एकवर्षे शिशु र ल्याब टेक्निसियन कोरोना सङ्क्रमित, सिलगढ़ीमा एकैदिन ६ नयाँ मामिला

0
1239

सिलगढ़ी, ३१ मईः सिलगढ़ीमा पुनः दुइजना कोरोना सङ्क्रमित पाइएको छ, जसमध्ये एकजना एकवर्षे शिशु र अर्का ल्याब टेक्निसियन हुन्। दार्जीलिङका जिल्लापाल एस. पन्नमबालमले यसबारे पुष्टि गरेका छन्।

ती शिशु सिलगढ़ी नगरनिगमको वार्ड नम्बर ३४ निवासी हुन्। जानकारीका अनुसार केहीअघि यस वार्डकी एक महिला स्वास्थ्योपाचार गरी चेन्नईबाट फर्किसकेकी थिइन्।

सिलगढ़ी फर्केपछि ती महिला कोरोना सङ्क्रमित रहेको पुष्टि भएको थियो। ती महिलासँगै यसै वार्डका एक परिवार पनि चेन्नईबाट सिलगढ़ी फर्केका थिए।

ती परिवारको पनि स्वाबको नमूना सङ्ग्रह गरी टेस्टका लागि उत्तर बङ्गाल मेडिकल कलेज एवं अस्पतालको भाइरल रिसर्च एण्ड डायग्नोस्टिक ल्याबरोटरी (भीआरडीएल) -मा पठाइएको थियो भने आज ती परिवारका एकवर्षे शिशु कोरोना टेस्ट पोजिटिभ आएको हो।

जानकारीका अनुसार ती शिशुलाई उपचारका लागि मतिगढ़ाको हिमाचल विहारस्थित कोभिड अस्पताल डा. च्याङ सुपर स्पेशिअलिटी अस्पतालमा लगिएको छ।

यसैगरी जिल्लापाल पन्नमबालमका अनुसार एक ल्याब टेक्निसियन पनि कोरोना सङ्क्रमित पाइएको छ। कोरोना सङ्क्रमित पाइएका ती ल्याब टेक्निसियन सिलगढ़ी नगरनिगम (जलपाइगढ़ी जिल्ला)  निवासी बताइएको छ।

यसभन्दा अघि कदमतलाका बीएसएफका एक अधिकारी, बाघडुग्रास्थित ज्योतिनगरनिवासी २४ वर्षीय गर्भवती महिला, फाँसीदेवानिवासी २० वर्षीय युवक र नक्सलबारीनिवासी १६ वर्षीय युवक पनि कोरोना सङ्क्रमित पाइएको थियो।

यसैले आज एकैदिन सिलगढ़ी महकुमा क्षेत्रमा ६ जना कोरोना सङ्क्रमित पाइएको छ।

उल्लेखनीय छ, उत्तर बङ्गाल मेडिकल कलेज एवं अस्पतालको आइसोलेशन वार्डमा उपचाराधीन रहेकी गर्भवती महिलालाई छोड़ेर अन्य पाँचैजनालाई डा. च्याङ सुपर स्पेशअलिटी अस्पतालमा भर्ना गरिएको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here