मिशन गोर्खाल्याण्ड, जन्मियो स्टेटहुड डिमान्ड कोअर्डिनेशन कमिटी

0
997

कालेबुङ, 30 नोभेम्बरः ‘मिशन गोर्खाल्याण्ड’ मूल मन्त्र बोकेर कालेबुङमा आज स्टेटहुड डिमान्ड कोअर्डिनेशन कमिटी नामको अराजनीतिक सङ्गठन जन्मेको छ।

यस अराजनीतिक सङ्गठनमा पहाड़ तराई डुवर्सलगायत कोलकाताबाट पनि सदस्यहरू रहेको बताइएको छ।

स्टेटहुड डिमान्ड कोअर्डिनेशन कमिटीमा मुख्य संयोजकका रूपमा प्रभाकर देवान र उदय कुमार कुमाई रहेका छन्। यसैगरी कमिटीमा 51 संयोजक रहेका छन्।

कमिटीबारे जानकारी गराउँदै मुख्य संयोजक उदय कुमार कुमाईले भने, “मिशन गोर्खाल्याण्डको मूल मन्त्र बोकेर स्टेटहुड डिमाण्ड कोअर्डिनेशन कमिटी गरिएको हो।”

उनका अनुसार छुट्टै राज्य गोर्खाल्याण्ड प्राप्तिका लागि समाजका सबै वर्ग र तहका मानिसहरू अघि आउन पर्नेछ। यसैलाई बोध गरेरै अराजनीतिक सङ्गठनको रूपमा स्टेटहुड डिमान्ड कोअर्डिनेशन कमिटी गठन गरिएको कुमाईले खुलाए।

उनले बताएअनुसार कमिटीले आफ्नो संविधान र आचार संहिता पनि तयार गरेको छ, यसैको परिधिभित्र रहेर यो आफ्नो लक्ष्यतर्फ अघि बढ़िरहनेछ।

“यो कमिटी जनताको आवाज, जनताको फोरम हो”, उदय कुमार कुमाईले थपे, “हामीले जुन यो शुरूआत गर्दैछौँ, त्यो नयाँ युगको नयाँ सङ्ग्राम हो।”

उनले कमिटीका कोही दुश्मन नरहेको, सबै मित्र रहेकाले लक्ष्य प्राप्तिका लागि सबै एकमुष्ठ हुनुपर्ने आह्वान गरे।

त्यसैगरी,  अर्का मुख्य संयोजक प्रभाकर देवानले बङ्गालबाट छुट्टिने जनाकाँक्षा रहेको बताए।

“अहिलेसम्म के कस्तो भयो, त्यो तपाईंहरू सबैलाई यादै छ। अब हामी त्यतापट्टि नजाऊँ। त्यसलाई दोहोऱ्याउन जरूरी पनि छैन। अब चाहिँ के गर्ने हाम्रो प्रश्न यो हो। अब हामीले के गर्ने?”, उनले थपे, “अब यो भएन/त्यो भएन, यस्तो पो भयो/त्यस्तो पो भयो भनेर हामी गनगनाइरहेका छौँ। साँच्चै गोर्खाल्याण्ड चाहने सबै मानिस गनगनाइरहेका छन्। यस्तो गनगनले कुनै समाधान हुँदैन भनेर हामीले निर्णय गऱ्यौँ। गनगनाउनेहरू जुन समूह छ, उनीहरू साँच्चै गोर्खाल्याण्ड या बङ्गालबाट छुट्टिन पर्छ भन्ने विचारधारा भएका  मानिसहरू हुन् भन्ने ठान्यौँ। यसैले गनगनाउने यो समूह, जो साँच्चै गणतन्त्नभित्र हामीलाई छुट्टै राज्य चाहिन्छ भन्ने व्यक्तिहरूको झुण्डलाई एकत्रित गर्ने हाम्रो प्रयास हो।”

विगतमा छुट्टै राज्य गोर्खाल्याण्डका आन्दोलनलाई जनताले पूर्ण समर्थन गर्दा पनि आन्दोलन सफल नभएको उनले बताए।

देवानका अनुसार आज गठन भएको स्टेटहुड डिमान्ड कोअर्डिनेशन कमिटीले जनतालाई एकत्रित गर्ने लक्ष्य राखेको छ। किनभने यो कमिटी छुट्टै राज्यको मागमा जनताको एउटा फोरम होस् भन्ने उनीहरूको विचारधारा हो।

“यस्ता विचारधारा भएका मानिसहरू, विभिन्न सङ्ग-संस्था एक्शनमा ल्याउने र विभिन्न राजनीतिक दलहरूलाई एक्शनमा आउनुहोस् भन्ने प्रयास हामीले गर्न चाहेका हौँ”, उनले थपे, “किनभने विभिन्न दलले आ-आफ्नो प्रकारले गोर्खाल्याण्ड मागिरहेका छन्। तर हामी सबै मिलेर चाहिँ गोर्खाल्याण्ड मागेका छैनन्। सबै पार्टी एकजुट भएर किन गोर्खाल्याण्ड नमागेको भन्ने सबैको विचारधारा छ। माग चाहिँ सबैको एउटै छ, तर एकसूत्रमा चाहिँ बाँधिएको छैन। यसरी बाँध्ने पनि हाम्रो एउटा प्रयास हो।”

उनले  स्टेटहुड डिमान्ड कोअर्डिनेशन कमिटीमा कोही नेता नहुने पनि खुलाए। यसैले पनि कमिटीको नाम कोअर्डिनेशन राखिएको देवानको भनाइ छ।

उनका अनुसार कमिटीमा दुइजना मुख्य संयोजक हुने र उनीहरूको म्याद पनि दुइपटकसम्म नरहनेछ। तेस्रोपटक मुख्य संयोजक हुन पाउनेछैन। साथै लक्ष्य प्राप्त नभएसम्म कमिटीले लगातार कार्य गरिरहनेछ, लक्ष्य प्राप्तिपछि कमिटी भङ्ग गरिनेछ।

यसैगरी कमिटीका संयोजकहरूले कुनै पनि राजनीतिक चुनाउमा भाग लिन नपाउने आचार संहिता रहेको पनि प्रभाकर देवानले बताए।

“जबसम्म हाम्रो लक्ष्य प्राप्त हुँदैन तबसम्म हाम्रा संयोजक कसैले पनि राजनीतिक चुनाउमा भाग लिनेछैनन् भन्ने हाम्रो पब्लिक कमिट्मेन्ट हो। किनभने चुनाउ आउनेबित्तिकै हामीमा विभाजन आउनेगर्छ। जब चुनाउ आउँछ, विभिन्न दलले उठ्छन्, त्यसैले स्वाभाविकै एकाअर्कामा प्रतिद्वन्द्विता हुन्छ। त्यसैले हाम्रो ऐक्यबद्धता हुँदैन। हामी चाहन्छौँ, यो मागका लागि जम्मै दल एक हुन्। यसका लागि सबैसँग कुरा गर्नसक्ने बाटो बनाउनका लागि हामीले राजनीतिक चुनाउभित्र नपर्ने भनेर निर्णय गरेका छौँ। यसैले पनि हामीले अराजनीतिक संस्था बनाएका हौँ”, उनले स्पष्ट पारे।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here