विनय-अनितकै निर्देशमा पक्राउः विमलपन्थी मोर्चा

0
1265
बीपी बजगाइँ (फाइल फोटो)।

दार्जीलिङ, 30 नोभेम्बरः बङ्गाल सरकार र जीटीएका नेतृत्वहरूले निर्देशमा नै पुलिसले भटाभट विमलपन्थी मोर्चा कार्यकर्ताहरूलाई पक्राउ गरिरहेको आरोप उपाध्यक्ष आरपी वाइबाले लगाएका छन्। शनिवार एक प्रेस विज्ञप्ति जारी गरी वाइवाले आफ्नो पार्टीका कार्यकर्ताहरूको पक्राउलाई तीखो शब्दमा निन्दा गरेका छन्।

‘बङ्गाल सरकार र जीटीएका नेतृत्वहरूकै निर्देशमा विमलपन्थी गोजमुमो समर्थक र नेतत्वहरूको व्यापक धर पकड़को हामी घोर प्रतिवाद जनाउँदछौं’, वाइबाले भनेका छन्, ‘गत 28 नोभेम्बरमा दार्जीलिङ जीडीएनएस हलमा भएको हाम्रो पार्टी कार्यक्रमको सफलता देखेर बङ्गाल सरकार र जीटीए नेतृत्व हताश भएकोले यो धर पकड़ गर्ने निर्देश दिएको हो।’

उनले विज्ञप्तिमा थप भनेका छन्, ‘के गणतन्त्रमा पार्टी गर्नु अपराध हो? गणतन्त्रमा संवैधानिक अधिकार माग्नु अपराध हो? के छुट्टै राज्यको माग गैरकानुनी हो? हामी हाम्रो इच्छाले पार्टी गर्नु पाउँदैनौं?’

उनले बङ्गाल सरकारले यस्तो कारबाहीले देशकै गरिमामा चोट पुऱ्याइरहेको पनि बताएका छन्। ‘संसारमा कुनै कुरा स्थायी हुँदैन। र बङ्गाल सरकार पनि सधैंका लागि होइन भन्ने कुरा सरोकारवालाहरूले राम्ररी बुझुन्’, उनले भनेका छन्।

अर्कोतिर उनले यस्तो अवस्थामा आफ्नो पार्टीका नेतृत्व र समर्थकहरूलाई किञ्चित पनि हताश नबनिदिने आह्वान गरेका छन्।

‘बङ्गाल सरकारको कालो शासनको अन्त चाँड़ै हुनेछ।आफ्नो जाति, माटो र चिनारीका लागि लागिपरेका योद्धाहरूलाई यो एउटा परीक्षा मात्र हो’, विमलपन्थी मोर्चाका केन्द्रिय उपाध्यक्ष आरपी वाइबाले भनेका छन्, ‘हामी यस्ता अनेकौं कठिनाइ पार गरी निश्चय एकदिन हामी हाम्रो लक्ष्यमा पुग्नेछौं। हाम्रा समर्थकहरूले हौसला राखुन्।’

अर्कोतिर विमलपन्थी मोर्चा प्रवक्ता बीपी बजगाईंले पनि विनय-अनितकै निर्देशमा पुलिसले आफ्नो पार्टीका कार्यकर्ताहरूलाई पक्राउ गरिरहेको बताएका छन्।

पक्रा परेका धेरैजनामाथि कुनै मुद्दा नै नरहेको दाबी गर्दै बजगाइँले यदि आफ्नो पार्टीका कार्यकर्ताहरूविरुद्ध वारण्ट छ भने ती सबैविरुद्ध रहेका वारण्टलाई 24 घण्टाभित्र सार्वजनिक गर्नुपर्ने माग पनि गरेका छन्। साथै पुलिसले अहिलेघरी तृणमूल कङ्ग्रेसका कार्यकर्ताजस्तो कार्य गरिरहेको पनि विमलपन्थी मोर्चा प्रवक्ताले बताए।

उनले बङ्गाल सरकार र अहिले जीटीएमा बसेकाहरूले पुलिस प्रशासन लगाएर जति नै अन्याय अत्याचार गरे तापनि छुट्टै राज्य गोर्खाल्याण्डको माग कुनै पनि अवस्थामा नदबिने बताए।

यसैबीच, शनिवार बिहान पुलबजार थानामा पक्राउविरुद्ध शरण लामा र विधान राईका परिवारले प्रतिवाद जनाएका थिए। पुलिसले बिनाकारण पक्राउ गरेका तथा पक्राउ गर्नका लागि जारी वारण्टसम्म देखाउन नसकेको दुवै परिवारका सदस्यहरूले एक बिडियो जारी बताएका छन्। साथै पुलिसको यस्तो कारबाहीको तीखो शब्दमा निन्दा गरेका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here