देउसी-भैलेनी प्रतियोगिताः भिडियो पठाउने अन्तिम मिति बढ़्यो

0
1029

दार्जीलिङ, ३० अक्टोबरः न्युज पोर्टल द हिमाल वर्ल्डको पहलमा सम्पन्न भइरहेको प्रथम राष्ट्रिय देउसी-भैलेनी प्रतियोगिताका लागि भिडियो पठाउने अन्तिम मिति आगामी ६ नोभेम्बरसम्म बढ़ाइएको छ।

द हिमाल वर्ल्डले जीटीएको सूचना एवं सांस्कृतिक विभाग र पर्यटन विभागको विशेष सहयोगमा यसपालाको तिहारको छेक पारेर प्रथम राष्ट्रिय देउसी-भैलेनी प्रतियोगिताको आयोजना गरिरहेको छ; यसका लागि देउसी अनि भैलेनी खेलिरहेको भिडियो पठाउनका लागि ३१ अक्टोबरसम्मको समय निर्धारित गरेको थियो, तर यस प्रतियोगितामा भाग लिन चाहने विभिन्न स्थानका प्रतियोगी टोलीहरूले समय कम भएको बताउँदै यसलाई बढ़ाउने अनुरोध गरेका थिए।

उनीहरूको अनुरोधलाई ध्यानमा राखेर नै द हिमाल वर्ल्डले यो मिति आगामी ६ नोभेम्बरसम्म बढ़ाएको हिमाल वर्ल्ड परिवारका सदस्य मोहन लामा अनि रेजा प्रधानले घोषणा गरेका छन्।

गोर्खा वा नेपाली जातिको एक महत्त्वपूर्ण संस्कार-संस्कृतिको रूपमा पालन गरिने देउसी-भैलेनी खेल्ने परम्परा बिस्तारै लोप हुँदै गइरहेको छ, जसलाई संरक्षण गर्ने उद्देश्यले नै द हिमाल वर्ल्डले यसपाला प्रथमपल्ट अनलाइन देउसी-भैलेनी प्रतियोगिताको आयोजना गरिरहेको छ; जसमा भाग लिने प्रतियोगी टोलीहरूले द हिमाल वर्ल्डको टेलिग्राम नम्बरमा ५ देखि १० मिनटसम्मको देउसी-भैलेनी खेलेको भिडियो पठाउन सक्नेछन्।

यस प्रतियोगिताको फाइनल आगामी तिहारपछि दार्जीलिङको चौरस्तामा सम्पन्न गर्ने पनि चाँजो मिलाएको छ, जसका फाइलिस्ट टप फाइभ प्रतियोगी टोलीहरूलाई पुरस्कारस्वरूप नगद राशि प्रदान गरिने भएको छ।

यस प्रतियोगिताका लागि दार्जीलिङ साथै अन्य स्थानबाट निर्णायकहरू राखिएको छ भने यी निर्णायकहरूले देउसी-भैलेनी प्रतियोगितामा भाग लिएका प्रतियोगी टोलीहरूको पोशाकदेखि देउसी-भैलेनी खेल्ने तरिका, अनुशासन, वाद्य-वादन आदिमाथि विशेष ध्यान दिनेछन्।

यसैले यो प्रथम राष्ट्रिय स्तरको देउसी-भैलेनी प्रतियोगितामा भाग लिन चाहने प्रतियोगी दलहरूले आगामी ६ नोभेम्बरभित्र आफ्नो देउसी वा भैलेनी खेलेको भिडियो पठाउन सक्ने पनि द हिमाल वर्ल्डले बताएको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here