तृणमूल र विनयपन्थी गोजमुमो एउटै मञ्चमा, अरुण विश्वासले भने – पहाड़मा शान्ति र विकास मुख्यमन्त्रीले ल्याएकी हुन्

0
1685
खरसाङमा सम्पन्न एक कार्यक्रमलाई सम्बोधन गर्दै राज्यका पीडब्ल्यूडी मन्त्री अरुप विश्वास।

खरसाङ, 30 अक्टोबर : राज्यकी मुख्यमन्त्री एवं तृणमूल कङ्ग्रेस प्रमुख ममता ब्यानर्जी  र तृणमूल सरकार कम्ती बोल्ने तर काम र विकास भने धेरै गर्ने गरेको राज्यका पीडब्ल्यूडी मन्त्री अरूप विश्वासले दाबी गरेका छन्।

मङ्गलवार खरसाङको नयाँबजारस्थित कम्युनिटी हलमा सम्पन्न एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री विश्वासले यस्तो दाबी गरेका हुन्। कार्यक्रमलाई उनले अराजनीतिक र चाड़पर्वको भेटघाट कार्यक्रमबताए तापनि आफ्नो भाषणमा विश्वासले तृणमूल कङ्ग्रेसलाई फाइदा पुग्ने राजनीतिक कुराहरू अघि राख्नमै धेर समय खर्चेका थिए।
यो कार्यक्रमलाई हिल तृणमूल  कङ्ग्रेसले आयोजन गरेको थियो, जसमा गोर्खाल्यान्ड टेरिटोरियल एड्मिनिस्ट्रेशन (जीटीए)-को बोर्ड अव् एड्मिनिस्टेटर (बीओए) -का अध्यक्ष विनय तामाङ, उपाध्यक्ष अनित थापा तथा नगरपालिकाका अध्यक्षको पनि उपस्थिति थियो। विश्वासले गोजमुमो र हिल तृणमूल कङ्ग्रेसकाहरू एकैसाथ रहेका खुशी प्रकट गरे। साथै पहाड़मा शान्ति र विकास राज्यकी मुख्यमन्त्रीले ल्याएको दाबी गरे। उनी (मुख्यमन्त्री) पहाड़को विकास र शान्तिका लागि तत्पर छिन्। आज पहाड़का चारैवटा  नगरपालिका क्षेत्रमा विकास कार्य र शान्ति बहाली भएको छ”, उनले दाबी गर्दै भने, “मलाई खुशी लाग्छ,  जब म पहाड़ आउँछु।
उनले यसअवसरमा भाजपाको पनि खोइरो खने। दुईपटक पहाड़बाट जिते तापनि भाजपाले दार्जीलिङका लागि कुनै विकास कार्य नगरेको बताए। पहाड़बाटा भाजपाले दुईपटक लोकसभा चुनाउ जित्यो, तर खोइ यहाँ विकास गरेको?”, मन्त्री विश्वासले प्रश्न गरे। साथै मुख्यमन्त्रीले कुनै वाचा नगरी हृदयबाटै विकास गर्नेगरेको तर यसको ठीक विपरीत भाजपा चुनाउमा कराउने मात्र गरेको र जितेर गएपछि कता कता हराएको बताए।
विश्वासले मञ्चमा आसिन विनय तामाङहरूको पनि परोक्ष रूपमा प्रशंसा गरे। हामी पहाड़मा विकास र शान्ति चाहन्छौं। दुईवटा पार्टीका अध्यक्ष मिलेर काम गर्नु नै विकास हुनु हो”, उनले थपे, “पहाडका नेतृत्वहरूले मुख्यमन्त्री ममताको अगुवाइमा विकास कार्य गरिरहेका छन्।
आफ्नो सम्बोधनमा उनले दुई पार्टीको राजनीतिक सिद्धान्त र दर्शन फरक भए तापनि विकास गर्ने लक्ष्य भने एउटै रहेको बताए।
हाम्रा मुख्यमन्त्रीले बोलेको सटीक समयमा काम गर्नुहुन्छ। पहाड़मा विकास र शान्ति केवल मुख्यमन्त्री ममताले ल्याउनसक्छिन्”, मन्त्री अरूप विश्वासले दाबी गरे। आज अपरान्ह खरसाङ आइपुगेका मन्त्री विश्वासलाई ठूलो स्वागत जनाइएको थियो।
कार्यक्रमलाई सम्बोधन जीटीएको बीओएका अध्यक्ष विनय तामाङ। 
सभालाई जीटीएका बीओए अध्यक्ष विनय तामाङले पनि सम्बोधन गरेका थिए। उनले आफ्नो सम्बोधनमा पहाड़को राजनीतिक संस्कार परिवर्तन भएको तथा पछिल्लो एक वर्षमा जलाउने, धम्काउने र घरविहीन बनाउने प्रथा घटेको र यो एकवर्षको अवधिमा यस्ता घटनाहरूलाई लिएर पहाड़का कुनै पनि थानामा प्राथमिकी दर्ता नभएको दाबी गरे।
उनका अनुसार बङ्गाल सरकारको सहयोगमा पहाड़मा विकासमूलक कार्यहरू भइरहेका छन्। यहाँका विभिन्न समस्या समाधान गर्न र पहाड़ हाँसेको हेर्न हो भने हामीलाई बङ्गाल सरकारको आशीर्वाद चाहिन्छ”, उनले भने। तामाङले मन्त्रीसमक्ष दार्जीलिङ, खरसाङ र मिरिकमा स्टेडियम निर्माणका लागि अनुरोध गरे। यसअवधि उनले आगामी 2 दिसम्बरदेखि जीटीएस्तरीय गोल्ड कप हुने पनि घोषणा गरे। सभालाई  हिल तृणमूल कङ्ग्रेसका अध्यक्ष एवं मिरिक नगरपालिका अध्यक्ष एलबी राई र अनित थापाले पनि सम्बोधन गरेका थिए।
हेम राईले सञ्चालन गरेको यो कार्यक्रममा राज्यसभा सांसद एवं हिल तृणमूल नेत्री शान्ता छेत्रीले स्वागत सम्भाषण र हिल तृणमूल खरसाङ महकुमाकी प्रभारी मिङ्मा भोटियाले धन्यवाद ज्ञापन गरेका थिए।
कार्यक्रममा राजेन मुखिया, शारदा सुब्बा, बिन्नी शर्मा, एनबी खवासलगायत अन्य हिल तृणमूल नेतृत्वहरू पनि विशेष रूपले उपस्थित थिए।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here