स्थायी राजनीतिक समाधानका लागि गृह मन्त्रालय सक्रियः कैलाश विजयवर्गीय

0
1222

दार्जीलिङ, 30 अगस्तः दार्जीलिङ पहाड़मा यतिखेर भारतीय जनता पार्टीको इमारदारिता र भूमिकालाई लिएर शङ्का बाक्लिरहेकै छ।

यो शङ्का भनेको सङ्कल्प-पत्रमा समाविष्ट गोर्खाहरूका दुवै मुद्दालाई सम्बोधन गर्नमा भाजपाले देखाइरहेका आनाकानीलाई लिएर हो।

अझ केही दिनअघि भाजपाकै मुख्य घटक दल विमलपन्थी गोजमुमोका महासचिव रोशन गिरीले भाजपाप्रतिको असन्तुष्टि मिडियामा ल्याएपछि यो शङ्कालाई बल पुगेको छ। किनभने भाजपाको सबैभन्दा नजिकको दल भनेकै विमलपन्थी मोर्चा नै हो।

तर, भाजपाका राष्ट्रिय महासचिव एवं बङ्गाल प्रभारी कैलाश विजयवर्गीयले भने स्थायी राजनीतिक समाधानका लागि गृह मन्त्रालय सक्रिय रहेको दावी गरेका छन्।

आज सिलगढ़ीस्थित पार्टी कार्यालयमा पत्रकारहरूलाई सम्बोधन गर्दै उनले यस्तो दावी गरेका हुन्।

यी भाजपा नेताका अनुसार गृह मन्त्री अमित शाह विरामी बनेपछि यस दिशामा केही शिथिलता आएको छ। तर भाजपा दार्जीलिङ पहाड़को समस्याको अतिशीघ्र राजनीतिक समाधानका लागि प्रतिबद्ध छ।

विजयवर्गीयका अनुसार पछिल्लोपटक गोर्खा जनमुक्ति मोर्चा पहिलो खेमाका अध्यक्ष विमल गुरुङले यसै मुद्दालाई लिएर गृह मन्त्री अमित शाहसँग भेट पनि गरेका थिए।

स्थायी राजनीतिक समाधानका लागि सबै पक्षसँग वार्ता गरिने तथा यसको हल निकाल्ने पनि कैलाश विजयवर्गीयले बताएका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here