स्थायी राजनीतिक समाधान छैटौं अनुसूचीभन्दा माथिको हुनुपर्छ : गोरामुमो

0
1445
गोरामुमो नेता वाई लामा।

दार्जीलिङ, 30 जुलाई : सोमवार सांसद राजु विष्टले संसदमा दार्जीलिङ समस्याको स्थायी राजनीतिक समाधानको मुद्दा उठान गरेकोमा  गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो)-ले उनीप्रति आभार प्रकट गरेको छ।

हिजो विष्टले स्थायी राजनीतिक समाधानको मुद्दालाई उठान गरेलगत्तै बेलुकी गोरामुमो अध्यक्ष मन घिसिङले एक प्रेस विज्ञप्तिमार्फत् ‘मुद्दा उठानका लागि’ आभार प्रकट गर्दै  चाँड़ोभन्दा चाँड़ो स्थायी राजनीतिक समाधान हुने कुरामा विश्वास व्यक्त गरेका थिए।

मङ्गलवार यसैलाई लिएर गोरामुमो केन्द्रिय कार्यालय प्रवक्ता वाई लामाले पत्रकारहरूलाई सम्बोधन गर्दै सांसद राजु विष्टप्रति आभार प्रकट गर्नका साथै स्थायी राजनीतिक समाधानका लागि यथोचित पहल गरिदिने माग पनि गरे।

“दार्जीलिङ पहाड़को स्थायी राजनीतिक समाधान भनेकै गोर्खाल्याण्ड हो। हाम्रो उद्देश्य नै गोर्खाल्याण्ड हो”, लामाले थपे, “तर आजको दिनमा हामी गोर्खाल्याण्डसम्म पुग्नसकेनौं भन्यौं भने जीटीएजस्तो असंवैधानिक व्यवस्थालाई हटाएर संविधानभित्रको छैटौं अनुसूचीभन्दा  मुनिको होइन तर माथिको व्यवस्था  लागू होस् भन्ने हाम्रो आग्रह छ।”

यी गोरामुमो नेताले आफूहरूले  अन्तिम लक्ष्य गोर्खाल्याण्ड रहेको र यसैका लागि राजु विष्टलाई दार्जीलिङबाट जिताएर संसदमा पठाएको बताए। यसका साथै उनले राजु विष्टले लगातार दार्जीलिङका  मुद्दाहरू संसदमा उठाइरहेकोले गोरामुमो सांसदप्रति खुशी र सन्तुष्ट रहेको पनि बताए भने स्थायी राजनीतिक समाधानका लागि ठोस कदम उठाउने आशा पनि गरे।

अर्कोतिर, उनले स्थायी राजनीतिक समाधानका लागि बाधकको रूपमा असंवैधानिक जीटीए रहेको भन्दै यसलाई यथाशीघ्र भङ्ग गर्नका लागि सांसदले भारत सरकारको ध्यानाकर्षण गराउनुपर्ने माग गरे।

यसैबीच उनले स्थायी राजनीतिक समाधानको मुद्दा संसदमा उठाउन गर्नुपर्ने माग गर्दै गोरामुमो अध्यक्ष मन घिसिङले केही दिनअघि सांसद विष्टलाई गरेको पत्राचारको प्रसङ्गलाई पनि अघि राखे।

“एकजना सांसदले सदन शुरु भएको एक महिनाभित्रमा दार्जीलिङका लोकतन्त्रको मुद्दा,  चियाश्रमिकहरूको न्यूनतम रोज वृद्दि लागूको मुद्दा, रेलवेका ससाना कुराहरूदेखि लिएर दार्जीलिङ विविध मुद्दालाई उनले सदनमा उठाए। पहिलोपटक हाम्रो जीवनमा एकजना सांसदले दार्जीलिङका मुद्दाहरूलाई उठाएको अनुभव गरेका छौं”, उनले थपे, “तर हामीले जुन लक्ष्य र भिजन राखेर उनलाई संसदमा पठाएका थियौं, त्यो विषयलाई कृपया यथाशीघ्र सदनमा उठाइदिने आग्रह गर्दै पत्राचार गरेका थियौं। त्यसैअनुरूप हिजो उनले केन्द्र सरकारको ध्यानाकर्षण गराउँदै यो मुद्दा उठाउनु भयो। यसका लागि पार्टी अध्यक्ष मन घिसिङले सांसदप्रति आभार प्रकट गरेका छन्।”

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here