अनितलाई बिष्टको जवाफ- हामी जनहितमा धेरै कार्य गर्न सक्नेछौं

0
996
राजु बिष्ट (फाइल फोटो)।

दार्जीलिङ, ३१ मईः सांसद राजु बिष्टले जीटीए बीओएका अध्यक्ष अनित थापालाई उत्तर दिँदै मिलेर धेरै जनहितका कार्य गर्नसक्ने बताएका छन्।

वास्तवमा उत्तर बङ्गाल विशेषगरी दार्जीलिङ, कालेबुङ र सिलगढ़ी जिल्ला अस्पतालमा कोरोना जाँचका लागि प्रयोगशाला स्थापना गर्नुपर्ने अनुरोध गर्दै सांसद बिष्टले शुक्रवार प्रधानमन्त्रीलाई  पत्राचार गरेका थिए।

उनले प्रधानमन्त्रालाई गरेको यसै पत्राचारलाई लिएर प्रतिक्रिया व्यक्त गर्दै जीटीए बीओएका अध्यक्ष थापाले अहिलेसम्म सांसदले २८० वटा पत्र केन्द्र सरकारका विभिन्न मन्त्रीलाई लेखिसकेको र सांसदले प्रधानमन्त्रीलाई लेखेको पत्रले यसपटक काम गर्ने कुरामा आफू आशावादी रहेको भन्दै व्यङ्ग्य कसेका थिए।

थापाको यसै व्यङ्ग्यको जबाफ फर्काउँदै बिष्टले आज एक प्रेस विज्ञप्ति जारी गरेका छन्।

विज्ञप्तिमा उनले लेखेका छन्, ‘एक सांसदको हैसियतमा म दिनहुँ धेरै व्यक्तिलाई पत्राचार गर्दछु। धेरै पत्रमा मन्त्रालयले गम्भीरता देखाएको छ। विचारधारा भिन्न भए तापनि पहाड़ले जनताको हितमा सहयोगको हात बढ़ाए हामीले जनहितमा अझ धेरैवटा काम गर्न सक्नेछौं। यसमा कुनै सन्देह छैन। पहाड़को राजनीतिमा आजको अवश्यकता भनेको इमानदारी हो।’

बिष्टका दाबीका अनुसार उनले अहिलेसम्म २८७ वटा होइन तर पहाड़, तराई र डुवर्सका उन्नति र विकासलगायत राजनीतिक माग सम्बन्धमा यसभन्दा धेरै पत्रहरू लेखिसकेका छन्।

उनले थप भनेका छन्, ‘म आज अनित थापाले हार्दिकता साथ जारी गर्नु भएको प्रेस विज्ञप्तिका लागि धन्यवादी छु। आवश्यक सुविधाले वञ्चित रहेको हाम्रो क्षेत्रमा अधिक कोभिड परीक्षण सुविधाका लागि पत्राचार गर्नुलाई महत्त्वपूर्ण कार्यको रूपमा उनले स्वीकार्नु भनेको मेरा पत्रहरूले आधारभूत आवश्यकतालाई बोकेको छ भन्ने उनको स्वीकृति हो भन्ने मैले ठानेको छु। हाम्रो क्षेत्र स्वास्थ्य सुविधाको अभावभित्र उभिएको छ। पश्चिम बङ्गाल सरकारको स्वास्थ्य प्रणाली उपयुक्त स्थितिमा छैन।’

अर्कोतिर बिष्टका अनुसार भाइरल रिसर्च एन्ड  डायग्नोस्टिक ल्याबरोटरी (भीआरडीएल) स्थापना रातोरात गर्न सकिँदैन। यसका लागि मानव संसाधन (योग्य भाइरोलोजिस्ट/माइक्रोबायोलजिस्ट, टेक्निसियन) तथा भौतिक पूर्वाधारको आवश्यकता पर्छ।

बङ्गाल सरकारले यी कुराहरू उपलब्ध गराउनुपर्ने तर आजका दिनसम्म उपलब्ध नगराएको बिष्टको दाबी छ।

‘दार्जीलिङ र कालेबुङ जिल्लामा पश्चिम बङ्गाल सरकाराको निरन्तर उदासीन नीतिका कारण पर्याप्त डाक्टर र नर्सहरू वा स्वास्थ्य पूर्वाधारको थालनी छैन। यही अवस्था तराई र डुवर्स क्षेत्रको छ। उत्तर बङ्गालमा स्वास्थ्य सुविधाहरू असामान्य छन्’, उनले विज्ञप्तिमा भनेका छन्, ‘अनित थापाको मुख्यमन्त्री ममता ब्यानर्जीसँग सहज सम्बन्ध भएकाले तपाईंले आवश्यक मानव संसाधन र पूर्वाधारका लागि तपाईंले राज्य सरकारबाट पहल गरिदिनु भए, सांसदको रूपमा म तपाईंलाई विश्वास दिलाउँछु, केन्द्रबाट गर्नसक्ने सबै मान्यता र सहयोगको स्वीकृति लिने काम चाँड़ै गर्नेछु।’

उनले थप भनेका छन्, ‘जीटीए बीओएका अध्यक्षको विज्ञप्तिले पश्चिम बङ्गालको स्वास्थ्य विभागले उत्तर बङ्गालमा कोभिड परीक्षण सुविधासम्बन्धी मुद्दालाई सम्बोधन गर्न असफल भएको कुरालाई मान्यता दिँदै पहाड़का विभिन्न स्थानमा थप कोभिड परीक्षण प्रयोगशालाहरू स्थापना गर्न र टिस्टा-रङ्गीतको दोभान त्रिवेणीस्थित जीटीए अधीनस्थ तीनतले भवनलाई कोभिड अस्पताल बनाउन  अनुरोध गरी विज्ञप्ति लेखेको कुराले पहाड़को राजनीतिमा एक जनपक्षीय एकात्मक पहल देखापरेको छ।’

सांसद राजु बिष्टले सङ्कटको समयमा राजनीति गर्नु गलत रहेको भन्दै अनित थापाले पनि सङ्कटको समयमा राम्रै गर्न चाहेको बताएका छन्।

‘उनले (अनित थापाले) एनजेपी र बाघडुग्रा आइपुगेका हाम्रा मानिसहरूलाई आवश्यक मेडिकल सुविधासहित घर फर्किनुमा निरन्तर सहयोग पुऱ्याएमा यो मानवताप्रतिको सद्भावनामूलक कार्य हुनेछ’, राजु बिष्टले भनेका छन्, ‘चुनावी राजनीति आफ्नै स्थानमा हुन्छ। तर हाम्रा मानिसहरू महामारीका कारणले असुविधामा परेको घटना राजनीति गर्ने विषयमा होइन। म पहाड़, तराई र डुवर्सका जनताको पक्षमा रातदिन एक गरी खटिरहेको छु। भविष्यमा पनि यसलाई निरन्तरता दिन प्रतिबद्ध छु।’

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here