यसपालिको चुनाउमा ममताले गोर्खा र भाजपाको ताकत देख्नेछिन् : राजु विष्ट

0
1325
सिलगढ़ीस्थित सेभिन किङ्गडमको सभामा भाजपा उम्मेद्वार राजु विष्ट।

सिलगढ़ी, 31 मार्च : संविधानप्रदत्त हक अधिकारको लड़ाइँ लड़्दा बङ्गाल सरकारले गोर्खाहरूमाथि घोर अन्याय-अत्याचार गरिरहेको भाजपा उम्मेद्वार राजु विष्ट बताएका छन्।

आइतबार सिलगढ़ी र तराईका गोर्खाहरूलाई लिएर स्थानीय डागापुरस्थित सेभिन किङ्गडममा सम्पन्न सभालाई सम्बोधन गर्दै विष्टले भने, ‘‘हामीले बङ्गाललाई कुनै भिख मागेका होइनौं। संविधानले दिएको हक माग्दा हामीमाथि बङ्गालले घोर अन्याय-अत्याचार गऱ्यो। यसैले केवल दार्जीलिङ पहाड़का मात्र होइन, तर सम्पूर्ण भारतका गोर्खाहरू एक हुनुपर्छ। यसरी नै छरपस्ट भएर बसिरह्यौं भने हामीलाई जोसुकैले हेपिरहन्छ।’’

अहिले पनि पहाड़का लगभग पाँच हजारजना गोर्खा दाजु-भाइ बङ्गालको अन्याय-अत्याचारको कारण जङ्गलमा बस्न बाध्य भएकोले उनीहरूको न्याय दिलाएर आ-आफ्नो घर फर्काउने कुरालाई पहिलो प्राथमिकता दिने भाजपा उम्मेद्वारले बताए।

विष्टले भने, ‘‘हामी सबैलाई थाह छ, सम्पूर्ण बङ्गालमा नै गणतन्त्र सङ्कटमा छ। पहाड़मा झन् गणतन्त्र धेरै सङ्कटमा छ। प्रत्येक दिन दार्जीलिङ पहाड़मा बङ्गालको अन्याय-अत्याचार बढ़्दैछ।’’

उनले पहाड़का अन्य राजनीतिक दलका नेतृत्वहरूलाई पनि बङ्गालको अन्याय-अत्याचारविरुद्ध एकबद्ध हुने आह्वान गरे। ‘‘तपाईंहरू गोर्खा दाजु-भाइहरूको साथमा हुनुहुन्छ कि ममता दिदीसँग? दुवैतिर तपाईंहरू बस्न सक्नु हुँदैन’’, विष्टले थपे, ‘‘ती राजनीतिक दलहरू पहाड़को र गोर्खा दाजु-भाइहरूको साथमा छन् भने फेरि किन ममता दिदीसँग उनीहरू? यो कुराको उत्तर स्पष्टसँग ती दलहरूले दिनुपर्छ।’’

डर-धम्की र पैसाले पहाड़का मानिसहरूलाई जतिसक्दो आफ्नो पक्षमा पार्ने कोशिश गरे तापनि यसपालि पनि पहाड़का जनताले भाजपालाई नै भोट हाल्ने उम्मेद्वार विष्टले दाबी गरे। जनताले भाजपालाई कति रूचाउँछन् भन्ने कुरा पछिल्लो पाँच दिनभित्रै छर्लङ्ग बुझेको उनले बताए।

यी भाजपा उम्मेद्वारले जनतालाई नडराइकन निसङ्कोच भोट हाल्ने अपील गरे। र जनताले नडराइकन र निसङ्कोच भएर भोट दिनेछन् भन्ने कुनामा आशावादी रहेको बताए।

उनले भने, ‘‘तपाईंहरूलाई जुन उम्मेद्वार राम्रो र सही लाग्छ, उसलाई नडराइ, निसङ्कोच भएर भोट दिनुहोस्। म यो भन्दिनँ, मलाई नै भोट दिनुहोस्। मभन्दा पनि राम्रो व्यक्ति कोही छन् भने उसलाई तपाईंहरूले भोट दिनसक्नु हुनेछ, तर यस्तो व्यक्तिले जितुन्, जुन व्यक्ति सांसद भएपछि तपाईंहरूको सुख दुःख बुझिदिउन्।’’

भाजपा उम्मेद्वारले थप भने, ‘‘हामीलाई विभिन्न जातिमा बाँड़िदियो। हामीलाई छुट्टा छुट्टै समुदायमा बाँड़िदियो।’’

उनले आन्दोलन नै नगरी गोर्खाहरूको दीर्घलम्बित संवैधानिक मागको स्थायी समाधानका लागि इमानदारितापूर्वक पहल गर्ने दाबी गरे।

म तपाईंहरूलाई वचन दिन्छु, मेरो कारण तपाईंहरूको शिर झुक्नेछैन, भाजपा उम्मेद्वार राजु विष्टले भने। उनले पहाड़मा त्रिस्तरीय पञ्चायत चुनाउ सम्पन्न गराउन पहल गर्ने पनि बताए। साथै पहाड़मा रोजगार र औद्योगिक विकास, चियाश्रमिकहरूको न्यूनतम रोज वृद्धि, वनाधिकार अधिनियम-२००६ –को लागू आदिबारे पहल गरी समाधान गर्ने ठोकुवा गरे।

‘‘यी सबै कुराको समाधान हुनेछ। किनभने यसपालिको चुनाउमा ममता ब्यानर्जीले गोर्खा र भाजपाको ताकत देख्नेछिन्। यदि गोर्खाका लागि कुनै पार्टीले केही गर्छ भने, त्यो पार्टी भाजपा हो। अस्तिमात्र भाजपा अध्यक्ष अमित शाहले गोर्खाका लागि भाजपा चट्टानजस्तो खड़ा हुने र जे पनि हुनसक्छ, त्यो गर्ने बताएका थिए’’, उनले थपे, ‘‘यो कुरा नै प्रधानमन्त्रीले पनि बारम्बार भनिरहेका छन्। तपाईंहरूले भरोसा गर्नुहोस्, गोर्खाहरूका लागि यदि कसैले केही गर्छ भने, त्यो भाजपा मात्र हो।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here