विष्टलाई अनितको प्रश्न, दार्जीलिङको स्थायी राजनीतिक समाधान के हो?

1
1220
अनित थापा (फाइल फोटो)।

दार्जीलिङ, 31 जुलाई :  सांसद राजु विष्टले सोमबार संसदमा दार्जीलिङ पहाड़, तराई डुवर्सको समस्याको स्थायी राजनीतिक समाधानको मुद्दा उठान गरेपछि विनय तामाङपन्थी गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो)-का महासचिव अनित थापाले सांसद विष्टले भनेको स्थायी राजनीतिक समाधान के हो भन्ने प्रश्न गरेका छन्।

थापाले एक प्रेस विज्ञप्ति जारी गरी यस्तो प्रश्न गरेका हुन्। उनले विज्ञप्तिमा दाबी गरेअनुसार अहिलेघरी दार्जीलिङ, तराई-डुवर्सलाई लिएर जुन स्थायी राजनीतिक समाधानको कुरा चलिरहेको छ, त्यसबारे आम जनता अनभिज्ञ छन्।

‘दार्जीलिङका वर्तमान सांसद राजु विष्टले पनि संसदमा यी कुरा उठाए, जसलाई लिएर पहाड़का केही राजनीतिक दलहरूले हर्ष मनाए। अनि सांसद विष्टलाई धन्यवाद पनि दिए। तर, यो स्थायी राजनीतिक समाधान के हो त? पहाड़, तराई अनि डुवर्सका सर्वसाधारण जनतालाई थाह छ?’, थापाले प्रश्न गर्दै भनेका छन्, ‘कतै यो स्थायी राजनीतिक समाधान पहाड़का कथित केही राजनीति दलहरूको त होइन?’ उनीहरू यसलाई लिएर पहाड़, तराई अनि डुवर्समा आफ्नो राजनीति पड़क बलियो बनाउन खोजिरहेका त छैनन्? अथवा सांसद राजु विष्टले पनि यहाँका सर्वसाधारण जनतालाई भ्रममा हालिरहेका छन्।’

अनितका अनुसार स्थायी राजनीतिक समाधान भनेर मात्र हुँदैन। त्यो के हो, स्पष्ट बताउन सक्नुपर्छ। ‘दार्जीलिङ पहाडलगायत तराई अनि डुवर्स राजनीतिक, सामाजिक, आर्थिक, शैक्षिक आदि क्षेत्रमा केवल आज मात्र पछाडिएको होइन। १९८६ सालको गोर्खाल्याण्ड आन्दोलनदेखि यता पटक-पटक हुने गरेका विभिन्न आन्दोलनले सर्वसाधारण मानिसहरूको सर्वस्व लुट्यो’, विनयपन्थी मोर्चा महासचिवले भनेका छन्, ‘धेरै युवालाई बेरोजगार बनाइयो। कैयौं घरविहीन भए। धेरै चेलीबेटीको सिन्दुर पुछिए। कति टुहुरा भए त कतिले आफ्ना छोरा-छोरी, पति-पत्नी गुमाए। यसको जिम्मेवार वर्तमान समयका नेतृत्वहरू पटक्कै होइनन्। जतिबेला पहाड़मा हिंसात्मक आन्दोलनको शुरूआत भयो, त्यतिबेलासम्म यहाँका जनता सोझा, इमान्दार र कर्तव्यनिष्ट थिए।’

अर्कोतिर थापाले दार्जीलिङ पहाड़, तराई-डुवर्सका शान्ति र सर्वाङ्गीन विकासका एउटै विकल्प छुट्टै राज्य गोर्खाल्यान्ड रहेको बताउँदै भाजपाले गोर्खाल्यान्डको माग पूरा गर्न सक्ला त भन्ने थप प्रश्न गरेका छन्। उनका अनुसार स्थायी राजनीतिक समाधान केवल छुट्टै राज्य गोर्खाल्यान्ड पूरा गर्नसक्छ।

यसका साथै यदि केही कथित् राजनीतिक दलले  स्थायी राजनीतिक समाधानको कुरा गरेर जनतालाई भ्रमित पारी आफ्नो राजनीतिक रोटी सेक्ने काम गरेको खण्डमा जनताले विरोध गर्नुपर्ने उनको भनाइ छ। ‘अब केवल स्थायी राजनीतिक समाधानको कुरा नगरेर यो के हो र कसरी प्राप्त गर्न सकिन्छ अनि यसको प्राप्तिपछि जनतालाई के फाइदा हुन्छ, त्यसबारे राजु विष्ट र गोरामुमोलगायत यसका पक्षधर पार्टीहरूले बताउनु पर्छ’, अनितले भनेका छन्।

यसो गरिए स्थायी राजनीतिक समाधानको कुरा गरेर फेरि पाँचवर्ष जनतालाई भाजपाले ठग्नसक्ने थापाले बताएका छन्। साथै आगामी विधानसभा चुनाउमा यसै मुद्दालाई हतियारको बनाउनसक्ने आशङ्का जताउँदै जनतालाई होशियार गराएका छन्।

1 टिप्पणी

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here