दार्जीलिङ, 31 जनवरीः एनआरसी, सीएए, एनपीआर होइन, देशमा एनआरबी ल्याऊ। माकपाको युवा एकाइ डेमोक्रेटिक युथ फेडरेशन अव् इण्डिया (डीवाईएफआई)-ले यस्तै नारा चर्को पार्दै आउँदो 5 फरवरीको दिन दार्जीलिङमा नेशनल रेजिस्टर अव् बेरोजगार (एनआरबी)-को शिविर लगाउने तथा दार्जीलिङमा बेरोजगार कति छ, त्यसको विस्तृत जानकारी प्राप्त गर्ने योजना बनाएको छ।
यसैगरी आउँदो 6 फरवरीको दिन मिरिकमा पनि यस्तै एनआरबी शिविर लगाउने योजना बनाएको डीआईएफआई दार्जीलिङ जिल्ला समिति अध्यक्ष सचिन खातीले जानकारी गराए।
‘‘भारत स्वतन्त्र भएदेखि यता वर्तमान भाजपा सरकारको समय देशमा सबैभन्दा बेसी बेरोजगारी समस्या बढ़ेर गएको छ। गत सेप्टेम्बर महिनामा मात्रै हामीले राज्यमा बेरोजगारको सर्वेक्षण गर्दा 10 लाखभन्दा अधिक बेरोजगारले आफ्नो नाम दर्ता गरेका थिए। जुन नामहरूको सूची लिएर नै डीवाईएफआईले कोलकाता अभियान चलाएको थियो, जसमाथि राज्य पुलिसले लाठीचार्ज गरेको थियो’’, उनले थपे, ‘‘तरै पनि आगामी 12 फरवरीको दिन सात बुँदे माग लिएर फेरि डीवाईएफआईले उत्तरकन्या अभियानको चाँजो पनि मिलाएको छ। जुन दिन डीवाईएफआईले सिलगढ़ीको एयरभ्यू मोड़ (वर्तमान नाम महात्मा गान्धी मोड़)-बाट एक र्याली निकालेर उत्तरकन्यासम्म जाने निर्णय लिएको छ।’’
यसअघि आगामी 5 फरवरीको दिन दार्जीलिङको सुमेरू मञ्चमा एनआरबी शिविरको आयोजना गर्ने तथा बेरोजगारहरूलाई फारम भर्न लगाउने योजना बनाएको खातीको भनाइ छ।
उनका अनुसार डीवाईएफआईले राज्यभरिकै बेरोजगारहरूका विवरण सङ्ग्रह गरी आउँदो 28 फरवरीको दिन देशका प्रधानमन्त्रीको हातमा हस्तान्तरण गर्ने योजना बनाएको छ।
अर्कोतिर, वर्तमान केन्द्र सरकारले बेरोजगारी तथा अन्य कैयौं समस्याबाट जनताको ध्यान अर्कोतिर भड्काउने उद्देश्यले नै राष्ट्रिय नागरिकता पञ्जीकरण (एनआरसी), सीएए नागरिकता संशोधन अधिनियम (सीएए) र राष्ट्रिय जनसङ्ख्या पञ्जीकरण (एनपीआर)-जस्ता कानूनहरू ल्याउने काम गरेको डीआईएफआई दार्जीलिङ जिल्ला समिति अध्यक्ष सचिन खातीले बताए।
“तर देशमा जुन व्यवस्थाको खाँचो छ, त्यसमाथि केन्द्र सरकारले मौन धारण गरेर बसेको छ। यी कानूनहरू ल्याउने कुरा गरेर वा ल्याएर देशभरिका जनताको ध्यान यसतिर आकर्षित गरिसकेको छ’’, उनले थपे, “यसैकारण केन्द्र सरकारले बेरोजगारीमाथि कुनै प्रतिक्रिया नै दिन परेको छैन। तर अब डीवाईएफआईले बेरोजगारीमाथि आफ्नो अभियान शुरु गर्नेछ अनि राज्यसँगै दार्जीलिङ पहाड़, तराई अनि डुवर्समा कति बेरोजगार छन्, त्यसको विवरण सङ्ग्रह गर्नेछ।’’
यसका साथै उनले आउँदो 5 फरवरीको दिन दार्जीलिङमा आयोजना गरिने एनआरबी शिविरमा डीवाईएफआई पश्चिम बङ्गाल राज्य कमिटीका अध्यक्ष सयनदीप मित्र पनि उपस्थिति रहने खातीले जनाएका छन्।