लकडाउनअवधि सुनसान दार्जीलिङ पहाड़

0
984

दार्जीलिङ, 31 अगस्तः राज्य सराकरले आह्वान गरेको यस महिनाको अन्तिम दिनको लकडाउन आज (सोमबार) पनि दार्जीलिङ पहाड़मा पूर्ण सफलताका साथ पालन गरियो।

यसअवधि शहरमा मानिसहरूको चहल-पहल अति नै न्यून थियो भने आवश्यक सेवामा खटिएका गाड़ीहरू मात्र सड़कमा देखिएको थियो।

यसैबीच, लकडाउन उल्लङ्घन गर्नेहरूविरुद्ध पुलिसले कारबाही गरेको पनि पुलिसले बताएको छ।

विशेष गरी राज्यमा कोरोना सङ्क्रमणको बढ़्दो स्थितिलाई ध्यानमा राखेर नै समय-समयमा पूर्ण लकडाउन गर्ने गरिएको छ।

यसरी नै अब आउँदो सेप्टेम्बर महिनामा पनि केही दिन लकडाउन हुने तय भइसकेको छ।

आज लकडाउनअवधि दार्जीलिङ पुलिसले शहरका विभिन्न स्थानमा गस्ती लगाइरहेको थियो भने स्थानीय सिंहमारी फाटक र बतासेमा बिहानैदेखि नाका चेकिङ राखिएको थियो। ताकि लकडाउनअवधि बिनाकाममा कोही पनि दार्जीलिङ शहरभित्र प्रवेश नगरून् अनि लकडाउनको उल्लङ्घन नगरून्।

यसैले आज पनि दार्जीलिङका सरकारी, गैर-सरकारी कार्यालयहरू, यातायात सेवा, दोकान-पाट आदि पूर्णरूपले ठप्प बनेका थिए भने दबाई दोकान, अग्निशमन, पानी, दूध, विद्युत् विभागका गाड़ीहरूको चलाचल भने यथावत राखिएको थियो।

हाल दार्जीलिङ पहाड़ी क्षेत्रमा पनि कोरोना सङ्क्रमितहरूको सङ्ख्या दिन-प्रतिदिन बढ़्दै गइरहेको छ।

दार्जीलिङ, खरसाङ, कालेबुङ, मिरिक नगरपालिका क्षेत्रसँगै विभिन्न चियाबगान, बस्ती क्षेत्रबाट पनि दैनिकरूपमा नै कोरोना सङ्क्रमितहरू भेट्ने क्रम चलिरहेको छ।

यसैकारण हाल लकडाउनअवधि दार्जीलिङका अधिकांश मानिस आफ्नो घरमा बस्ने गरेको लकडाउनको सफलताबाटै स्पष्ट हुने गरेको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here