चुनाउमा विनयहरूलाई जनताले ओठे जवाफ दिने रोशन गिरीको दाबी, भने – विनय तामाङहरू पक्राउबाट बाँच्न राज्यको कठपुतली भएका छन्

0
1053
विमलपन्थी गोजमुमोका महासचिव रोशन गिरी (फाइल फोटो)।

दार्जीलिङ, 30 अक्टोबर :  आगामी लोकसभा अघि पहाड़मा गोर्खाल्यान्ड टेरिटोरियल एड्मिनिस्ट्रेशन (जीटीए) – को चुनाउ भएमा जनताले विनय तामाङहरूलाई ओठे जवाफ दिने दाबी विमल गुरुङपन्थी गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो) -का महासचिव रोशन गिरीले गरेका छन्।

मङ्गलवार एक प्रेस विज्ञप्ति जारी गरी उनले यस्तो दाबी गरेका हुन्। उनका अनुसार  चुनाउ जहिल्यै भए तापनि जनताको जीत हुनेछ। विज्ञप्तिमा गिरीले भनेका छन्,  विनयहरूले जहिले चुनाउ गराऊ, त्यो तिमीहरूको सुविधाअनुसार नै गर,  तर जनताले भोगेको पीर-मर्काको जवाफ जनताले बाहिर मैदानमा नदेखाए तापनि मतदानको समय देखाउनेछन्। यदि यसपालि सांसद चुनाउ अघि जीटीए चुनाउ गर्ने निधो नै भयो भने जनताद्वारा गरिने यसपालिको चुनावी रणनीति विनयहरूका लागि अहिले चल्दै गरेका हल्लाहरूभन्दा नयाँ हुनेछ। यसमा जनताको नै जीत निश्चित छ।
गिरीका अनुसार 2019 -को शुरुमा लगभग दुइ-तीन महिना फरकअवधिमा दार्जीलिङले दुईवटा चुनाउ झेल्दा यसले पहाड़का विद्यार्थीवर्ग र शैक्षिक गतिविधिमा पार्ने नराम्रो प्रभाव पार्ने तर सत्ताका लालचमा अन्धो बनेकाहरूले यो नराम्रो प्रभावलाई देख्न सक्दैनन्। यति मात्र होइन लगातार चुनाउले विकास कार्यहरूलाई पनि उत्तिकै बाधा पुगेको उनले दाबी छ।
विज्ञप्तिमा गिराले अहिलेघरी विनय तामाङलाई प्रतिस्थापित गर्नका लागि पहाड़मा पुलिसराज चलिरहेको आरोप लगाएका छन्।
जनताको मौलिक अधिकारहरू खोसिएका छन्। र, गोर्खाल्यान्डपन्थी नेताहरूलाई सताउने काम हुँदैछ। यस अर्थमा विनय तामाङ गोर्खाल्याण्डविरोधी हुन्। जनता राजमा जनतै राजा भनेर विनयलाई अहिले याद आउँछ भने जनताको अर्थात् राजाको चाहना भनेको गोर्खाल्याण्ड आन्दोलन हो”, उनले लेखेका छन्, “यदि तिमीले राजा मानेको जनताको आदेश मान्छौँ भने जीटीएको कुर्सी त्यागेर गोर्खाल्यान्ड आन्दोलन गरेर देखाऊ। जनताको चाहनाको सम्मान गर्‍यौ भने म आफै पनि सबै तितोपना मेटाएर विनयहरूलाई खुल्ला समर्थन गर्नेछु।
विज्ञप्तिमा गिरी तामाङप्रति आक्रामक देखिएका छन्।  केन्द्र सरकारले पहाड़को समस्या बुझेर भटाभट केही सकारात्मक उठाएपछि अहिले विनय तामाङ र पश्चिम बङ्गाल सरकार आतिएको उनको दाबी छ।
भूमिगत अवस्थामा उनले विज्ञप्तिमा राष्ट्रिय महिला आयोगकी अध्यक्ष रेखा शर्माले पहाड़मा भएको अन्यायको रिपोर्ट ल्याएर केन्द्रलाई बुझाएपछि दार्जीलिङ पहाड़मा  गणतन्त्र नभएको कुरा आधिकारिक रूपमा राष्ट्रमा स्थापित भएको दाबी गरेका छन्। साथै उनले जीटीए चुनाउको हल्लाबीच अहिले पहाड़मा के हुँदैछ भन्ने कुरा पनि देशवासीलाई राम्ररी थाह रहेको बताएका छन्।
उनले विज्ञप्तिमा लेखेका छन्, “भर्खरै मात्र केन्द्रिय गृहसचिवले पहाड़मा एक फ्याक्ट फाइण्डिङ टीम पठाउने कुरा र गोर्खा जातिका छुटेका 11 जातगोष्ठीलाई केन्द्रिय जनजातिको दर्जा दिनका लागि शीतकालीन सत्रमा बील ल्याउने तय भएपछि विनय तामाङहरू आतिएका हुन्, तर विनय तामाङले बुझ्नुपर्छ, 11 जातगोष्ठीलाई केन्द्रिय जनजातिको दर्जा दिने भनेको केवल विमल गुरुङ समर्थकहरूका लागि मात्र फाइदाको कुरा होइन, यो त विनय तामाङहरूका परिवार, समर्थकलगायत सम्पूर्ण देशमा भएका गोर्खाहरूको अपरिमेय फाइदाका लागि हो।
जातीय हितलाई बुझ्ननसक्ने मानसिकताले ग्रस्त भएर विनय तामाङले आतिएर अहिले यी मुद्दाहरूलाई अघि बढ़ाइरहेका गोजमुमो नेतृत्वहरू कर्णल रमेश आले, आर पी वाइबा, लोप्साङ लामा यल्मोलगायतका अन्य कार्यकर्ताहरूलाई घरमा पुलिस पठाएर धम्काउने कार्यगरिरहेको पनि उनले आरोप लगाएका छन्।
अहिले दार्जीलिङमा विनय तामाङले भनेको शान्ति चाहिँ आतङ्कको शान्ति हो। मुर्दा घरको शान्तिभन्दा पीड़ादायक शान्ति हो। अहिले पहाड़मा पुलिसले तृणमूल क्याडरजस्तो भएर विनय तामाङलाई जबर्जस्ती उभ्याउने काम  गर्दैछ”, गिरीले थप आरोप लगाउँदै भनेका छन्, “दार्जीलिङ पहाड़मा प्रजातन्त्र पटक्कै छैन। विरोधीहरूलाई धम्क्याउने र पक्राउ गर्ने कार्य भइरहेको छ। वरिष्ठ नागरिकहरू भएका घरहरूमा समेत पुलिस गएर डर देखाउने काम गर्दै छ। विनय तामाङले यही पुलिस आतङ्कको सहायताले सांसद चुनाउअघि जीटीए चुनाउ गराएर सत्ता हत्याउने सपना देखेका छन्, जबकि विनय तामाङहरूलाई पनि त्यही आरोपहरू, त्यस्तै गैर-जमानती धाराहरू लागेका छन्। फरक यति छ, उनीहरू पक्राउबाट बाँच्न राज्यसँग झुकेर सत्तामा कठपुतली भएर बसेका छन्। अनि हामी झूटो आरोपहरूबाट बाँचेर जातीय स्वाभिमानको युद्ध लड्न घरबार त्यागेर निस्किएका छौं।
आफूहरूलाई जस्तै आरोप र गैर-जमानती धारा लागेका विनय तामाङहरूलाई पुलिसले किन पक्राउ गर्दैन भन्ने गिरीको प्रश्न छ। कुन आधारमा उनीहरूलाई छोड़िएको छ? उनीहरूलाई छोडेको आधारअन्तर्गत ती आरोपहरू नै लागेका अररूलाई किन हेरिँदैन? कुरा सोझो छ, विनयहरूले राज्य सत्ताको भजन गएकोले राज्य सत्ताले उनीहरूलाई काखी चेपेको हो। यसले स्पष्ट हुन्छ, आज पश्चिम बङ्गालमा प्रजातन्त्र र गणतन्त्र छैन”, गिरीले भनेका छन्।
उनले विज्ञप्तिमा पहाड़को गणतन्त्र भनेको खाकी गन तन्त्र’ (पुलिसी आतङ्क) होभनेका छन्। साथै चाँड़ो जीटीए चुनाउ गराउँछु भन्नु यो चुनाउ राज्यको अधिन हुने भएकोले गर्दा प्रशासनको भरपुर सहयोग लिने रणनीति विनयहरूको रहेको गिरीको दाबी छ। सांसद चुनाउमा नराम्रो पराजयको आशङ्काले ग्रस्त बनाएपछि आफ्नो दूनो सोझ्याउन सकिने झिनो आशामा विनयहरूले पहाड़लाई दुईतीन महिनाको फरकमा एकैचोटि दुई-दुईवटा चुनाउको मुखमा होम्ने षड़यन्त्र गरेको हो”, उनले भनेका छन्।
यसका साथै, ‘यदि विनय तामाङहरूकोमा अलिकति पनि इमानदारी उब्रिएको छ भने गोर्खाल्यान्ड समर्थक नेताहरूलाई पुलिस लगाएर धम्क्याउनु बन्द गर्नुपर्ने  दार्जीलिङमा प्रजातान्त्रिक वातावरणको उदाहरण दिएर देखाउनुपर्नेचुनौती गिरीले दिएका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here