जीटीए-4 को खिचड़ी पाक्दैछ, जनता होशियार हुनुपर्छः अजय एड्वर्ड

0
1115

दार्जीलिङ, 31 जुलाईः गृह मन्त्रालयले आउँदो 7 अगस्तका दिन जीटीए सम्बन्धित विषयहरूका लागि डाकेको समीक्षा बैठकलाई लिएर गोरामुमो दार्जीलिङ ब्राञ्च कमिटीका अध्यक्ष अजय एड्वर्डले विमल गुरुङपन्थी गोजमुमोको तीखो शब्दमा आलोचना गरेका छन्।

यसका साथै उनले विमलपन्थी गोजमुमोले जीटीए-4 को खिचड़ी पकाइरहेको भन्दै जनतालाई होशियारी पनि गराएका छन्।

एड्वर्डका आरोपका अनुसार विमलपन्थी मोर्चाले पहाड़का जनतालाई 2007-देखि पटक पटक नै झुक्याउँदैछ। र फेरि झुक्याएर जीटीए-4 थाप्ने खिचड़ी पकाउँदैछ।

“जीटीए थाप्नअघि मदन तामाङले यहाँ सेटअप हुँदैछ भनेर आवाज उठाउँथे। उनको दिउँसै हत्या भइसकेपछि जीटीए थाप्यो”, उनले थपे, “जीटीएले हाम्रो जनाकांक्षा पूरा गरेन भनेर जलाएको खेस्रा हो। तर यो पालि फेरि जीटीएलाई नै थाप्ने खिचड़ी पकाउँदै रहेछ भन्ने स्पष्ट भएको छ।”

यसैबीच, उनले गृहमन्त्रालयको बैठक डाकेको सम्बन्धमा भारतीय जनता पार्टी र विमल गुरुङपन्थी गोर्खा जनमुक्ति मोर्चाले यथाशीघ्र स्पष्टीकरण दिनुपर्ने पनि बताएका छन्।

अर्कोतिर, उनले गृह मन्त्रालयले डाकेका बैठकमा दिल्ली जानेहरू सबैजना गद्दार रहेको पनि बताए।

“यस्तो गर्न हामी कदापि दिनेछैनौं। गोरामुमो पार्टी सड़कमा ओर्लिनेछ”, गोरामुमो ब्राञ्च कमिटी अध्यक्षले थपे, “हाम्रा जनता धेरै झुक्किसकेका छन्।”

यसैगरी, उनले गोरामुमो अध्यक्ष मन घिसिङले दिल्ली भ्रमणअवधि प्रदेश भाजपा अध्यक्ष दिलीप घोष र भाजपाका महासचिव एवं बङ्गाल प्रभारी कैलाश विजयवर्गीयअघि भाजपाले सङ्कल्प-पत्रमा प्रतिबद्धता जताएको स्थायी राजनीतिक समाधान नै 2021 को विधानसभा चुनाउअघि हुनुपर्छ भन्ने माग राखेको पनि दाबी गरेका छन्।

यसका साथै एड्वर्डले जनतालाई सतर्क रहने आह्वान गर्दै विमलपन्थी मोर्चाले यदि यस्तै लुकीछुपी गद्दार गर्छ भने गोर्खा एकताबाट विमलपन्थी मोर्चा निस्किनुपर्ने बताएका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here