सदनमा एनआरसीको मुद्दा उठाएर गोर्खाअघि झूटो आश्वासन दिएको विष्ट आफैले प्रमाणित गरेका छन्: विनय

0
1300
विनय तामाङ (फाइल फोटो)।

दार्जीलिङ, ३० नोभेम्बरः राष्ट्रिय नागरिक पञ्जी (एनआरसी)-बारे शुरुदेखि नै भाजपाको अड़ानविरुद्ध आक्रामक देखिएका गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो)- दोस्रो खेमाका अध्यक्ष विनय तामाङले पुनः यसलाई लिएर भाजपाको गोर्खाहरूमाथिको नियतसँगै सांसद राजु विष्ट र विधायक नीरज जिम्बामाथि कटाक्ष गरेका छन्।

शुक्रवार सांसद राजु विष्टले सदनमा एनआरसीबाट छुटेका असमका गोर्खाहरूले भोगिरहेको समस्यासँगै एनआरसीबाट भारतका गोर्खाहरूलाई सुरक्षित राख्नका लागि जनजातिको दर्जा दिएर मूल निवासीको मान्यता प्रदान गर्नुपर्ने माग राखेपछि विनयले हिजै एक प्रेस विज्ञप्ति जारी गरी विष्ट र जिम्बामाथि कटाक्ष गरेका हुन्।

तामाङका अनुसार एनआरसीले गोर्खाहरूलाई छुँदैन भनेर धाक पिट्ने सांसद राजु विष्टले शुक्रवार सदनको शून्यकालमा एनआरसी पीड़ित गोर्खाहरूको सन्दर्भमा एनआरसीको मुद्दा उठान गरी एनआरसीलाई लिएर उनले पहाड़वासीलगायत समग्र गोर्खासँग झूटो आश्वासन दिएको आफैले प्रमाणित गरेका छन्।

‘एनआरसीलाई लिएर सांसदले एउटा गोर्खे सन्तान भएर होइन। तर, भाजपाको एजेन्टको रूपमा झूटो आश्वासन दिएको कुरा उनी आफैले आज सदनमा प्रमाणित गरिदिएका छन्’, मोर्चा दोस्रो खेमाका अध्यक्षले भनेका छन्’, ‘असमका गोर्खाहरूलाई एनआरसीले जुन प्रकारले उठीबास लगाउने स्थिति उत्पन्न गरेको छ। यसविरूद्ध हामीले ग्राउण्ड जिरोमै गएर बुझ्ने कार्य गरेका हौं। र बारम्बार एनआरसीविरूद्ध आवाज उठाउँदै पनि आइरहेका छौं।’

 ‘असममा एनआरसी लागू गरी भाजपाले त्यहाँका रैथाने गोर्खाहरूलाई जसरी शरणार्थी बन्ने स्थितिमा पुऱ्याएका छन्। बङ्गालमा पनि एनआरसी लागू गरिएको खण्डमा गोर्खाहरूको त्यही हालत हुनेछ भनेर हामीले बारम्बार विरोध गरिरहेका छौं। लोकसभा चुनाउको समयमा पनि हामीले एनआरसीविरुद्ध यही कुरा भनेका थियौं’, विनयले विज्ञप्तिमा थप भनेका छन्,  ‘तर त्यतिबेला राजु विष्टहरूले एनआरसीले गोर्खाहरूलाई छुँदैन भनेर भनेका थिए। एनआरसीले गोर्खाहरूलाई समस्यामा पार्छ, गोर्खाहरूलाई शरणार्थी बनाउँछ भन्ने हाम्रो साँचो तर्कहरूलाई उनीहरूले तोड़ेर बटारेर जनताको आँखामा धूलो हाल्ने काम गरेका थिए।’

जिम्बाले वचन पूरा गर्दै राजनीतिबाट संन्यास लिनुपर्ने माग

यसैबीच विनय तामाङले भाजपाका विधायक नीरज जिम्बाले राजनीतिबाट संन्यास  लिनुपर्ने माग गरेका छन्।

‘चुनाउको समय भाजपा सांसद राजु विष्टले एनआरसीले कुनै गोर्खालाई पनि नछुने दाबी गरेका थिए भने भाजपाका विधायक निरज जिम्बाले त गोर्खाहरू त परै जाओस् गोर्खाहरूको बारीमा फलेको इस्कुसलाई समेत एनआरसीले नछुने दावी गर्दै असमका एकैजना खाँटी गोर्खालाई पनि एनआरसी लागू भएको खण्डमा आफूले राजनीतिबाट सन्यास लिने समेत घोषणा गरेका थिए’, विनयले भनेका छन्, ‘तर आज सांसद राजु विष्टले असममा गोर्खाहरूलाई एनआरसीले मर्का पारेको स्वीकार गर्दै यसको विरोधमा सदनको शून्यकालमा कुरा राखेर एनआरसीले गोर्खाहरूलाई आफ्नो भूमिबाट खेदुवा लगाउने कुरा साँचो रहेको स्पष्ट प्रमाणित गरेका छन्। आफ्नै सांसदले उक्त कुरा स्वीकार गरेपछि अब भाजपाका विधायक नीरज जिम्बाले पनि जनताअघि आफ्नो वचन पूरा गर्दै राजनीतिबाट संन्यास लिनुपर्छ।’

अर्कोतिर, भाजपाले बङ्गालमा एनआरसी लागू गरेको खण्डमा दार्जीलिङ पहाड़का कोही गोर्खा पनि सुरक्षित छैनन् भन्ने कुरा असमका गोर्खाहरूले हालमा झेलिरहेको मर्काले नै स्पष्ट भइसकेको उनको दाबी छ। ‘पर्जापट्टाविहीन ८० प्रतिशतभन्दा अधिक पहाड़का गोर्खाहरूलाई एनआरसीले शरणार्थी बनाउने जान्दा-जान्दै पनि नीरज जिम्बा र राजु विष्टहरूले राजनीतिक रोटी सेक्न झूटो आश्वासन दिएको कुरा अब आएर उनीहरूले नै एनआरसीविरूद्ध सदनमा बोलेर प्रमाणित गरिदिएका छन्’, विनयको ठोकुवा छ।

यसैले पनि पहाड़वासीले अब सचेत भई एनआरसीविरूद्ध एक हुन आवश्यक रहेको तामाङले आह्वान छ। ‘एनआरसीका कानून र प्रावधानभन्दा ठूलो नीरज जिम्बा र राजु विष्टहरू होइनन्। भोलि एनआरसी लागू भएको खण्डमा पहाड़का गोर्खाहरूले राजु विष्ट र नीरज जिम्बालाई देखाएर एनआरसीबाट छुट पाउने होइनन्’, विनयले थप भनेका छन्, ‘भाजपा विधायक नीरज जिम्बा स्वयं पनि एनआरसीको कानूनदेखि पन्सिनु पाउने छैनन् र आवश्यक दस्तावेज नबुझाएको खण्डमा उनी आफै पनि शरणार्थी बन्नुपर्ने स्थिति आउनेछ। यसर्थ कुनै पनि नेतृत्व वा राजनीतिक नेतृत्वहरूले पनि एनआरसीलाई लिएर गोर्खाहरूलाई झूटो आश्वासन नदिने पनि म अपील गर्दछु।’

यसका साथै भूमि, गोर्खा र गोर्खाको नागरिकता सुरक्षित रहे मात्र राजनीतिक दलहरूको राजनीति पनि बाँच्न सक्ने पनि उनले बताएका छन्। ‘एनआरसीले भोलिको दिनमा पहाड़का ८० प्रतिशत गोर्खालाई ‘डी भोटर्स’ वा शरणार्थी बनाए, कहाँ अनि कसका लागि राजनीति गर्ने?, उनले प्रश्न गरेका छन्। मोर्चा दोस्रो खेमाका अध्यक्ष विनयले सम्पूर्ण पहाड़वासीलाई एनआरसीविरुद्ध एकजुट भई आफ्नो भविष्य सुरक्षित राख्ने आह्वान पनि गरेका छन्

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here