साहित्य परिक्रमाको शताब्दी प्रकरण सम्पन्न

0
1559
साहित्य परिक्रमाको शताब्दी प्रकरणमा उपस्थित साहित्यकारहरू। 

बाग्राकोट, 30 सेप्टेम्बर : पश्चिम डुवर्सको बाग्राकोटमा आइतवार साहित्य परिक्रमा परिवारले विशेष समारोहबीच शतकीय प्रकरण आयोजन गऱ्यो। बाग्राकोटको भानुमैदानस्थित सामुदायिक भवनमा सम्पन्न समारोहको पहिलो सत्रमा साहित्य परिक्रमाको शतकीय प्रकरण विशेषाङ्क लोकार्पण गरियो। दोस्रो सत्रमा कविगोष्ठी सम्पन्न भयो। अजय खड्काले सञ्चालन गरेको पहिलो सत्रलाई बद्रीनारायण प्रधान स्मृति प्रतिष्ठानका पूर्व अध्यक्ष जेबी छेत्रीले अध्यक्षता गरेका थिए।
डुनेसाविस अध्यक्ष सितम मोक्तान, व्याकरणविद् विष्णु शर्मा अधिकारी, कथाकार राजेन मोक्तान, शिक्षिका गङ्गादेवी शर्मा अतिथि रहेको पहिलो सत्रमा वरिष्ठ साहित्यकार मोहन ठकुरी प्रमुख अतिथि, प्रा. नवीन पौड्याल विशिष्ट अतिथि थिए।
साहित्य परिक्रमाका संस्थापक सदस्य तथा युवा समालोचक रूपेश शर्माले स्वागत मन्तव्य राखेको पहिलो सत्रमा 2016 नर्थइस्ट गट ट्यालेन्टका विजेता प्रकाश सुन्दासले स्वागत गीत प्रस्तुत गरे।साहित्य परिक्रमाले नयाँ र पुराना पुस्तालाई एक मञ्चमा ल्याएर सामाजिक सरोकारमा सामेल हुन प्रोत्साहित गर्दैआएको छ”- स्वागत मन्तव्यको क्रममा रूपेश शर्माले भने।
शतकीय प्रकरण विशेषाङ्क लोकार्पण भएपछि साहित्य परिक्रमामाथि प्रा. नवीन पौड्यालले वार्ता प्रस्तुत गरे। उनले वार्ता प्रस्तुत गर्ने क्रममा डुवर्सेली साहित्यको प्रमुख विशेषताको रूपमा प्रगतिशील  रहेको बताए। साहित्य परिक्रमाका मूल स्तम्भद्वय अजय श्रेष्ठ र गणेश बस्नेतलाई सम्मान जनाइएपछि व्याकरणविद् विष्णु शर्मा अधिकारीले साहित्य परिक्रमाले डुवर्सकै साहित्यमा योगदान पुऱ्याउँदै आएको बताए।
साङ्गीतिक कार्यक्रमसमेत समावेश रहेको पहिलो सत्रलाई वरिष्ठ साहित्यकार मोहन ठकुरीले सम्बोधन गर्दै डुवर्सको साहित्यिक माहौललाई फाँटिलो बनाउन साहित्य परिक्रमाले निरन्तर कार्य गर्दै आएको बताए। पहिलो सत्रलाई समापन गर्ने क्रममा अध्यक्षीय सम्बोधन अवधि जेबी छेत्रीले साहित्य परिक्रमाले प्रकरण अभियानलाई जारी राख्दै आएकोले शतकीय प्रकरणमा आइपुगेको बताए। दोस्रो सत्र वरिष्ठ साहित्यकार नरबहादुर दाहालको अध्यक्षतामा सम्पन्न भयो।
वरिष्ठ कवि ज्ञानेन्द्र खतिवड़ा प्रमुख अतिथि रहेका दोस्रो सत्रमा वरिष्ठ कवि विचन्द्र प्रधान, डुवर्स नेपाली साहित्य विकास समितिका मूलसचिव रविन खवास, डुवर्सका कवि इन्द्रबहादुर गुरुङ, गजलकार सरिता समदर्शी, दीपक बुढाथोकी, छेवाङ योञ्जन, वेगवसन्त थापा, इन्द्र गिरी, मणिकुमार प्रधान, अनन्त श्रेष्ठ, कुमार छेत्री, खड्गराज गिरी, अबीर खालिङ, सूर्य राई राखलीले कविता वाचन गरे। जाति र भाषा नङ र मासुजस्तो  रहिआएको बताउँदै भाषासाहित्यको विकास साहित्यकारहरूको सीमित प्रयासबाट सम्भव नरहेको र त्यसमा समाजका सबै तप्काको सरोकार रहनुपर्ने कुरो प्रमुख अथितिका रूपमा कवि ज्ञानेन्द्र खतिवड़ाले राखे।
साहित्यिक भेटघाट कार्यक्रमले शतकीय प्रकरण पूरा गर्नु असामान्य घटना रहेको कुरा दोस्रो सत्रमा अध्यक्षीय सम्बोधनको क्रममा साहित्यकार नरबहादुर दाहालले राखे।
आजको कार्यक्रमले बाग्राकोटमा बद्रीनारायण प्रधान जन्मजयन्तीपछि अर्को साहित्यिक जमघट भएको देखिन्थ्यो। जहाँ स्थानीय साहित्यप्रेमीलगायत डुवर्स, सिलगढी, पहाड र असमका कविसाहित्यकारहरू भेला भएका थिए।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here