दार्जीलिङ, ३१ जनवरीः गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो) उठान गरिरहेको छैटौं अनुसूचीको मुद्दा गठबन्धनको मुद्दा नरहेको सांसद राजु विष्टले बताएका छन्।
जनसंवादसँग टेलिफोनिक कुराकानी गर्दै विष्टले भने, ‘‘गठबन्धनको मुद्दा स्थायी राजनीतिक समाधान र जनजाति हो। छैटौं अनुसूची होइन। हामी एक भएको पनि स्थायी राजनीतिक समाधान र जनजातिको मुद्दामा हौं।’’
अर्कोतिर उनले गोरामुमोको पुरानो मुद्दा छैटौं अनुसूची रहेकोले यो दलले आफ्नो मुद्दालाई उठान गर्नसक्ने बताए। ‘‘म गोरामुमोको छैटौं अनुसूचीको मुद्दालाई सम्मान गर्छु। तर हाम्रो मुद्दा भने यो होइन। उनीहरूले आफ्नो मुद्दा उठाउन पाउँछन्’’, सांसदले थपे, ‘‘भोलिको दिनमा स्थायी राजनीतिक समाधान हुँदा त्यसभित्र छैटौं अनुसूचीको व्यवस्था पनि अन्तर्भुक्त हुनसके, त्यो अझ राम्रो हो। यद्यपि गठबन्धनको मुद्दा र माग छैटौं अनुसूची नै भने होइन।’’
अर्कोतिर स्थायी राजनीतिक समाधान र जनजातिको मुद्दामा दार्जीलिङ पहाड़, तराई अनि डुवर्सका जनतालाई एकबद्ध भएर बस्ने आह्वान गरेका छन्। ‘‘हामी एकबद्ध भएर बस्नुपर्छ। केही पाउनका लागि हामीमा एकता हुन आवश्यक छ’’, विष्टले थपे, ‘‘दार्जीलिङका मुद्दाहरूलाई संसदभित्र र बाहिर मौका पाउनेबितिक्कै लगातार उठाइरहेको छु। र आगत दिनमा पनि लगातार उठाइरहनेछु।’’