कालेबुङ, ३० जुलाईः कालेबुङबाट क्रान्तिकारी मार्क्सवादी कम्युनिस्ट पार्टी (क्रामाकपा) छाड्नेहरूका सङ्ख्या बढ़्दै गइरहेको छ।
यसैक्रममा आज टिस्टा शाखा ६ तथा नाजोक शाखाबाट २ गरी कुल ८ कार्यकर्ताले क्रामाकपाबाट राजीनामा दिएका छन्।
राजीनामा दिनेहरूमा रामबहादुर सुब्बा, सुकबहादुर भुजेल, मारमित लेप्चा, शिला प्रधान, दावा नर्बु शेर्पा, हेमन्त प्रधान, सीमा प्रधान र मिना भुजेल छन्।
उनीहरूले पछिल्लो विधानसभा चुनाउमा आफ्नो उम्मेदवारिता फिर्ता लिँदै भारतीय जनता पार्टीलाई सघाउने क्रामाकपाको निर्णय आफूहरूलाई ठीक नलागेकाले आज पार्टीबाट राजीनामा दिएको खुलाए।
उल्लेखनीय छ, पछिल्ला केही दिनयता कालेबुङबाट एकपछि अर्काले क्रामाकपाबाट राजीनामा दिइरहेका छन्।
केही दिन अघि मात्र क्रामाकपा कालेबुङ टाउन जोनल कमिटीकी अध्यक्षा तुलसी राई र सचिवा गीताञ्जली खड़्कासहित ६ जनाले राजीनामा दिएका थिए। यसभन्दा अघि नै कालेबुङ आञ्चलिक कमिटीका अध्यक्ष किशोर प्रधान र समन्वयक विक्रम छेत्रीले क्रामाकपा छाड़िसकेका छन्।