गोरामुमो छाड़ेका प्रमोष्कर ब्लोनले भने-अजय एड्वर्डको नेतृत्वमा नयाँ पार्टी खोलिनेछ

0
1021

दार्जिलिङ, ३० अगस्तः अजय एड्वर्डले गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो)-बाट राजीनामा दिएपछि उनलाई पछ्याउँदै अन्यले पनि राजीनामा दिन शुरू गरेका छन्।

आज दार्जिलिङ ब्राञ्च कमिटीका प्रवक्ता प्रमोष्कर ब्लोन र गोर्खा राष्ट्रिय भूतपूर्व सैनिक सङ्गठनका कार्यकारी अध्यक्ष रिङ्गा तामाङले पनि राजीनामा दिएका छन्।

यसैबिच, प्रमोष्कर ब्लोनले बताएअनुसार अब राजीनामा दिने क्रम शाखा प्रशाखाहरूबाट पनि शुरू हुनेछ। अर्थात् उनको भनाइअनुसार धेरैले गोरामुमो छाड़्ने छन्।

अर्कोतिर, उनले पहाड़मा अजय एड्वर्डमा नेतृत्वको चाँडै नयाँ पार्टी खोलिनेछ। यद्यपि उक्त पार्टी कहिले खोलिने र यसको नाम के हुनेछ भन्नेबारे उनले आज खुलस्त पारेनन्। समय आएपछि नै बताउने उनको भनाइ छ।

नयाँ पार्टीको मुद्दा राष्ट्रिय स्तरमा स्थायी राजनीतिक समाधान र क्षेत्रीय स्तरमा दार्जिलिङ पहाड़लाई राम्रो बनाउने रहने पनि ब्लोनले जानकारी गराएका छन्।

यति मात्र होइन, गोरामुमो छाड़ेपछि पनि आफूहरू केन्द्रमा सत्तासीन दल भाजपाले नै स्थायी राजनीतिक समाधान गर्नेछ कुरामा भन्ने विश्वास रहेको र स्थायी राजनीतिक समाधान छैटौँ अनुसूचीभन्दा माथिकै व्यवस्था हुनुपर्ने टेकमा अडिग रहेको पनि स्पष्ट पारे।

“हामीले गोरामुमो पार्टी छाड़ेका हौँ। तर, न पीपीएसमाथि हाम्रो विरोध छ, न त केन्द्र सरकारमाथि नै”, उनले थपे, “अजय एड्वर्ड, प्रमोष्कर ब्लोन गोरामुमो पार्टीमा नहुँदा भाजपाले पीपीएस दिँदैन भन्नु ठूलो हास्यास्पद कुरा हो। हाम्रो केही पनि विरोध छैन यसमा।”

अर्कोतिर, गोरामुमोको एक मुख्य भ्रातृ सङ्गठन गोर्खा राष्ट्रिय भूतपूर्व सैनिक मोर्चाका कार्यकारी अध्यक्ष रिङ्गा तामाङले पनि पार्टीबाट राजीनामा दिएका छन्।

यसका साथै उनले अजय एड्वर्डलाई नै साथ दिने पनि घोषणा गरेका छन्।

तामाङले आफूलाई मधुमेहका रोगी बताउँदै यस्तो अवस्थामा कुनै समस्याको भार लिन नचाहेको पनि जनाए।

साथै उनले अजय एड्वर्डलाई भने साथ दिने पनि घोषणा गरे।

तामाङले भने, “केही दिनअघि गोर्खा राष्ट्रिय भूतपूर्व सैनिक मोर्चाका केही सदस्यलाई गोरामुमो अध्यक्ष मन घिसिङले बोलाएर यो सङ्गठनलाई विघटन गर्ने बताएका थिए। त्यसैकारण विघटन हुने सङ्गठनमा बसेर कुनै फाइदा नहुने देखेर नै मैले आफै राजीनामा दिने निर्णय लिएको हो।”

उनले पार्टी अध्यक्षलाई राजीनामाको पत्र नदिने पनि बताएका छन्। उनले भने, “अजय एड्वर्डले हाम्रो गाउँ-समाजका लागि धेरै कार्य गरिदिएका छन्, यसैले आगामी दिनमा अजय एड्वर्डलाई नै साथ दिएर अघि बढ्नेछु।”

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here