बाबरी मस्जिद मामिलामा फैसला, सबै आरोपी आरोपमुक्त

0
970

लखनउ, 30 सेप्टेम्बरः बाबरी मस्जिदको ढाँचा भत्काएको मामिलामा 28 वर्षपछि सीबीआईको स्पेशल कोर्टले आज फैसला सुनाएको छ।

लखनउमा सीबीआईको विशेष अदालतका न्यायाधीश एसके यादवले 2000 पृष्ठको फैसला सुनाउँदै राम मन्दिर आन्दोलनका प्रमुख अनुहार लालकृष्ण आडवाणी, मुरली मनोहर जोशी, उमा भारती अनि कल्याण सिंहसमेत सबै 32 आरोपीलाई आरोपमुक्त गरेका छन्।

यस मामिलामा 48 जना व्यक्तिमाथि आरोप लगाइएको थियो, जसमध्ये 16 जनाको अगावै मृत्यु भइसकेको थियो। फैसला सुनाउने न्यायाधीश एसके यादवले आजै अवकाशग्रहण गर्दैछन्।

स्पेशल कोर्टले आफ्नो फैसलामा भनेको छ, “बाबरी मस्जिद विध्वंसको घटना पूर्व नियोजित थिएन। यो अचानक भएको थियो।’’

यसैगरी कोर्टले सीबीआईका धेरै साक्ष्यलाई अस्वीकार मात्र गरेन तर केही साक्ष्यमाथि प्रश्न पनि उठाएको छ।

कोर्टका अनुसार यस मामिलामा जे जति साक्ष्य छ, ती सबै साक्ष्य आरोपीहरूलाई आरोपमुक्त गर्न पर्याप्त छन्।

अर्कोतिर, न्यायाधीश यादवले विभिन्न अखबरमा छापिएका खबरहरूलाई पनि साक्ष्य मानेनन्। साथै भिडियो क्यासेटको दृश्य पनि स्पष्ट नरहेको बताए।

उल्लेखनीय छ, 6 दिसम्बर 1992 –का दिन बाबरी मस्जिदको विवादित ढाँचा भत्काएको मामिलामा कुल 48 जनालाई आरोपी बनाइएको थियो। यद्यपि 16 जनाको अगावै मृत्यु भएकाले 32 जना मात्र जीवित छन्।

यी थिए 32 आरोपी

लालकृष्ण आडवाणी, मुरली मनोहर जोशी, कल्याण सिंह, उमा भारती, विनय कटियार, साध्वी ऋतम्भरा, महन्त नृत्य गोपाल दास, डा. राम विलास वेदान्ती, चम्पत राय, महन्त धर्मदास, सतीश प्रधान, पवन कुमार पाण्डेय, लल्लु सिंह, प्रकाश शर्मा, विजय बहादुर सिंह, सन्तोष दुबे, गान्धी यादव, रामजी गुप्ता, ब्रज भूषण शरण सिंह, कमलेश त्रिपाठी, रामचन्द्र खत्री, जय भगवान गोयल, ओम प्रकाश पाण्डेय, अमरनाथ गोयल, जयभान सिंह पवैया, साक्षी महाराज, विनय कुमार राय, नवीन भाइ शुक्ला, आरएन श्रीवास्तव, आचार्य धर्मेन्द्र देव, सुधीर कुमार कक्कड़ र धर्मेन्द्र सिंह गुर्जर।

फैसला ऐतिहासिकः लालकृष्ण आडवाणी

बाबरी मस्जिद विध्वंस मामिलामा सीबीआईको स्पेशल कोर्टको फैसलामाथि भाजपाका दिग्गज नेता एवं मामिलाका आरोपीमध्ये एक लालकृष्ण आडवाणीले हर्ष प्रकट गरेका छन्।

एक भिडियो सन्देशमा आडवाणीले कोर्टको फैसलालाई महत्त्वपूर्ण एवं ऐतिहासिक बताएका छन्। उनले जय श्री रामको नारा पनि लगाए।

कोर्टको फैसलालाई उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ र रक्षा मन्त्री राजनाथ सिंहले सत्यको जीत बताएका छन्। त्यहीं राष्ट्रिय स्वयंसेवक सङ्घले पनि कोर्टको फैसलालाई स्वागत जनाएको छ।

यसैगरी बाबरी मस्जिदका पक्षकार इकबाल अन्सारीले कोर्टको फैसलालाई सम्मान गर्ने बताएका छन्।

अदालतका लागि आज कालो दिनः ओवैसी

सांसद एवं एआईएमआईएम पार्टीका प्रमुख असदुद्दीन ओवैसीले बाबरी मस्जिद विध्वंस मामिलामा कोर्टले सुनाएको फैसलामाथि तीखो प्रतिक्रिया जनाएको छ।

यस फैसलामाथि प्रतिक्रिया व्यक्त गर्दै अदालतका लागि आज कालो दिन रहेको बताए। साथै फैसलामाथि प्रश्न उठाउँदै भने, “के जादुले मस्जिद भत्कियो?”

अर्कोतिर उनले सीबीआई कोर्टको फैसलालाई ‘अन्याय’-को संज्ञा दिँदै भने-, “भारतीय मुस्लिमको रूपमा आज मैले अपमान, शरम र असहाय महसुस गरिरहेको छु, यस्तै अपमान, शरम र असहाय 1992 मा युवावस्था छँदा पनि महसुस गरेको थिए।

उनले यो फैसलालाई चुनौती दिनका लागि अल इण्डिया मुस्लिम पर्सनल ल बोर्डसँग अपील पनि गरेका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here