सिक्किमको सत्तामा पुनः फर्किने चामलिङको ठोकुवा

0
836

सिलगढी, ३० दिसम्बरः करिब तीन महिनाको दिल्ली बसाइपछि आज गान्तोक फर्केका पवन चामलिङले 2024 को चुनाउमा एसडीएफ सत्तामा फर्किने ठोकुवा गरेका छन्।

बिहीबार बाघडुग्रा हवाईअड्डामा पत्रकारहरूले सोधेका प्रश्नको उत्तर दिने क्रममा एसडीएफ अध्यक्ष एवं पूर्व मुख्यमन्त्री चामलिङले यस्तो ठोकुवा गरेका हुन्।

उनको दावी छ-अब फेरि सिक्किममा एसडीएफ पार्टी मौलाउनेछ। फुल्ने फल्ने छ। आजका दिन पनि जनताको अपार समर्थन एसडीएफ पार्टीलाई नै छ।

यति मात्र होइन, उनले वर्तमान मुख्यमन्त्री एवं एसकेएम अध्यक्ष पीएस गोलेलाई झुटैझुट बोल्ने नेताको संज्ञा दिएका छन्।

चामलिङका भनाइ अनुसार झुट बोल्नमा मुख्यमन्त्री गोलेले ओस्कर अवार्ड नै पाउनेछन्।  

अर्कोतर्फ, एसडीएफ अध्यक्षले राज्यमा सीबीआई आए, त्यसको स्वागत गर्ने तर यसमा राजनीतिक स्वार्थ भने हुन नहुने बताएका छन्।

वर्तमान मुख्यमन्त्री गोलेलाई कटाक्ष गर्दै पूर्व मुख्यमन्त्री चामलिङले भने, “सीबीआईलाई दुरुपयोग गरी राजनीतिक हतियार बनाउनु भनेको लहरा तान्दा पहरा गर्जिनु हो। पहरा गर्जिँदा चट्टान पड़्किन्छ। चट्टान सबैभन्दा पहिला मिन्तोकगाङमा नै पड़्किन्छ।”

यसअवसरमा पूर्व मुख्यमन्त्री चामलिङले सिक्किमका विभिन्न मुद्दा सम्बन्धमा पत्रकारहरूले सोधेका प्रश्नका खुलेर जवाफ दिए।

आज चामलिङलाई स्वागत जनाउन बाघडुग्रा हवाइअड्डामा पार्टी समर्थकहरूको बाक्लो उपस्थिति थियो।

त्यसैगरी मल्ली र रम्फूलगायत अन्य स्थानहरूमा पनि एसडीएफ कार्यकर्ताहरूले आफ्ना पार्टी अध्यक्षलाई स्वागत जनाएका थिए।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here