दार्जीलिङ, ३१ मार्च : नेशनल रेजिस्टर अव् सिटिजन्स (एनआरसी) बङ्गालमा लागू गरेर भाजपाले गोर्खाहरूलाई नेपालको अनुप्रवेश बनाउन खोजिरहेको आरोप विनय तामाङले लगाएका छन्।
शुक्रबार अलिपुरद्वारको एक चुनावी जनसभालाई सम्बोधन गर्दै अनित शाहले भाजपा सरकार सत्तामा आएको खण्डमा बङ्गालमा एनआरसी लागू गर्ने घोषणा गरेका थिए। भाजपा अध्यक्षको यसै घोषणाविरुद्ध प्रतिक्रिया व्यक्त गर्दै उनले यस्तो बयान दिएका हुन्।
एक प्रेसविज्ञप्ति जारी गर्दै विनयले लेखेका छन्, ‘‘विगतमा पनि यस्तै नेशनल रेजिस्टर अव् सिटिजन्स (एनआरसी) लागू गरिएपछि भूटानबाट हजारौं नेपालीलाई देश निकाला गरिएको थियो। भूटानबाट खेदिएका ती नेपाली शरणार्थीहरूको दुर्दशा हामी सबैलाई थाहै छ। हिजोअस्ति सेप्टेम्बरमा 2018-मा भाजपाले एनआरसी लागू गरेर असमका तीन लाख गोर्खालाई एनआरसीको दायराभित्र हालेर डी भोटर्स बनाइ उनीहरूको नागरिक अधिकार खोस्ने प्रयास गरेका थिए। अहिले दार्जीलिङ पहाड़का गोर्खाहरूको नागरिक अधिकार हनन् गर्ने षड़यन्त्र गरिरहेको छ।’’
विनयले विज्ञप्तिमा थप लेखेअनुसार दार्जीलिङ पहाड़का गोर्खाहरू भारत स्वतन्त्र हुनभन्दा अघिदेखि यस ठाउँमा बस्दै आइरहेको भए तापनि यहाँका चियाकमान, सिन्कोना बगान, नगरपालिकाक्षेत्र अनि डीआई फण्ड अधीनस्थ जमीनहरूमा बसोबासो गर्ने 82 प्रतिशत गोर्खाको आफ्नो जमीनको मालिकाना अधिकार (पर्जापट्टा) छैन।
यदि बङ्गालमा एनआरसी लागू गरिएको खण्डमा दार्जीलिङ पहाड़का उक्त 82 प्रतिशत गोर्खालाई नेपालको अनुप्रवेशकारी घोषित गरी उनीहरूको भोटिङ अधिकारसितै एकजना भारतीय नागरिकले पाउनुपर्ने जम्मै अधिकारहरू पनि खोसिने उनले बताएका छन्।
गत महिना सिलगढ़ीमा सांसद एसएस अहलुवालियाले भूमिपुत्रको कुरा गर्नेहरू आफै नेपालबाट आएका हुन् भनी दार्जीलिङका गोर्खाहरूलाई नेपाली अनुप्रवेशको संज्ञा दिइसकेको पनि विनय तामाङले बताएका छन्।
‘‘यसभन्दा अघि भाजपा सरकारअधीनस्थ आरजीआईले पनि गोर्खा जातिको 11 वटा जातगोष्ठीलाई जनजातिको दर्जा दिइएको खण्डमा भारतका विभिन्न राज्यमा भविष्यमा नेपाली अनुप्रवेशकारीको सङ्ख्या वृद्धि भएर जाने भनेर हामीलाई नेपालका अनुप्रवेशकारी भनिसकेको छ’’, उनले विज्ञप्तिमा भनेका छन्।
विनयले थप भनेका छन्, ‘‘आज दार्जीलिङ पहाड़कै नजीक अलिपुरद्वारमा आएर पश्चिम बङ्गालमा एनआरसी लागू गर्ने घोषणा गर्नु भनेको भूमिहीन अवस्थामा बसेका पहाड़का लगभग 18 लाख गोर्खालाई आधिकारिकरूपमा नेपालका अनुप्रवेशकारी बनाएर हाम्रो मताधिकारसँग भारतीय नागरिक अधिकार खोसी गोर्खाहरूलाई दार्जीलिङ पहाड़बाट उच्छेद गर्छु भनेर चेतावनी दिनु हो। यसैकारण गोर्खाहरूलाई आफ्नो माटो अनि भूमिदेखि उच्छेद बनाउने धम्की अनि षड़यन्त्रविरुद्ध सम्पूर्ण गोर्खा एकजुट हुन अति आवश्यक रहेको छ।’’
यसका साथै तामाङले सम्पूर्ण गोर्खालाई एकजुट भइ तृणमूल उम्मेद्वार अमरसिंह राईलाई समर्थन गरी आफ्नो भूमिको पर्जा-पट्टा तथा कानूनी अधिकार प्राप्त गर्ने दिशातिर अग्रसर भइदिने पनि अनुरोध गरेका छन्।
तृणमूल उम्मेद्वार अमरसिंह राईले पर्जापट्टाको प्राप्तिका लागि गम्भीरतापूर्वक काम गर्ने प्रतिबद्धता जाहेर गरिसकेकोले अमरसिंह राईलाई जिताउनु भनेको आफ्नो घर जमीनको पर्जा पट्टा निश्चित गर्नु हो भन्ने विनय तामाङले दाबी गरेका छन्।