चियाबगानका स्टाफ, सब्-स्टाफहरूका वेतन बढ़ोत्तरीबारे त्रिपक्षीय बैठक हुने

0
1013

दार्जीलिङ, 30 नोभेम्बरः चियाबगानका स्टाफ, सब्-स्टाफहरूका वेतन बढ़ोत्तरी विषय लिएर आउँदो 3 र 4 दिसम्बरका दिन सिलगढ़ीमा त्रिपक्षीय बैठक हुने तय भएको छ, जसमा चियाबगानका स्टाफ, सब्-स्टाफहरूका 2014-देखि बढ्न नसकेको वेतन बढ्ने आशा गरिएको विनय तामाङपन्थी गोजमुमोको श्रमिक सङ्गठन दार्जीलिङ तराई डुवर्स प्लान्टेशन लेबर युनियनको खरसाङ महकुमा समितिका अध्यक्ष प्रणाम रसाइलीले बताएका छन्।

उनले भने, “प्रत्येक चियाबगानको मोठ श्रमिकहरूमा लगभग 10 देखि 15 प्रतिशित स्टाफ, सब्-स्टाफ हुनेगर्छ। तर, यी स्टाफ, सब्-स्टाफहरूको वेतन 2014-देखि नै वृद्धि हुनसकेको छैन। यस विषय लिएर दार्जीलिङ तराई डुवर्स प्लान्टेशन लेबर युनियनले लगातार आवाज उठाउँदै आइरहेको छ। तरै पनि यसमाथि अझैसम्म ठोस पहल हुनैसकेको छैन। तर आगामी 3 र 4 दिसम्बरका दिन सिलगढ़ीको श्रमिक भवनमा स्टाफ, सब्-स्टाफहरूका वेतन बढ़ोत्तरी विषय लिएर बैठक हुन गइरहेको छ।’’

रसाइलीका अनुसार बैठकमा पछिल्लो 6 वर्षदेखि थाँतीमा रहेको स्टाफ- सब् स्टाफहरूको वेतन बढ़ोत्तरीको माग पूरा हुने आशा गरिएको छ।

“चियाश्रमिकहरूको रोजी 40 प्रतिशतको दरले वृद्धि भएको आधारमा नै स्टाफ, सब्-स्टाफको वेतन पनि वृद्धि हुनपर्छ’’, प्रणाम रसाइलीले भने।

उनले यो मागका लागि दार्जीलिङ तराई डुवर्स प्लान्टेशन लेबर युनियनको नेतृत्वमा विभिन्न चियाबगानमा पेनडाउन हड़ताल गरिएको पनि जानकारी गराए।

उनले चियाबगानका श्रमिकहरूको अवकाश 58 वर्षको उमेरमा हुने गरेको विषयमाथि पनि प्रतिक्रिया व्यक्त गर्दै भने, “अन्य सम्पूर्ण सरकारी नोकरीमा 60 वर्षको उमेरमा अवकाश ग्रहण हुने प्रावधान छ। तर, चियाबगानमा मात्रै 58 वर्षको उमेरमा सेवानिवृत्त हुने नियम छ। यसमाथि पनि युनियनले राज्यका श्रममन्त्रीसमक्ष कुरा राखिसकेको छ।’’

यसका साथै उनले धेरैवटा चियाबगानमा कतिपय श्रमिकलाई स्टाफको दर्जा दिए पनि वेतन त्योअनुसार नपाएको बताउँदै स्टाफको दर्जा दिइएपछि उनीहरूलाई त्यसै पदअनुसार, वेतन भुक्तान गर्नुपर्ने माग गरे।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here