सिक्किममा पक्राउ परेकी युट्युबर उमा चाम्लिङ राईलाई फर्काइयो नेपाल

0
700

गान्तोक, ३१ दिसम्बरः सिक्किमको शान्ति शृङ्खला, एकता र सद्भावना बिथोल्ने प्रयास गरेको आरोपमा पक्राउ परेकी युट्युबर उमा चाम्लिङ राईलाई नेपाल पुऱ्याइएको छ।

सिक्किम पुलिसको सुरक्षामा नै उमा चाम्लिङ राईलाई नेपाल पुऱ्याएर त्यहाँका अधिकारीहरूलाई सुम्पिएको गान्तोक सदर थानाका एसएचओ नीरज खतिवडाले जानकारी गराएका छन्।

उनका अनुसार युट्युबर उमा चाम्लिङ राईविरुद्ध धेरै धम्की आइरहेकाले पुलिसले उनलाई आज सुरक्षित नेपाल पुऱ्याइएको हो।

यद्यपि पुलिसले उमाका स्थानीय अभिभावक र उकिललाई समेत यसबारे जानकारी नगराएको आरोप उठेको छ।

केही दिनअघि सिक्किम घुम्न आएकी युट्युबर चाम्लिङ नेपालको खोटाङ जिल्लानिवासी हुन्।

उनलाई हिजो सिक्किम पुलिसले पक्राउ गरेको थियो। युट्युबर उमा चाम्लिङ राईलाई पक्राउ गरेपछि सिक्किम सरकार र पुलिसको चौतर्फी आलोचना सुरु भएको थियो।

उल्लेखनीय छ, युट्युबर उमा चाम्लिङ राईले केही दिनअघि राई समुदायको महान् पर्व साकेवामाथि एक भिडियो बनाएकी थिइन्।

विशेष गरी पश्चिम सिक्किमको लेगशिपमा मनाइने साकेवा पर्वमा उपस्थितिका लागि उमा चाम्लिङ राईले सबैसँग अपील गर्दै एक भिडियो सोशल मिडियामा हालेकी थिइन्।

उक्त भिडियोमार्फत उनले राज्यको शान्ति शृङ्खला, एकता, सद्भावना बिथोल्ने प्रयास गरेको आरोप छ।

जानकारीका अनुसार  युट्युबर चाम्लिङलाई नेपाल फर्काइए तापनि उनीविरुद्धका आरोप भने अनुसन्धानमा नै छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here