गान्तोक, 31 अक्टोबर : दिल्लीमा कालेबुङकी महिलाको हत्या गरेको आरोपमा नेपालका राम प्रसाद शर्मा (38) –लाई दिल्ली पुलिसले पक्राउ गरेको छ। आरोपी शर्मालाई मङ्गलवार दिल्ली पुलिसले नेपालको वीरगञ्जबाट पक्राउ गरेको बताइएको छ। कालेबुङकी महिला लक्ष्मी छेत्री (32)-को हत्यापछि आरोपी शर्मा भागेका थिए। हिजै मेहराउली पुलिसले आरोपी अदालतमा उभ्याएको थियो। पुलिसले तीन दिनको न्यायिक हिरासतमा राख्ने अनुरोध गरेको तर अदालतले आरोपी शर्मालाई केवल एकदिनको न्यायिकत हिरासतमा राख्ने आदेश दिएको पुलिस सूत्रले बताएको छ।
मेहराउली पुलिसका अनुसार हत्यारोपी शर्मा नेपालको कैलाली जिल्ला निवासी हुन्। शर्माले हत्याको अपराधलाई स्वीकार गरेको पुलिसले बताएको छ।
पक्रा परेका हत्यारोपी रामप्रसाद शर्मा। |
अर्कोतिर हत्या भएकी लक्ष्मीका नजिकका सूत्रअनुसार रामप्रसाद शर्माले लक्ष्मीलाई दुईवर्ष अघि विवाह गरेका थिए। यो कुरालाई आरोपीले स्वीकारेका छन्। मन्दिरमा विवाह गरेको आरोपीले बताएको पनि सूत्रले जनाएको छ। यद्यपि विवाह गरेदेखि नै लक्ष्मीसँग पैसा माग्दै आरोपी रामप्रसादले झगड़ा गर्थे। पुलिसका अनुसार पैसाकै मामिला रामप्रसादले लक्ष्मीको हत्या गरेको हो। पुलिसले हत्याबारे थप जानकारी बटुल्नका लागि आरोपीसँग गहन केरकार गरिरहेको छ।
उल्लेखनीय छ, कालेबुङ जिल्लाको 15 माइलस्थित दलपचन्द बस्ती 32 वर्षीया लक्ष्मी छेत्रीलाई 1 देशु रोडस्थित उनको कोठामा मृत अवस्थामा पछिल्लो 25 अक्टोबरको दिन पाइएको थियो। पछि पोस्टमर्टममा लक्ष्मीको हत्या भएको खुलासा भएको थियो।
यसैबीच नर्थइष्ट सेलकी दार्जीलिङ प्रतिनिधि एवं समाजसेवी रेबिका राई र उनको टीमले लक्ष्मीको हत्यारालाई चाँड़ोभन्दा चाँड़ो पक्राउ गरी कठोर सजाय दिनुपर्ने माग गर्दै हत्याकै भोलिपल्ट दिल्ली पुलिसका उच्चाधिकारी भेट गरेका थिए। प्राप्त जानकारीअनुसार आर्थिक अवस्था कमजोर रहेको कारण काम गर्न केही वर्ष अघि लक्ष्मी दिल्ली गएकी थिइन्, त्यही लक्ष्मीको भेट रामप्रसाद शर्मासँग भएको बताइएको छ।