सिलगढ़ी, ३१ मईः सिलगढ़ी महकुमा क्षेत्रमा थप दुईजना कोरोना सङ्क्रमित पाइएको छ।
उत्तर बङ्गाल मेडिकल कलेज एवं अस्पताल सूत्रका अनुसार कोरोना सङ्क्रमित पाइएकामध्ये एकजना नक्सलबारी तथा अर्का फाँसीदेवा क्षेत्रका बासिन्दा हुन्।
उनीहरू दुवैलाई कोरोना भाइरसका लक्षण देखिएपछि केही दिनअघि सिभियर एक्युट रेस्पिरेटरी इलनेस (सारी) अस्पतालको रूपमा रूपान्तर गरिएको दिसन अस्पतालमा भर्ना गरिएको थियो।
त्यसपछि दुवैको स्वाबको नमूना सङ्ग्रह गरी उत्तर बङ्गाल मेडिकल कलेज एवं अस्पतालको भाइरल रिसर्च एन्ड डायग्नोस्टिक ल्याबरोटरी (भीआरडीएल)-मा पठाइएको थियो भने हिजो राति दुवैको रिपोर्ट पोजिटिभ आएको बताइएको छ।
पोजिटिभ पाइएका दुवैका उमेर १७-२० वर्षबीच रहेको बताइएको छ।
सम्भवतः उनीहरूलाई केही समयपछि मतिगढ़ाको हिमाचल विहारस्थित कोभिड अस्पताल डा. च्याङ सुपर स्पेशअलिटी अस्पतालमा उपचारका लागि लगिनेछ।
उल्लेखनीय छ, पछिल्लो १८ मईयता सिलगढ़ी महकुमा क्षेत्रमा लगातार कोरोना सङ्क्रमित मानिसहरूका सङ्ख्या बढ़िरहेको छ।
अर्कोतिर, कोचबिहारमा ३७ र अलिपुरद्वारमा ५ नयाँ मामिला प्रकाशमा आएको छ।