दार्जीलिङ बजार चरणबद्ध तरिकाले खुल्ला रहने

0
1122

दार्जीलिङ, ३१ मईः अब दार्जीलिङ शहर चरणबद्ध तरिकाले खोलिने भयो। तर, आइतबार आवश्यक सामानहरूका पसलहरूबाहेक सम्पूर्ण पसल पूर्णरूपले बन्द नै रहनेछ।

यसका साथै दोकान खोल्दा पसले र ग्राहकहरूले सामाजिक दूरीलाई ध्यानमा राख्नुपर्ने र बजारमा अत्यधिक भीड़ बनाउन नपाउने शर्त पनि राखिएको छ।

यसबारे दार्जीलिङ च्याम्बर अव् कमर्सका उपाध्यक्ष विमल मिन्त्रीले जानकारी गराएका छन्।

‘‘जीटीएका अध्यक्ष अनित थापाको अनुरोधपछि अत्यावश्यक सामानहरूका पसल छोड़ेर सम्पूर्ण पसललाई बन्द नै राखिएको छ, तर यसबाट स्थानीय जनता साथै दोकानदारहरूले पनि धेरै समस्या भोग्न परिरहेका छन्’’, उनले थपे, ‘‘यी विभिन्न विषयलाई ध्यानमा राखेर नै च्याम्बर अव् कमर्स दार्जीलिङले भोलिदेखि नै दार्जीलिङ शहरलाई आधा-आधा गरी खोल्ने निर्णय लिएको छ।‘’

उनले बताएअनुसार च्याम्बर अव् कमर्सले लिएको निर्णयका अनुसार हार्डवेयर, काठपातको दोकान, मोबाइल, इलेक्ट्रोनिक्स, मोटर पार्टस्, भाँड़ा दोकान सातामा मङ्गलबार, बिहीबार र शनिबार गरी तीनदिन बिहान ८ बजेदेखि अपराह्न ३ बजेसम्म खुल्ला रहनेछ।

त्यसैगरी लुगा, स्वेटर, जुत्ता, ज्वेलरी, किताब, पान दोकान, पार्लर, सेलुन र कस्मेटिक्स, क्युरियो, चियापत्ती साथै स्टुडियोहरूलाई सोमबार, बुधबार र शुक्रवार खोलिने निर्णय गरिएको मिन्त्रीले बताए।

उनका अनुसार यी दोकानहरू खुल्ला राख्ने समय बिहान ८ बजे र अपराह्न ३ बजे नै रहेको छ।

अर्कोतिर टेलरका दोकानहरूलाई लुगा दोकान खुल्ला राखिएको दिन नै खोल्ने अनुमति प्रदान गरिएको उनले जानकारी गराए।

“कतिपय पसले च्याम्बर अव् कमर्सका सदस्यहरू छैनन्, यसैले यी पसलेहरूले आ-आफ्ना सुविधाअनुसार उपर्युक्त दोकानहरू खोलिएको समय मिलाएर खोले उचित हुनेछ’’, विमल मिस्त्रीले थपे, ‘‘यसका लागि उनीहरूले नै सर-सल्लाह गरी निर्णय लिनुपर्छ।‘’

यसका साथै उनले पसलहरू खोल्दा पसलअघि डोरी टाँग्ने पनि पसलेहरूलाई निर्देश दिएका छन्, ताकि ग्राहकहरू कुनै पनि दोकानभित्रै प्रवेश गर्न नसकुन्।

यति मात्रै होइन, पसलेहरूले प्रत्येक ग्राहकले मास्क लगाएका छन्/ छैनन् त्यसबारे पनि विशेष ध्यान दिनपर्ने उनले जनाएका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here