत सम्बोधन तथा शोधार्थी ज्ञानेन्द्र ठकुरीले धन्यवाद ज्ञापन गरेको यस लोकार्पण कार्यक्रमलाई शोधार्थीद्वय शिवम् शर्मा र मायादेवी शर्माले सञ्चालन गरेका थिए ।
कार्यक्रममा नेपाली विभागका शोधार्थीहरूका बाक्लो उपस्थिति थियो ।